सुर्खेत । सुर्खेत पश्चिमका नागरिकहरुले करिव ४२ दिनसम्म सार्वजनिक गाडीहरु गुटुमा देख्न पाएनन् । गन्तव्य पुग्नकै लागि ट्याक्टर, ट्रक, बोलेर जीप लगायतका यातायातमा हारगुहार माग्थे । यात्रुहरुले भने जत्तिकै भाडा दिन्छु विद्यापुरसम्म लगिदिनुहोस भन्दा पनि यातायात सेवाबाट बञ्चित थिए चौकुनेका नागरिकहरु । गाडीहरु नपाएपछि उनीहरुको गन्तव्य पुग्ने अन्तिम विकल्प नै पैदल यात्रा थियो ।
हिड्नेहरु लगामबाट विहान चार बजे बाटो लागे भने १२ बजेसम्म विद्यापुरसम्म पुगेर वीरेन्द्रनगरको गाडी पाउथे । वृद्धवृद्धा, अशक्त, विरामीहरु दिन खर्चिएर मुश्किलले विद्यापुर पुग्थे र भोलिपल्ट मात्रै विद्यापुरदेखि वीरेन्द्रनगर आउनु पर्ने बाध्यता थियो ।

गुटुदेखि अगाडी मायाताल, विजौरा, वेतान र लगामसम्म गाडी नलगेपनि चौकुनेको केन्द्र गुटु बजारसम्म सार्वजनिक यातायातका साधन ल्याइदिन अध्यक्ष खड्क विक ‘बासपाने’, उपाध्यक्ष नरबहादुर बान्तोलासहित गाउँपालिकाकाे टिमले आग्रह गरेको थियो ।

संयुक्त यातायातले नमानेपछि टिप्परमै चौकुनेका नागरिक वीरेन्द्रनगर ल्याएपछि मोहल नै एकाएक परिवर्तन भयो । अघिल्लो शनिवार (साउन २० गते) दुई टिप्पर नागरिक वीरेन्द्रनगर आएपछि स्थानीय प्रशासन र यातायात व्यवसायीहरु ब्याक भए । अन्तत यहीँ साउन २१ गतेबाट गुटुका लागि सार्वजनिक सवारी छुटाउन थालिएकाे हाे । त्यसयता नियमित रुपमा सार्वजनिक यातायात फोर्स गाडीहरु गुटुसम्म पुगिरहेका छन् ।
रमेश सापकोटाको निर्देशनमा लगाम पुगेको बसको कथा
सुर्खेतमा रहेको १० ओटा यातायात प्रा.लि.मध्य नौं वटा एकातिर भएर सुर्खेत काँक्रेविहारलाई एक्लाइयो । काठमाडौं रुटमा चल्ने फरक प्रा.लि.को गाडीले सुर्खेत काँक्रेविहारबाट क्यू लिएपछि नौं वटा प्रा.लि. एक भए ।
तर अध्यक्ष रमेश सापकोटाले हिम्मत हारेनन् सुर्खेत पश्चिमका नागरिकहरुले सास्ती पाइरहेको जानकारी पाएपछि वीरेन्द्रनगर–चेपाङ जाने बसलाई लगाम जान निर्देशन दिए । मालिका दर्शन लेखिएको ग २ ख ७१२५ नम्बरको बस अन्तत लगाम पुगेरै छाड्यो । लगामसम्म गाडी नपुगेको करिव तीन महिनापछि बस पुगेपछि स्थानीयमा खुसी छायो ।
पालिकाको केन्द्र गुटसम्म होस वा वीरेन्द्रनगर आउन जान सहज त्यहीँ बसले बनाइदियो । ‘सुर्खेत संयुक्त यातायात सेवामा केही विवाद थियो, आफु एक्लिएपछि सुर्खेत पश्चिमका नागरिकहरुलाई सेवा दिनुपर्छ भनेर बस लगाम पठाइएको हो,’ अध्यक्ष सापकोटाले भने, ‘अहिले बसले लगाम–गुटु–लगाम सडकमा नागरिकहरुलाई सेवा दिइरहेको छ ।’
सुर्खेत काँक्रेविहार पुनः संयुक्तमा गाभिएपनि त्यो बसलाई त्यहीँ रुटमा वर्षातको समयसम्म नागरिकहरुलाई सेवा दिने संयुक्त यातायातविच सहमति भएको सापकोटा बताउँछन् । ‘गाडीमा फोरवील छ, त्यति ठूलो पनि छैन्, अफ रोडका लागि राम्रो मानिएकाले गाडी साहु पनि अहिलेलाई यहीँ रुटमा चलाउछु भन्नुभएको छ,’ सापकोटाले थपे, ‘फोर्स गाडीहरु गुटुभन्दा अगाडी जान सक्ने अवस्था नरहेकाले यहीँ बसले दैनिक दुई टिप ओहोरदोहोर गरिरहेको छ ।’

मौसम सफा रहेका समयमा वीरेन्द्रनगरबाट गुटु वा त्योभन्दा अगाडीसम्म गाडीहरुलाई पुग्न संयुक्त यातायातले सवारी चालकलाई भनेको छ । यद्यपी मदन भण्डारी राजमार्गको विद्यापुर–गुटु–विजौरा–बल्दे खण्डको काम भइरहेकाले वर्षातमा ठूलो पानी परेर थप समस्या देखिने भएकाले मायातालसम्म पुगेर फर्कने गरेका छन् । विहान वीरेन्द्रनगरबाट छुटेका फोर्स गाडीहरु मौसम सफा भएको दिन मायाताल पुग्ने र सोही दिन गुटु आएर बस्ने गरेको छन् ।
बोलेरोको लुटधन्दा बन्द
विद्यापुरसम्म पुगेका सार्वजनिक सवारीहरु त्यसभन्दा अगाडी नपुगेपछि स्थानीय बोलेर गाडीहरुले महंगोमा यात्रुहरुलाई बोक्ने गरेका थिए । विद्यापुरदेखि लगामसम्म नागरिकहरुबाट उनीहरुले प्रति व्यक्ति एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म लिने गरेको स्वंयम चौकुने गाउँपालिका अध्यक्ष खड्क विक ‘बासपाने’ बताउँछन् ।
महंगोमा नागरिकहरुले जोखिमको यात्रा गरेपछि संयुक्त यातायात विरुद्ध विद्रोह गरेका अध्यक्ष विकले अहिले सार्वजनिक सवारीहरु गुटुसम्म पुग्दा धेरै राहत भएको बताए । ‘गुटुबाट लगामसम्म पुगेकै नागरिकहरुले एकहजारभन्दा बढी भाडा तिर्नुपथ्र्यो,’ अध्यक्ष विकले भने, ‘बस नियमित रुपमा लगाम जान थालेपछि प्रतिव्यक्ति पाँच सय भाडादर कायमहुँदा धेरै सहज भएको छ ।’ यता सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष सापकाेटाले ताेकिएकाे भाडाभन्दा बढी लिएकाे पाइएमा तत्काल खवर गर्न यात्रुहरूलाइ अनुराेध गरेका छन् ।
बस चालकले सडकमा पहिरो वा रुख ढलेर अवरुद्ध नभएको खण्डमा लगाम–गुटु–लगाम यात्रामा कुनै कठिनाई नरहेको पालिकालाई जानकारी गराएका छन् । पालिकाकाले तत्काल यो खण्डमा कुनै समस्या आएमा तत्काल पालिकाका डाेजर र टिप्पर पठाएर सडक सुचारु गर्ने प्रतिवद्धता जनाएको छ ।
‘वर्षातमा नागरिकहरुलाई सहज आवतजावतमा हामी गम्भीर छौं,’ अध्यक्ष विकले भने, ‘विद्यापुरदेखि गुटुसम्म नै कुनै कठिनाई देखिएमा मदन भण्डारी राजमार्ग बनाइराख्नु भएका निर्माण व्यवसायी र पालिकाविच पनि समन्वय भइरहेकाले तत्कालै सडक सुचारु गर्नमा तयारी अवस्थामा छौं ।’
सम्बन्धित समाचार
१. सुर्खेत पश्चिमका जनतामाथि यातायात व्यवसायीको सिण्डीकेट
२. संयुक्त यातायातका विरुद्धमा चौकुने, थाल्यो टिप्परमा यात्रु बोक्न
३. सुर्खेतका यातायात व्यवसायीको सिण्डिकेट विरूद्ध चौकुनेको विद्रोह
४. अध्यक्षले अभिव्यक्ति नसच्याए बड्डीचौरदेखि गाडी नपठाउने चेतावनी
५. तिम्रा गाडी ताला लगाएर राख म टिप्परमै यात्रु चौकुने पुर्याउछ : अध्यक्ष बासपाने
६. टिप्परमै चौकुनेका नागरिकले यात्रा गर्दा किन गुमनाम छिन ‘यातायात राज्यमन्त्री’ ?
७. अन्ततः सुर्खेतका व्यवसायीले गुटुका लागि छुटाए गाडी
८. बल्ल बोले सांसद थानी भने, ‘सहकार्य र समन्वयबाट समाधान खोजौं’
९. सुर्खेत पश्चिममा ७ दिन भित्र सवारी चल्ने गरी सडक मर्मत गर्न निर्देशन
१०. ४२ दिनसम्म सास्ती खेपेका चौकुनेका जनता हिड्ने सडक सात दिनमा बन्ला ?
११. गुटु गाडी पुगेकै दोस्रो दिन भयो बेहाल (भिडियो)
१२. फ्लोअप रिपोर्ट स् सात दिनमा क्लिन गराउने गुटु सडकको कति भयो उपलव्धी ?

सुशील खड्का । २७ श्रावण २०८०, शनिबार २१:१०