सुर्खेत पश्चिमका जनतामाथि यातायात व्यवसायीको सिण्डीकेट

विद्यापुरसम्म मात्रै पुग्छन् गाडी, यात्रुलाई गन्तव्य पुग्न पीडैपीडा

गुटु (सुर्खेत) । यातायात व्यवसायीको सिण्डिकेटका कारण सुर्खेत पश्चिम क्षेत्रका नागरिकहरुले सास्ती खेपिरहेका छन् । वीरेन्द्रनगरबाट गुटु, विजौरा, वेतान, लगामसम्म गाडी नपठाउँदा त्यस क्षेत्रका नागरिकहरुले यातायात व्यवसायीको दादागिरीले पीडादायी यात्रा गर्नुपर्ने बाध्यतामा छन् ।



गुटुबाट विजाैराहुँदै लगाम जाने यात्रुहरू नीजि सवारीमा जाेखिम पूर्ण यात्रा गर्दै । तस्वीर : सुशील खड्का/नेपालकर्म

विगत ३५ दिन यता सुर्खेतस्थित यातायात व्यवसायीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकासम्म गाडी नपठाउँदा यहाँका नागरिकहरुको यात्रा पीडादायी बनेको छ । मदन भण्डारी राजमार्गको विद्यापुर–विजौरा सडक खण्ड निर्माणको क्रममा बाटो विग्रिएको कारण देखाउँदै यातायात व्यवसायीहरुले यात्रुमाथि सिण्डिकेट लादेपछि यात्रुहरुको विजोग बनेको हो ।

विद्यापुरमा रोकिएका फोर्स गाडीहरु ।

वीरेन्द्रनगरमा दैनिक नौ वटा बस र फोर्स गाडीहरु व्यवसायीले यो रुटमा चलाउँदै आएका छन् । तर पञ्चपुरी नगरपालिकाको विद्यापुरदेखि अगाडी गाडीहरु चलाउन नमानेपछि चौकुनेबाट वीरेन्द्रनगर आउने वृद्धवृृद्धा, विरामी लगायतलाई निकै हैरानी भएको छ । ‘लगामबाट हिडेरै विद्यापुर पुग्न दुई दिन लाग्यो,’ लगामकी टिका सोकाटाले भनिन्, ‘बाटो खासै नराम्रो छैन्, तर हामीले निकै सास्ती खेपिरहनु परेको छ ।’

पैदल हिँडेरै विद्यापुर जाँदै स्थानीय ।

विद्यापुरसम्म हाइसमा पुगेका नागरिकहरु पनि घण्टौं पैदलयात्रामा गन्तव्य पुग्नुपर्ने बाध्यता रहेको उनको दुःखेसो छ । बाटो राम्रो हुँदा—हुँदै गाडी अगाडि नजाँदा तीन दिन पैदल हिँडेर नागरिकहरु वीरेन्द्रनगर आउने गरेका छन् ।

विगतका वर्षहरूमा गाडी धकेलेर भएपनि चौकुनेमा पुर्याउने व्यवसायीको व्यक्तिगत स्वार्थका कारण नागरिकहरू मारमा परेको स्थानीयको आरोप छ । सुर्खेतस्थित विभिन्न यातायातहरूलाई मर्ज गरेर पछिल्लो समय संयुक्त यातायात व्यवसायी समिति बनाइएको छ ।

महिना महिनामा समितिको नेतृत्व चयन हुन्छ । सडक विग्रिएको ठाउँहरुमा निर्माण व्यवसायीले ग्राभेल गर्ने र कल्र्भट निर्माण गरिँदा पनि गाडी चलाउन यातायात व्यवसायी तयार छैन् । तर व्यवसायीहरुले कुनै पनि हालतमा विद्यापुरदेखि अगाडी गाडी नपठाउने अडानमा छन् ।

‘सडककै कारण विद्यापुरदेखि अगाडी नगएको हो,’ सवारी चालक प्रशान्त सुनार भन्छन्, ‘पालिका र सडक निर्माण व्यवसायीले ग्राभेल गरेपछि जान सकिन्छ, पानी प¥यो की हैरान हुन्छ अनि कसरी गुटु–लगाम जानु ।’

सडक विग्रीएको क्षेत्रमा चौकुनेको समन्वयमा सडक निर्माण गरिँदै ।

सुर्खेतको पश्चिम क्षेत्र बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्म, खम्बागाडेदेखि पञ्चपुरी–९ विद्यापुरसम्म र विद्यापुरदेखि चौकुने–४ बल्देसम्म तीन खण्डमा मदन भण्डारी राजमार्ग अन्तर्गत काम भइरहेको छ ।

निजी स्वार्थका कारण यातायातमा चौकुनेवासीले समस्या भोग्न परेको गुनासो चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकको छ । उनले चौकुनेमा आउने अन्य यातायातलाई समेत व्यवसायीले सिण्डिकेट लगाएको आरोप लगाए ।

विद्यापुरसम्म मात्रै गाडीहरु पुग्दा त्यसको प्रभाव बिरामी, सुत्केरी र उपभोक्तामा पर्दासमेत समाधानका लागि नियामक निकाय मौन देखिन्छ । २०४८ सालदेखि सञ्चालनमा आएको यो सडक समयमै कालोत्रपे नहुँदा पश्चिम सुर्खेतका नागरिकले वर्षेनी सास्ती भोगिरहेका छन् ।

तपाईको प्रतिक्रिया