गुटु गाडी पुगेकै दोस्रो दिन भयो बेहाल (भिडियाे)

सुर्खेत । करिव ४२ दिनपछि चौकुने गाउँपालिकाको केन्द्र गुटुसम्म गाडी पुगेको दोस्रो दिनमा सडक यात्रा थप जोखिम बनेको छ । आइतबार विहानबाटै परेको वर्षात्का कारण गुटुसम्म पुगेका सवारीहरु वीरेन्द्रनगर फर्किनै हम्मे भएपछि मदन भण्डारी राजमार्ग निर्माण जिम्मा पाएकोे डोजरले गाडीहरु तानेर पठाइएको हो ।



गुटसम्म जसरी पनि गाडी पु¥याउने सहमति गरेको सुर्खेतस्थित संयुक्त यातायात सेवाका गाडीहरु गुटु खोलाको उकालोमा हिलाम्मे सडकका कारण आवतजावतमै सकस देखिएको छ ।

शनिवार सरोकारवाला निकायले सहमति गरेपछि बाटोको तत्कालिन अवस्था बुझ्न आइतबार मध्यपश्चिम यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष एवम् नेपाली काँग्रेसका उप–सभापति विष्णु खड्कासहितको टोली गुटुसम्म पुगेको थियो ।

तर टोली गुटुभन्दा अगाडी जान नसकेर फर्किएको संयुक्त यातायात प्रा.लि.का सुर्खेत–काठमाण्डौ रुटका इन्चार्ज रमेश खड्काले नेपालकर्मलाई जानकारी दिए ।

‘वर्षातका कारण जेनतेन गाडीहरु गुटुसम्म पुगेपनि गुटु खोलाको उकोलोमा फर्किदा निकै समस्या भयो,’ खड्काले भने, ‘यातायात प्रा.लि., राजनीतिक दल र पालिकाको सिंगो टोली अनगुमगन जाँदा नै निकै सास्ती खेप्नु प¥यो ।  तर राजमार्ग निर्माण गरिरहेको निर्माण व्यसायीको स्काभेटरले गाडी तानेर वीरेन्द्रनगरतर्फ आज पास गराइएको छ ।’

गुटु गाडी पठाएको दोस्रो दिनमा बससहित करिव सात वटा गाडी गुटु पुगेका छन् । एउटा बस विजौरासम्म पुगेपनि फर्र्किन नसक्दा उतै राकिएको छ ।

‘गुटुतर्फ जाँदाभन्दा वीरेन्द्रनगर आउँदा निकै सास्ती हुने गरेको देखिएको,’ संयुक्त यातायात सेवाका सह–संयोजक सोनाम लामाले भने, ‘गुटु गएका सबै गाडीलाई वीरेन्द्रनगर पठाउनै हम्मे हम्मे भयो । राजनीतिक दलसहितको टोलीलेसमेत प्रत्यक्ष अवलोकन गरेर फर्किएको छ । तर गाउँपालिकाले गुटु खोला नजिकै निर्माण व्यवसायीसँगको समन्वयमा ग्राभेल गर्ने प्रतिवद्धता जनाएकाले गुटुसम्म गाडी जसरी पनि पठाउने छौं ।’

चौकुने गाउँपालिकाको केन्द्र गुटु, बिजौरा, वेतानहुँदै लगामसम्म यात्रुबाहक सवारी नपुग्दा ति क्षेत्रका नागरिकहरुले कति समस्या भोगेपछि गाउँपालिका अध्यक्ष खड्क विक ‘बासपाने’ले गएको शनिवार टिप्परमै यात्रुहरु वीरेन्द्रनगर ल्याएका थिए ।

टिप्परमै यात्रु वीरेन्द्रनगर ल्याएपछि सडक राम्रो भएको क्षेत्रसम्म गाडी पु¥याउन राजी भएका व्यवसायीहरुलाई आइतबार विहानदेखि परेको वर्षातले पुनः चुनौती थपिदिएको छ ।

यता, चौकुने गाउँपालिकाले गुटुसम्म गाडी पठाइदिन अनगुमनका क्रममा आग्रह गरेको छ ।

पालिकाले सडक विग्रेको क्षेत्रमा ग्राभेल गरिदिने र यातायात व्यवासयीका गाडीहरु फसेमा निकाल्ने प्रतिवद्धता जनाएपछि अब गाडीहरु गुटुसम्म पठाउने व्यवसायीहरुले बताएका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया