संयुक्त यातायातका विरुद्धमा चौकुने, थाल्यो टिप्परमा यात्रु बोक्न

वीरेन्द्रनगर । सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकाले पालिकाका नागरिकलाई गन्तव्यसम्ममा पु¥याउँनका लागि टिप्पर सेवा सञ्चालनमा ल्याएको छ। सुर्खेतको वीरेन्द्रनगरमा रहेको संयुक्त यातायात व्यवसायीले चौकुनेमा सिन्डिकेट लगाएपछि पालिकाले उक्त सेवा सञ्चालनमा ल्याएको हो।



सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले चौकुनेसम्म गाडीहरू सञ्चालन नगर्दा नागरिकले सास्ती भोगेको भन्दै चौकुने पालिकानै यातायातविरुद्ध उत्रिएको हो।

पालिकाले (साउन २०) गते शनिबारदेखि निःशुल्क यात्रा सेवाका लागि सञ्चालन गरेकाे टिप्परमा संयुक्त यातायातका ज्यादतीविरुद्धमा चौकुने नारासमेत उल्लेख गरेको छ।

बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले चौकुनेमा गाडी ल्याउनुको साटो बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिप्परमै यात्रा गराउन थालिएको गाउँपालिका अध्यक्ष खड्क विक (विवश)ले जानकारी दिए।

‘यहाँ गाडी आउन छोडेको पनि ४२ दिन भइसक्यो। बाटो पनि राम्रो छ। बिग्रेको ठाउँमा हामीले नै बनाइदिन्छु भन्दा पनि यातायातका साथीहरूले वास्ता गर्नुभएन’ अध्यक्ष विकले भने, ‘केही निजी बोलेरोहरूले मनलाग्दी भाडा लुटेका छन्। बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई सास्ती भएपछि पालिकाको टिप्परमै निःशुल्क नागरिकहरूलाई सेवा दिन थालेका हौं। अब केही समयपछि पालिकाले नै गाडी खरिद गर्नेगरी तयारीमा छौं।’

टिप्परमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उनले बताए। यातायातको व्यवस्था नभएसम्म पालिकाकै टिप्पर र तेल खर्च गरिने उनको भनाइ छ।

पालिकाले सुरुमा भे१ग १२९ र भे १ ग १३० नम्बरको टिप्परबाट यात्रुलाई सेवा दिइएको छ।

अध्यक्ष विकका अनुसार शनिबारबाट दुईवटा टिप्पर र आइतबारबाट चार वटा टिप्परबाट सेवा दिइनेछ।

यातायात व्यवसायीले पञ्चपुरी-९ विद्यापुरसम्म मात्रै सेवा दिँदा चौकुनेवासी मारमा परेका हुन्।

तपाईको प्रतिक्रिया