सुर्खेतका यातायात व्यवसायीकाे सिण्डिकेट विरूद्ध चाैकुनेकाे विद्राेह 

अब टिप्परमै लगाम-वीरेन्द्रनगर-लागाम यात्रु बाेक्न शुरू

सुर्खेत : ४२ दिनदेखि सुर्खेत पश्चिमको चौकुने गाउँपालिकाकाे केन्द्र गुटुसम्म सुर्खेतका यातायात व्यवसायीले सवारी नचलाउन विद्राेह स्वरूप टिप्परमै यात्रुहरूलाई वीरेन्द्रनगर ल्याउन थालिएको छ ।



सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले निर्णय नै गरेर चौकुनेसम्म गाडीहरू यातायात सञ्चालन नगर्दा यहाँका नागरिकले सास्ती भोग्न थालेपछि चाैकुने गाउँपालिकाले आफ्ना नागरिकहरूलाई टिप्पर लगाम-वीरेन्द्रनगर-लगाम लैजान थालेकाे हाे ।

बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिपरमै यात्रा गराउन थालिएको गाउँपालिका अध्यक्ष खड्क विक (विवश) ले बताए।

‘यहाँ गाडी आउन छोडेको पनि ४२ दिन भइसक्यो। बाटो पनि राम्रो छ। बिग्रेको ठाउँमा हामीले नै बनाइदिन्छु भन्दा पनि यातायातका साथीहरूले वास्ता गर्नुभएन,’ अध्यक्ष विकले नेपालकर्मसँगभने, ‘केही निजी बोलेरोहरूले मनलाग्दी भाडा लुटेका छन्। बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई सास्ती भएपछि पालिकाको टिपरमै निःशुल्क नागरिकहरूलाई सेवा दिन थालेका हौं। अब केही समयपछि पालिकाले नै गाडी खरिद गर्नेगरी तयारीमा छौं।’

टिपरमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उनले बताए। यातायातको व्यवस्था नभएसम्म पालिकाकै टिपर र तेल खर्च गरिने उनको भनाइ छ।

बिरामी भएको १२ दिनसम्म पनि गाडीको बाटो कुर्दा कुर्दै नआएपछि टिपरमा चढेर वीरेन्द्रनगर जान लागेको चौकुने-७ सान्नेघारीकी १०० वर्षीय बुद्धिसरा सलामीले बताइन्।

‘१२ दिनसम्म बिरामी हुँदा पनि गाडीको बाटो कुरियो। तर अझै नआए पछि आज गाउँपालिकाको टिपरमा उपचार गर्न जान लागेकोछु,’ बुद्धिसराले भनिन् ,’एम्बुलेन्स बुकिङ गर्न पनि पैसा छैन। उपचार त गर्नैपर्यो नि !’

दुई वटा टिपरमा पालिका अध्यक्ष खड्क विक र तीन वटा वडाध्यक्षसहित ६० जना यात्रु वीरेन्द्रनगरका लागि हिँडेका छन्।

चौकुनेका नागरिकले राजधानी वीरेन्द्रनगर पुग्न एक सय किलोमिटरको गाडी यात्रा गर्नुपर्दछ। पालिकाको केन्द्र गुठुबाट मात्रै वीरेन्द्रनगर ५५ किलोमिटर टाढा छ।

स्थानीय र पालिकाले बिग्रेका ठाउँमा बनाउँदा पनि सडकमै बहाना बनाएर व्यवसायी उम्किँदा नागरिकलाई सास्ती भएको गुठु बजार व्यवस्थापन समितका अध्यक्ष मानबहादुर श्रेष्ठले बताए।

भे१ग १२९ र भे १ ग १३० नम्बरको टिपरबाट यात्रुलाई सेवा दिइएको छ। संयुक्त यातायात  ज्यादतीविरुद्ध चौकुने गाउँपालिकाद्वारा निःशुल्क यात्राको ब्यानर टाँगेर पालिकाले नागरिकलाई यात्रा गराइएको छ। अध्यक्ष विकका अनुसार शनिबारबाट दुईवटा टिपर र आइतबारबाट चार वटा टिपरबाट सेवा दिइनेछ।

विद्यापुरदेखि बल्देसम्मको २२ किलोमिटरमा ठेकेदार कम्पनी मोतिदान कन्स्ट्रक्सन प्रालिले लिएको छ। प्रालिले  १६ किलोमिटर सडकखण्डमा साइड क्लिएर, ह्यूम पाइप हाल्ने काम सकेको छ।

सुर्खेतको पश्चिम क्षेत्र बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्म, खम्बागाडेदेखि पञ्चपुरी-९ विद्यापुरसम्म र विद्यापुरदेखि चौकुने-४ बल्देसम्म तीन खण्डमा मदन भण्डारी राजमार्गअन्तर्गत काम भइरहेको छ।

यातायात व्यवसायीले पञ्चपुरी-९ विद्यापुरसम्म मात्रै सेवा दिँदा चौकुनेवनसी मारमा परेका हुन्। वीरेन्द्रनगरबाट विभिन्न समयमा दैनिक १० वटा साना ठूला गाडीहरू चौकुने आउने गरेका थिए। 

तपाईको प्रतिक्रिया