अन्ततः सुर्खेतका व्यवसायीले गुटुका लागि छुटाए गाडी

सुर्खेत । चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक ‘बासपाने’ ले टिप्परमा नागरिकहरु बोक्न थालेपछि व्यवसायीहरुले गुटुका लागि गाडी छुटाएका छन् । सुर्खेत संयुक्त यातायात सेवामा आवद्ध नौ वटा प्रा.लि.हरुले आइतबार बिहानबाट गुटुका लागि फोर्स गाडीहरु पठाएका हुन् ।



सडकको समस्या देखाएर विद्यापुरबाट अगाडी गाडी पठाउन नमानेका व्यवसायीहरुले सडकको अवस्था हेरेर तत्काललाई गुटुसम्म गाडी पठाएको देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले नेपालकर्मलाई जानकारी दिए ।

उनकाअनुसार सडकको अवस्था हेरेर गुटुभन्दा अगाडीसम्म पनि गाडीहरु लैजान भनिएको छ । ‘गुटुका लागि आज दुई ओटा गाडी पठाइएको छ, त्योभन्दा अगाडी बाटोको अवस्था कस्तो छ, जानसक्ने ठाउँसम्म पुग्नु भनेका छौं,’ सचिव खड्काले भने, ‘यात्रुहरुलाई दुःख दिने हाम्रो मनसाय हैन, पानी परेपछि सडक र खोलाले सास्ती दिएपछि विद्यापुरसम्म गाडी पुग्ने गरेका थिए । सडकको अवस्था हेरेर अब नियमित गाडीहरु गुटुसम्म पुग्छन् । त्योभन्दा अगाडी बाटो कस्तो छ त्यसैको आधारमा गाडी अगाडीसम्म जानेछन् ।’

वीरेन्द्रनगरबाट सुर्खेत पश्चिमको बावियाचौर, विद्यापुर, गुटु, विजौरा, वेतान र लगामसम्म दैनिक नौ वटा गाडी छुट्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया