फ्लोअप रिपोर्ट : सात दिनमा क्लिन गराउने गुटु सडककाे कति भयो उपलव्धी ?

सुर्खेत । चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक ‘बासपाने’ ले टिप्परमै नागरिकहरु वीरेन्द्रनगर ल्याएपछि जागेको सुर्खेत प्रशासनले गत आइतबार (यहीँ साउन २१ गते) सात दिनमा सडक क्लियर गर्न निर्देशन दिएको थियो । वीरेन्द्रनगरमा भएको सहमति अनुसार सुर्खेत पश्चिमको बड्डीचौर–बावियाचौर–विद्यापुर गुटुहुँदै लगामसम्म जाने सडक २८ गतेसम्म सुधार गरिसक्नु पर्नेछ । तर यो सडकमा हाल तीन वटा निकायले काम गरिरहेका छन् ।



पहिलो खण्ड बड्डीचौरदेखि खम्बगाडेसम्म पूर्वाधार विकास निर्देशनालय, खम्बगाडेदेखि विद्यापुरसम्म सडक डिभिजन कार्यालय र विद्यापुर–गुटु–विजौरा–बल्दे खण्डमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले सडक कालोपत्रे गर्नेगरी यसअघि नै ठेक्का आह्वान गरेर काम भइरहेको छ ।

तर मुख्यगरी बड्डीचौर–खम्बगाडे र विद्यापुर–गुटु–विजौरा–बल्दे खण्डमा सडक बढी विग्रने गरेको छ । योभन्दा धेरै समस्या विद्यापुर–गुटु–विजौरा–बल्दे क्षेत्रमा छ । सडककै कारण देखाएर सुर्खेत संयुक्त यातायात सेवाले ४२ दिनसम्म विद्यापुरसम्म मात्रै गाडी छुटाउने गरेका थिए ।

चर्को आलोचना बढेपछि स्थानीय प्रशासनको अगुवाइमा भएको सहमतिअनुसार हाल गाडी लगामसम्म पुग्छन् । सडकको पछिल्लो अवस्था हेर्न सरोकारवाला निकायका व्यक्तिहरु विजौरासम्म पुगेर फर्किका छन् । तर उनीहरुको निष्कर्ष गुटुदेखि बल्देसम्मको सडकमा पानी परेपछि हिलाम्मे हुने र गाडीहरु आवतजावतमा समस्या रहेको बताएका थिए ।

यी नै तीन क्षेत्रमा तीन वटा निकायले सडक विग्रएको खण्डमा काम गरिरहेका छन् । पूर्वाधार विकास निर्देशनालयले बड्डीचौर–खम्बगाडे खण्डको आठ किलोमिटर क्षेत्रमा बिहीबारदेखि डोजर पठाएर काम गरिरहेको जानकारी दिएको छ ।

निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालकाअनुसार यो खण्डमा खासै समस्या नरहेको र कुनै क्षेत्रमा सडकमै पानी तालिएका क्षेत्रमा ग्राभेल गर्ने काम भइरहेको छ ।

‘अहिले खोलाबाट ग्राभेल निकाले राख्न सकिने अवस्था छैन्, तर सडक आसपासमा रहेको ग्राभेल निकालेर खाल्डा पुर्ने काम भइरहेको छ,’ ईन्जिनियर शर्माले भने, ‘करिव १५ देखि २० घण्टा डोजरले काम गरेमा यो खण्डमा कुनै समस्या हुनेछैन् ।’

खम्गाडेदेखि विद्यापुर खण्डमा भने तत्काल काम गर्नुपर्ने देखिएको छैन् । खम्बगाडेबाट बावियाचौरसम्म जाने सडक हाल पूर्णत बन्द गरेर सडक निर्माणको काम भइरहेको छ ।

यसअघि नै कालोपत्रे भइसकेको खम्बगाडेबाट सालकोटहुँदै सवारी साधानहरु बावियाचौर निस्केर विद्यापुरतर्फ जाने भएकाले सडक नबिग्रिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

तर मुख्यगरी सडक बिग्रिएको खण्ड विद्यापुर–गुटु–विजौरा लगाम क्षेत्रमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले सडक निर्माण कम्पनीसँग समन्वयमा काम गरिरहेको छ ।

‘गुटु खण्डमा खासै समस्या छैन्, पानी धेरै परेमा गुटु र विद्यापुर खोलामा अवरोध हुने देखिन्छ,’ निर्देशनालयका ईन्जिनियर राम सागर हरिजनले नेपालकर्मसँग भने, ‘बाँकी गुटुदेखि अगाडी सडक विग्रिएको क्षेत्रमा ग्राभेल गर्ने र गाडी कुनै ठाउँमा फसे निर्माण व्यवसायीले पूर्ण रुपमा सहयोग गरिरहेको छ ।’

नागरिकहरुलाई यातायातमा आवतजावत गर्दा कुनै समस्या नहोस् भनेर चौकुने गाउँपालिकाका दुई ओटा टिप्पर र डोजर तयारी अवस्थामा राखिएको छ । कुनै क्षेत्रमा तत्काल निर्माण व्यवसायीको स्काभेटर वा डोजर पुग्न नसकेको अवस्थामा पालिकाले आफ्ना निर्माणका सामग्री पठाउने गरेको छ ।

सम्बन्धित समाचार
१. सुर्खेत पश्चिमका जनतामाथि यातायात व्यवसायीको सिण्डीकेट
२. संयुक्त यातायातका विरुद्धमा चौकुने, थाल्यो टिप्परमा यात्रु बोक्न
३. सुर्खेतका यातायात व्यवसायीको सिण्डिकेट विरूद्ध चौकुनेको विद्रोह
४. अध्यक्षले अभिव्यक्ति नसच्याए बड्डीचौरदेखि गाडी नपठाउने चेतावनी
५. तिम्रा गाडी ताला लगाएर राख म टिप्परमै यात्रु चौकुने पुर्याउछ : अध्यक्ष बासपाने
६. टिप्परमै चौकुनेका नागरिकले यात्रा गर्दा किन गुमनाम छिन ‘यातायात राज्यमन्त्री’ ?
७. अन्ततः सुर्खेतका व्यवसायीले गुटुका लागि छुटाए गाडी
८. बल्ल बोले सांसद थानी भने, ‘सहकार्य र समन्वयबाट समाधान खोजौं’
९. सुर्खेत पश्चिममा ७ दिन भित्र सवारी चल्ने गरी सडक मर्मत गर्न निर्देशन
१०. ४२ दिनसम्म सास्ती खेपेका चौकुनेका जनता हिड्ने सडक सात दिनमा बन्ला ?
११. गुटु गाडी पुगेकै दोस्रो दिन भयो बेहाल (भिडियो)

तपाईको प्रतिक्रिया