अध्यक्षले अभिव्यक्ति नसच्याए बड्डीचौरदेखि गाडी नपठाउने चेतावनी

सुर्खेत । चौकुने गाउँपालिकाका अध्यक्ष खड्का विकले दिएको अभिव्यक्ति नसच्याए पश्चिम रुटमा गाडी नचलाउने चेतावनी सुर्खेत संयुक्त यातायात सेवाले दिएको छ । सडकको यथार्थता बुझ्न आफ्नो टोली पठाएको र सवारीहरु गुटुसम्म पठाउने तयारी गरिरहँदा गाउँपालिका अध्यक्षले दिएको अभिव्यक्तिका कारण बड्डीचौरदेखि पश्चिम गाडी नपठाउने यातायात व्यवसायीले चेतावनी दिएका हुन् ।



याे पनि पढ्नुहाेस् : सुर्खेत पश्चिमका जनतामाथि यातायात व्यवसायीको सिण्डीकेट

‘केही दिनअघि मात्रै अध्यक्ष ज्यूले व्यवसायीहरुलाई दलाल, भ्रष्ट र लुटेरा शव्द के कति कारणले प्रयोग गर्नुभयो, ति शव्दप्रति हाम्रो आपत्ती छ,’ सुर्खेत संयुक्त यातायात सेवाका संयोजक नारायण चपाईँले नेपालकर्मसँग भने, ‘कठिन अवस्थामा यातायात सेवा हामीले दिइरहेका छौं । विद्यापुरसम्म गाडी पनि पठाएकै छौं, त्योभन्दा अगाडी सडकको अवस्था कस्तो छ हेरेर गाडी चलाउन टोली नै खटाइसकेको थियौं । मिडियाबाट उहाँले सार्वजनिक गरेको अभिव्यक्तिले हामीलाई चित्त दुखाएको छ । उहाँको त्यो बोली फिर्ता नहुँदासम्म पश्चिम रुटमा नै गाडी चलाउँदैनौं ।’

याे पनि पढ्नुहाेस् : सुर्खेतका यातायात व्यवसायीकाे सिण्डिकेट विरूद्ध चाैकुनेकाे विद्राेह

अध्यक्ष खड्क विकले सार्वजनिक रुपमा यातायात व्यवसायीमाथी लगाइएको आरोप र अभिव्यक्ति विषयमा दुई दिनभित्र माफि नमागेसम्म बड्डिचौरभन्दा अगाडि गाडी नपठाउने उनको भनाई छ ।

अध्यक्ष विकले व्यवसायीमाथी दलाल, भ्रष्ट र लुटेराको आरोप लगाएको संयोजक चपाईको दावी छ । ४२ दिनसम्म चौकुने गाउँपालिकाको केन्द्र गुटुसम्म सार्वजनिक यातायात सञ्चालन नगरेपछि शनिबारदेखि गाउँपालिकाले आफ्ना टिप्परमा नागरिकहरुलाई लगामदेखि वीरेन्द्रनगर र वीरेन्द्रनगरदेखि लगामसम्म बोक्न शुरु गरेको छ ।

हाल वीरेन्द्रनगरबाट यातायात व्यवसायीले सार्वजनिक सवारीहरु विद्यापुरसम्म मात्रै पठाउने गरेका छन् । तर गाउँपालिकाले कम्तिमा गुटुसम्म गाडी ल्याइदिन यातायात व्यवसायीलाई अध्यक्ष विकले आग्रह गर्दै आएका छन् । सडक विग्रिएको भनिएको गुटु खोला र तल्लो विद्यापुर क्षेत्रमा निर्माण व्यवसायीसँग समन्वय गरेर ग्राभेल गरिएको छ ।

यद्यपी व्यवसायीहरुले गाडी गुटुसम्म लैजान नमानेपछि चौकुनेका नागरिकहरु महंगो भाडा तिरेर विद्यापुरबाट बोलेर गाडी, ट्याक्टर र अन्य भाडाका गाडीमा यात्रा गर्न बाध्य छन् ।

के भन्छ प्रशासन ?
सुर्खेतको पश्चिमको समस्याका विषयमा चौकुने गाउँपालिका, यातायात व्यवस्था कार्यालय र यातायात व्यवसायीलाई राखेर आइतबार छलफल गर्ने सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा बताउँछन् ।

‘साउन ४ गते हामीले सम्बन्धित पालिका र यातायात व्यवसायीलाई राखेर छलफल गरेका थियौं, बाटो विग्रिएको, मध्य वर्खामा जोखिम भएको हुनाले पछि निर्णय गर्ने भनेका थियौं,’ उनले भने, ‘गाडी चल्न उपयूक्त छ कि छैन ? भनेर सम्बन्धित यातायात व्यवसायी, यातायात कार्यालय र पालिकालाई राखेर छलफल गर्छौं, कसैले जिपमा राखेर वा अन्यमा राखेर यात्रु ल्याउछ भने जोखिम त हामीले मोल्न सक्दैनौ नि ? व्यवसायीले जाने अवस्था छैन भनि रहेको अवस्थामा घोक्राएर पठाउन पनि त मिलेन ।’

सवारी साधन चलाउनका लागि प्राविधकरुपमा सडक सही हुनुपर्ने, सवारी सञ्चालनमा यातायात व्यवसायी तयार हुनुपर्ने र भोलि केही भइहाले त्यसमा स्थानीय तह जवाफदेही हुनुपर्ने प्रजिअ सापकोटाको भनाई छ ।

तपाईको प्रतिक्रिया