विद्युतको १३२ केभी प्रसारण : बाँकेकाे विवादित क्षेत्रमा सुरक्षाकर्मी खटाएर टावर निर्माण

सुर्खेत । बाँकेको कोहलपुरबाट सुर्खेत जोड्ने विद्युतको १३२ केभी प्रशारण लाइनमा पटक पटक स्थानीयले अवरोध गर्न थालेपछि प्रहरी खटाएर काम थालिएको छ । बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रको जंगलमा स्थानीयले विद्युतका टावर निर्माणमा अवरोध गर्न थालेपछि प्रहरीको घेरामा काम थालिएको हो ।



जिल्ला प्रशासन कार्यालय बाँकेले निर्माणस्थलमा सुरक्षाकर्मी खटाएर बानियाभार क्षेत्रमा काम भइरहेको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका ईन्जिनियर कृष्ण खड्काले नेपालकर्मलाई जानकारी दिए ।

‘सुरक्षाकर्मी परिचालन गरेर काम भइरहेको क्षेत्र नौवस्तादेखि पूर्वीतर्फको जंगल क्षेत्र हो,’ ईन्जिनियर खड्काले भने, ‘बानियाभारमा स्थानीयले अवरोध गरेको थप तीन टावर क्षेत्रमा काम हुनै बाँकी छ ।’

बानियाभारको जंगल क्षेत्रमा रुख कटान आदेश भइसकेको जंगल क्षेत्रमा स्थानीयले पटक पटक अवरोध गर्दै आएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर अहिले जंगल क्षेत्रका तीन टावर फाउण्डेशनको काम भइरहेको छ । अवको एक हप्तामा जंगल क्षेत्रको काम सक्नेगरी काम भइरहेको खड्काले बताए ।

‘कर्मचारी र मजदुरलाई गाउँ प्रवेशमा नै रोक लगाउँदा लामो समयदेखि टावरको काम अघि बढ्न सकेको थिएन्,’ खड्काले भने, ‘छलफलबाट स्थानीय सहमतिमा नआउँदा प्रहरीको सुरक्षा घेरामा अहिले काम थालेका छौं ।’

स्थानीयले विकल्प खोज्नुपर्ने भन्दै अदालतसम्म पुगेका थिए । अदालतले रिट खारेज गरिदिँदा पनि स्थानीयको अवरोध कायमै छ ।

जंगल क्षेत्रमा टावर निर्माण सकिएमा मुख्य विवाद बानियाभार वस्ती क्षेत्र र सुर्खेतको सब्बाकुना एउटा गरी तीन टावर मात्रै निर्माण गर्न बाँकी रहनेछ । मुआब्जामा चित्त नबुझेको भन्दै स्थानीयले बानियाभार र सुब्बाकुनामा टावर निर्माण गर्न दिइरहेका छैनन् ।

निकुञ्ज क्षेत्रमा टावर निर्माणसँगै तार तानियो
‎‎बाँकेको कोहलपुरबाट शुरु भएर सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दुरी ५२ किलोमिटर छ । प्रशारण लाइनको १४ किलोमिटर क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ ।

हर्रे–छिन्चु–सुब्बाकुना यसअघि नै टावर निर्माण सकेर तार तानिसकिएको छ । निकुञ्ज क्षेत्रको चिसापानी–हर्रेसम्म लगभग ७० वटा टावर निर्माण सकिने क्रममा रहेको इन्जिनियर खड्काले जानकारी दिए ।

जेठसम्ममा कोहलपुर–सुर्खेत प्रशारण लाइनमा निर्माण गर्नुपर्ने १६१ ओटा टावरमध्य १५७ टावर निर्माण र तार तानेर सकिने खड्का बताउँछन् । विवाद देखिएको बानियाभारमा बन्न बाँकी तीन ओटा टावर असारसम्म सकेर विद्युत चार्ज गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ ।

२३ असार २०७८ मै सुब्बाकुना सवस्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्यसहित भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको हो ।

स्थानीय अवरोध, सरकारी प्रक्रियामा विलम्ब, कोरोना महामारी जस्ता कारण ढिलाइ भएपछि आयोजनाले निर्माण कम्पनीलाई आगामी असारसम्म चौथो पटक म्याद थप गरेको छ । यो आयोजनाको लागत ७० करोड रुपैयाँ रहेको छ । सुब्बाकुनामा सव स्टेशनको काम अन्तिम चरणमा पुगेकाे छ ।

सम्बन्धित समाचार
१. कति भयो सुर्खेत ल्याउन लागिएको १३२ केभी विद्युतको निर्माण ?
२. कोहलपुर-सुर्खेत १३२ केभिए प्रशारण आयोजनामा देखिएका अवरोध हटाउँदै सरकार
३. कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण : निकुञ्जका रूख कटान प्रक्रिया शुरू, बाँकेमा अवराेध
४. निकुञ्ज क्षेत्रबाहेक अन्य क्षेत्रमा टावर निर्माण, बाँकेमा भने विवाद कायमै
५. १३२ केभी प्रशारण लाइन : स्थानीय र निकुञ्जको अवरोध कायमै
६. निकुञ्ज क्षेत्रमा विद्युतका टावर निर्माण गरिँदै
७. १३२ केभी विद्युत : बाँकेको विवाद अदालतले गर्यो खारेज, चैतसम्म सुब्बाकुनामा चार्ज गर्ने लक्ष्य

 

तपाईको प्रतिक्रिया