१३२ केभी विद्युत : बाँकेको विवाद अदालतले गर्यो खारेज, चैतसम्म सुब्बाकुनामा चार्ज गर्ने लक्ष्य

सुर्खेत । बहुप्रतिक्षित १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइनको बाँके क्षेत्रमा देखिएको विवाद अदालतले सुल्झाएको छ । विद्युत लाइन प्रशारणको शुरुवाती विन्दु बाँकेको बानियाभार क्षेत्रको विवाद अदालत पुगेको थियो । टावर निर्माण गर्ने क्षेत्रमा जग्गा अधिकरणको विषयमा विवाद बढेपछि स्थानीयले उचित मुआब्जाको माग राख्दै गत जेठ ३२ गते रिट उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा दर्ता गरेका हुन् ।



अदालतका न्यायाधीसद्वय पुनम सिंह चन्द र श्यामजी प्रधानको संयुक्त इजलासले माग दावी पुग्न नसक्ने भन्दै रिट निवेदन खारेज गरिएको उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जका निमित्त रजिष्ट्रार सरोजनिधि वाग्लले जानकारी दिए ।

उनकाअनुसार रिट अदालतले खारेज गरेपछि विद्युत प्रशारण लाइन निर्माणको काममा अवरोध गर्न मिल्ने छैन् । विद्युत लाइन प्रशारणको शुरुवाती विन्दु बाँकेको बानियाभार क्षेत्रको विवाद अदालत पुगेको छ ।

बाँकेको बैजनाथ गाउँपालिका १ को गाभरमा पाँच पोल र ४ वडाको बानियाभारमा तीन ओटा टावर निर्माण गर्नुपर्नेछ । विद्युत पोलको फाण्डेशन निर्माणमा स्थानीयले अवरोध गरेपछि विवाद अदालत पुगेको हो ।

अदालतले नै विवाद किनारा लगाइदिएपछि निर्माण प्रक्रिया शुरु गर्ने तयारी गरिरहेको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रवि चौधरी बताउँछन् । अदालतले रिट खारेज गरेकाले पूर्णपाठको पर्खाइमा आफूहरु रहेको प्रमुख चौधरीले जानकारी दिए ।

‘दशैंपछिसम्म पूर्णपाठ अदालतले उपलव्ध हुने भएकाले त्यो बेलासम्म थप काम अघि बढाउँदैनौं,’ चौधरी भन्छन्, ‘विवाद अदालतले सुल्झाइदिएको मात्रै फैसलामा के समावेश छ हेरर हामी अघि बढ्छौं ।’

सुख्खा महिनामा विद्युतको लो भोल्टेजले वर्षौदेखि सुर्खेतका नागरिक आजित छन् । प्रयाप्त विद्युतको भोल्टेज नआउँदा गर्मी सिजनमा नागरिकमा पंखा नचल्दा सास्ती मात्रै व्यहोरेका छैनन्, उद्योग स्थापना गरेर आम्दानी गर्ने सोचमा रहेका व्यवसायीहरुले उद्योग नै सञ्चालन गर्न सकिरहेका छैनन् ।

वर्षौंदेखि कोहलपुर–सुर्खेत १३२ केभी विद्युतको प्रशारण लाइन निर्माणको कामले अपेक्षाकृत प्रगति नलिँदा कर्णालीबासीमा झनै निराशा छाएको थियो । स्व. राजा वीरेन्द्रको ठाडो आदेशमा २०४५ सालमा नेपाल विद्युत प्राधिकरणले सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा विद्युत लाइन विस्तार गरेका थिए । ३६ वर्ष पहिला निर्माण गरेको पुरानै विद्युतका संरचनाले सुर्खेत मात्रै हैन विद्युत विस्तार भएका जिल्लाका नागरिकहरुले लो भोल्टेजको समस्या झेलिरहेका छन् ।

निकुञ्जमा रुख काटानसँगै फाउण्डेशन निर्माण
२०७६ असार २२ गते कोहलपुर–सुर्खेतको १३२ केभी विद्युतको निर्माणका लागि सम्झौता गरिएको हो । भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले यो आयोजनाको निर्माण जिम्मा पाएको छ । विवाद नभएको भए यो आयोजना सम्झौता मितिदेखि दुई वर्ष अर्थात् २०७८ असार २३ गते सम्पन्न भइसक्नु पर्ने हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवादका कारण १३२ केभीको लाइन थप तीन वर्ष धकेलिएको हो । विवाद नभएको क्षेत्र हर्रे–छिन्चु–वीरेन्द्रनगर प्रशारण लाइनको टावर निर्माणदेखि तार तान्ने काम एक वर्षअघि नै सकिएको छ ।

वीरेन्द्रनगरको सुब्बाकुनामा सव स्टेशन निर्माणको काम ८० प्रतिशत सकिएको छ । मुख्य विवाद देखिएको बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा रुख कटानको अनुमति पाए लगत्तै अहिले रुख कटान शुरु गरिएको छ ।

बाँकेको चिसापानी र देउराली बाँके राष्ट्रिय निकुञ्ज तथा बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङ (बबई) र सुर्खेतको हर्रे क्षेत्रको प्रशारण लाइन बर्दिया राष्ट्रिय निकुञ्जमा पर्दछ । निकुञ्ज क्षेत्रका ६ हजार सात सय साना ठूला रुख कटानका लागि आइतबारदेखि काम शुरु गरिएको प्रमुख चौधरीले बताए ।

यी रुख काट्न कम्तिमा तीन महिना लाग्नेछ । यो क्षेत्रमा मात्रै ७० टावर निर्माण गर्नुपर्नेछ । अहिलेसम्म खाली क्षेत्रमा ५० बढी टावरको फाउन्डेशन तयार गरिसकिएको छ । ‘रुख कटानसँगै टावरको बाँकी काम पनि सँगसँगै अघि बढाइरहेका छौं,’ चौधरी भन्छन्, ‘चैत महिनासम्म सबै काम सकेर वीरेन्द्रनगरको सुब्बाकुनामा रहेको सव स्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्यका साथ लागिरहेका छौं ।’

५२ किलोमिटर कोहलपुर–सुर्खेत प्रसारण लाइनमा एक सय ६१ वटा टावर निर्माण गर्नुपर्ने छ । अधिकाँश टावरको फाउण्डेशन निर्माण गरिसकिएको छ । सुर्खेत खण्डको हर्रे–छिन्चु–वीरेन्द्रनगर खण्डमा टावर निर्माणसँगै तार तानेर सकिएको छ ।

सुब्बाकुना सव स्टेशनसम्म भित्र ल्याउन लागिएको तार तान्न स्थानीय नदिएको आयोजनाले जनाएको छ । भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले निर्माण जिम्मा पाएको आयोजना कुल लागत ७० करोड रहेको छ ।

सुर्खेत–दैलेख प्रसारणको काम आरम्भ
कोहलपुर–सुर्खेत–दैलेख १३२ प्रसारण लाइन र सुर्खेत तथा दैलेखमा मा १३२-३३-११ केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि कर्णाली क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणको विश्वास छ ।

कर्णालीका सुर्खेत, दैलेख विद्युत आपूर्तिलाई भरपर्दो गुणस्तरीय तथा पर्याप्त र भेरी, बबई र कर्णाली नदी बेसीनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइनका लागि १३२ केभी आयोजना अघि बढाइएको हो ।

सुर्खेत–दैलेख प्रसारण लाइन निर्माणको कामका शुरुवात गरिएको छ । सुर्खेतबाट दैलेखको चुप्रासम्म विद्युतको प्रशारण लाइन विस्तारका लागि सिम्नाकन-एमएसपीएल जेभीसँग आयोजनाले सम्झौता गरिसकेको छ । टावर निर्माण पूर्व सर्वे, माटो परीक्षण र टावर डिजाइनको काम सकिएको छ ।

सुर्खेतबाट दैलेखको चुप्रा बजारदेखि उत्तरमा रहेको सव स्टेशनसम्मको प्रसारण लाइन दुरी ३० किलोमिटर छ । सव स्टेशनसम्म विद्युत सरदर ३० मिटरका १०१ हाइटेन्सन टावर निर्माण गरिनेछ ।

७० करोड लागत रहेको यो आयोजनामा अहिलेसम्म कुनै विवाद देखिएको छ । सम्झौता मितिदेखि दुई वर्षमा दैलेखको चुप्रामा विद्युत चार्ज गर्ने लक्ष्य छ । अहिले चुप्रामा सव स्टेशन निर्माणको जिम्मा महाविर श्री इन्टरनेश्नल प्रा.लि. काठमाडौंले जिम्मा लिएको छ । दशैं लगत्तै सवस्टेशनको कामले गति लिने आयोजना प्रमुख चौधरी बताउँछन् ।

तपाईको प्रतिक्रिया