सुर्खेत । कोहलपुर–सुर्खेत विद्युतको १३२ केभी प्रशारण लाइनको विवाद देखिएको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा विद्युतका टावर निर्माण गर्न लागिएको छ । बाँकेको कोहलपुरबाट सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा ल्याउन विद्युतका टावर निर्माणमा विवाद नभएको क्षेत्रमा काम लगभग सकिएको छ । तर आयोजना क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्जमा विद्युतको हाइटेन्सन पोल (टावर) निर्माणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
याे पनि पढ्नुहाेस् : निकुञ्ज क्षेत्रबाहेक अन्य क्षेत्रमा टावर निर्माण, बाँकेमा भने विवाद कायमै

कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइन आयोजनाका अनुसार हाल निकुञ्ज क्षेत्रको समस्या सल्टिने क्रममा छ । ‘निकुञ्ज क्षेत्रमा रुख कटानका लागि त्यो बराबरको जग्गा खोजेर दिनुपर्ने भएकाले ढिलाइ भएको हो,’ आयोजना प्रमुख रविकुमार चौधरीले, ‘लाइन विस्तारको क्रममा रुख कटानवापत जग्गा नै दिनुपर्ने भनेपछि ६३ विगाह जग्गाको मुआब्जा प्रक्रिया अन्तिम चरणमा पुगेकाले दशैँतिहार लगत्तै रुख कटान र फाउण्डेशनको काम शुरु गर्दैछौं ।’

तर यो आयोजनाको बाँकेस्थित बैजनाथ गाउँपालिकाको बानियाभार क्षेत्रमा स्थानीयले अवरोध कायमै छ । कोहलपुरबाट सुर्खेतसम्म ५२ किलोमिटर डबल सर्किटको प्रशारण लाइन रहने विद्युतका १६२ ओटा टावर निर्माण गरिनेछ । यीमध्य हाल एक सय ओटा टावरको फाउन्डेन सकिएको छ । ६० ओटा टावर निर्माणको काम समेत सकिएको छ । टावर निर्माण सम्पन्न भएका सुर्खेत क्षेत्रमा तार तान्ने तयारी गरिएको छ ।

१३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण जिम्मा भने भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले पाएको छ । उसले करिव ७० करोड रुपैयाँ लागतमा हाल काम गरिरहेको छ । वीरेन्द्रनगरको सुब्बाकुनामा चार हेक्टर क्षेत्रफलमा सब–स्टेसन निर्माणको काम समेत अघि बढाइएको छ ।
२०७९ बैशाखमा ७५ करोडमा सम्झौता भएको सव–स्टेशन निर्माणको जिम्मा नेपाल हाइड्रो इलेक्ट्रोनिकले लिएको छ । हाल वालको काम र भवन निर्माणको काम भइरहेकाले आगामी कार्तिकसम्म काम सम्पन्न हुने आयोजनाले जनाएको छ । आगामी वर्ष बैशाखसम्म सुब्बाकुना सव–स्टेशनमा विद्युत चार्ज गर्ने आयोजनाको तयारी छ ।
करिब ३४ वर्षअघि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा सामान्य पोलमार्फत विद्युतको राष्ट्रिय प्रशारण लाइन पु¥याइएको थियो । ठूलो हावा चल्दा र पानी पर्दा विद्युत अवरुद्ध यहाँका नागरिकहरुले हैरानी खोपिरहँदा पूर्ण रुपमा १३२ केभी विद्युतको प्रशारण लाइन हाल निर्माणको चरणमा छ । ठूला टावरमार्फत विद्युत वीरेन्द्रनगरस्थित सुब्बाकुना सव–स्टेशनमा चार्ज गरेमा उपभोक्ताले हाल खेप्नु परेको सास्ती हट्नेछ ।

नेपाल कर्म । २४ श्रावण २०८०, बुधबार १४:३०