कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन

निकुञ्ज क्षेत्रबाहेक अन्य क्षेत्रमा टावर निर्माण, बाँकेमा भने विवाद कायमै

सुर्खेत । बाँकेको कोहलपुरबाट सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा ल्याउन लागिएको विद्युतको १३२ केभी प्रसारण लाइनको विवाद नभएको क्षेत्रमा विद्युत टावर निर्माण गरिएको छ । आयोजना क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्ज र बाँकेको बानियाभार क्षेत्र बाहेक अन्य ठाउँमा विद्युतको हाइटेन्सन पोल (टावर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने वीरेन्द्रनगको धुलियाविटमा सव–स्टेशन निर्माणको काम जारी छ ।




करिब ३४ वर्षअघि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा सामान्य पोलमार्फत विद्युतको राष्ट्रिय प्रशारण लाइन पुर्‍याइएको थियो । ठूलो हावा चल्दा र पानी पर्दा विद्युत अवरुद्ध यहाँका नागरिकहरुले हैरानी खोपिरहँदा पूर्ण रुपमा १३२ केभी विद्युतको प्रशारण लाइन हाल निर्माणको चरणमा छ । ठूला टावरमार्फत विद्युत वीरेन्द्रनगरस्थित सुब्बाकुना सव–स्टेशनमा चार्ज गरेमा उपभोक्ताले हाल खेप्नु परेको सास्ती हट्नेछ ।

तर यो आयोजनाको बाँकेस्थित बैजनाथ गाउँपालिकाको बानियाभार क्षेत्रमा स्थानीयले अवरोधले निर्माण अवधि थप एक वर्ष लम्बिने देखिएको छ । निर्धारित समयमै काम सक्न पहल गरिरहेको सुर्खेत उद्योग बाणिज्य संघले विवाद देखिएको ठाउँमा त्यहाको राजनीतिक नेतृत्वको भूमिका महत्वपूर्ण रहेको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

‘भोट बटुल्नकै लागि कर्णालीलाई अन्धकारमा राख्न बाँकेका राजनीतिकज्ञले लाइन विस्तारमा नागरिकलाई भड्काउनु राम्रो हैन्,’ अध्यक्ष कँडेलले भने, ‘विद्युतका पोल राख्ने स्थानमा व्यक्तिका घर पर्दैनन्, हामीले स्थलगत हेरेर समाधानका लागि प्रयास गरेका पनि हौं । तर राजनीतिकज्ञहरुले नागरिकलाई विरोध गर्न भनिरहेकाले यो कार्य तत्काल रोकेर विद्युत विस्तारको अवरोध खुला गरिनुपर्दछ ।’

विवाद देखिएको बानियाभारमा मात्रै हाइटेन्स लाइनका नौं वटा पोल निर्माण गर्न बाँकी छ । बर्दिया राष्ट्रिय निकुञ्जले लाइन विस्तारको क्रममा रुख कटानवापत जग्गा नै दिनुपर्ने भनेपछि ६३ विगाह जग्गा खरिदको प्रक्रियामा अघि बढेको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइन आयोजनाका प्रमुख रविकुमार चौधरी बताउँछन् । उनले निकुञ्जको सबै बाधा अड्चन हडाएर दशैँतिहार लगत्तै काम थाल्ने बताए ।

कोहलपुरबाट सुर्खेतसम्म ५२ किलोमिटर डबल सर्किटको प्रशारण लाइन रहने विद्युतका १६२ ओटा टावर निर्माण गरिनेछ । यीमध्य हाल ८५ ओटा टावरको फाउन्डेन सकिएको छ चौधरी बताउँछन् । उनले ५२ ओटा टावर निर्माणको काम समेत सकिएको छ । टावर निर्माण सम्पन्न भएका २० किलोमिटरसम्म असारसम्म तार तान्ने तयारी आयोजना छ ।

१३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण जिम्मा भने भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले पाएको छ । उसले करिव ७० करोड रुपैयाँ लागतमा हाल काम गरिरहेको छ । वीरेन्द्रनगरको सुब्बाकुनामा चार हेक्टर क्षेत्रफलमा सब–स्टेसन निर्माणको काम समेत अघि बढाइएको छ ।

२०७९ बैशाखमा ७५ करोडमा सम्झौता भएको सव–स्टेशन निर्माणको जिम्मा नेपाल हाइड्रो इलेक्ट्रोनिकले लिएको छ । हाल वालको काम र भवन निर्माणको काम भइरहेकाले आगामी कार्तिक सम्म काम सम्पन्न हुने आयोजनाले जनाएको छ । आगामी वर्ष बैशाखसम्म सुब्बाकुना सव–स्टेशनमा विद्युत चार्ज गर्ने आयोजनाको तयारी छ ।

धुलियाविटमा निर्माण भइरहेकाे १३२ केभी विद्युतकाे सव-स्टेशन ।

सुर्खेतबाट दैलेखको चुप्रासम्म हाइटेन्सन लाइन विस्तारका लागि ठेक्का आह्वान गरेर काम शुरु गर्ने तयारीमा रहेको आयोजना प्रमुख चौधरी बताउँछन् । उनले दुई वर्षभित्र १३२ केभी प्रसारण लाइन दैलेखको चुप्रासम्म पुर्‍याउने लक्ष्य रहेको जनाए । चुप्रामा यसअघि नै जग्गा लिएर घेरबारको काम सकिएको छ । टावरको काम निर्माण शुरु लगत्तै सव–स्टेशनको काम थाल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया