व्यवस्थित पार्क बनाउन घण्टाघरमा पर्खाल निर्माण

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको पर्यटकीय स्थल घण्टाघरको पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौं पहिले निर्माण गरेको पर्खाल कमजोर भएको र ठाउँ–ठाउँमा भत्किएपछि नयाँ पर्खाल बनाउन नगरपालिकाले ठेक्कामार्फत निर्माण थालेको हो ।
याे पनि पढ्नुहाेस् : पर्यटकीयस्थल घण्टाघरकाे पर्खाल निर्माण शुरू



गत जेठबाट निर्माण थालिएको पर्खालको पहिलो चरणको काम सकिन लागेको वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर ईश्वरी ढकालले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार हाल घण्टाघरको पर्खालको काम सकिएर रंग लगाउने काम भइरहेको छ ।

पर्खाल निर्माणको जिम्मा नमस्ते निर्माण सेवाले लिएको थियो । निर्माण कम्पनीले अहिले पर्खालको सबै काम सकेर फलामको रेलिङ्ग राख्ने काम गरिरहेको छ । एक हप्तामा बत्ती जडान सकेर हस्तान्तरण गर्ने निर्माण कम्पनीको भनाई छ ।

याे पनि पढ्नुहाेस् : घण्टाघर पार्कलाई व्यवस्थित गर्न पर्खाल निर्माण शुरु (फाेटाे फिचर)

नयाँ बनेको पर्खालमा रोल्पाबाट ढुंगा ल्याएर कलात्मक बनाइएको छ । पर्खालमा सुर्खेत चिनारीका फोटा राख्न र फुलका विरुवा रोप्न मिल्नेगरी बनाइएको नगरपालिकाको भनाई छ ।

पर्खालमाथी लाइट राख्ने गरी डिजाइन गरेकाले रातीमा घण्टाघर झन आकर्षण देखिने इन्जिनियर ढकालले बताए । घण्टाघर पार्कको पहिलो चरणको पर्खाल निर्माणमा ४६ लाख लागत लागेको छ ।

घण्टाघर पार्कको मुख्य गेटसहित बाँकी रहेको दोस्रो चरणको पर्खाल बनाउनेगरी ठेक्का आह्वान गरिसकिएको छ । करिव ५५ लाख लागतमा जगन्नाथ कन्सट्रक्शनले निर्माण जिम्मा पाएको छ । आगामी जेठसम्म सक्नेगरी सम्झौता गरिएको छ । नगरपालिकाले झन्डै १२ वर्षपछि सुर्खेतको घण्टाघरमा साढे ११ लाख रुपैयाँ खर्च गरेर घडी फेरिसकेको छ ।

घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो । निर्माणमा त्यतिबेलै ७० लाख ७९ हजार ५ सय ४० रुपैयाँमा खर्च भएको हो। घडी फेरिएपछि दोस्रो चरणमा बाँकी रहेको बजेटबाट घण्टाघर वरपरको क्षेत्र संरक्षण गर्न पर्खालको काम जारी नै रहेको नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

उनले पर्खालको काम सकिएपछि पार्क भित्रका संरचना व्यवस्थित गर्ने र आकर्षक पार्कका लागि आवश्यक संरचना तयार गरेर नगरपालिकाले नै सञ्चालन गर्ने योजना रहेको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया