सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले घण्टाघर पार्कलाई व्यवस्थित बनाउन दाेस्राे चरणमा पर्खाल निर्माणको काम शुरु गरेको छ । धेरै वर्ष पहिला निर्माण गरेको पर्खाल कमजोर भएको र ठाउँमा ठाउँमा भत्किएपछि नयाँ पर्खाल बनाउन नगरपालिकाले काम थालेको हो ।
निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार नयाँ पर्खाल निर्माण लागि नगरपालिकाले साइट क्लीयर गर्नुपर्ने भएपछि बुधबार पुरानो पर्खाल भत्काएको छ । नगर प्रमुख मोहनमाया ढकालसहितको टोलीले पार्कको उत्तर–दक्षिण र पश्चिमतर्फको पर्खाल भत्काएको छ ।
नयाँ पर्खाल निर्माण जिम्मा नमस्ते निर्माण सेवाले पाएको छ । निर्माण व्यवसायीसँग नगरपालिकाले यहीँ जेठ २५ गते सम्झौता गरेको थियो । पिल्लरसहितको आकर्षक पर्खाल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणको पर्खाल निर्माणका लागत ४६ लाख रुपैयाँ रहेको छ ।

नगरपालिकाले पहिलाे चरणमा बिग्रिएको झन्डै १२ वर्षपछि सुर्खेतको घण्टाघरमा नयाँ घडी जडान गरेकाे थियाे । नगरपालिकाले यो वर्ष घण्टाघर संरक्षण गर्न भन्दै २५ लाख रुपैयाँ छुट्याएको थियो । उक्त बजेटबाट साढे ११ लाख रुपैयाँ खर्च गरी घडी फेरिएको हाे ।

खुलामञ्चमा रहेको घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो । निर्माणमा त्यतिबेलै ७० लाख ७९ हजार ५ सय ४० रुपैयाँमा खर्च भएको थियो । घडी फेरिएपछि दाेस्राे चरणमा बाँकी रहेको बजेटबाट घण्टाघर वरपरको क्षेत्र संरक्षण गर्न पर्खालकाे काम शुरू गरिएकाे नगर प्रमुख माेहनमाया ढकालले बताइन् । उनले पर्खालकाे काम सकिएपछि पार्क भित्रका संरचना व्यवस्थित गर्ने र आकर्षक पार्कका लागि आवश्यक संरचना तयार गरेर नगरपालिकाले नै सञ्चालन गर्ने योजना रहेको जानकारी दिइन् ।


नेपाल कर्म । ३१ जेष्ठ २०८०, बुधबार १६:२१