सुर्खेत । सुर्खेतका प्रमुख पर्यटकीय स्थलमध्य एक घण्टाघरकाे पर्खाल निर्माण शुरू गरिएकाे छ । घण्टाघर पार्कलाई व्यवस्थित बनाउन वीरेन्द्रनगर नगरपालिकाले दाेस्राे चरणमा पर्खाल निर्माणको काम शुरु गरेको हाे ।

धेरै वर्ष पहिला निर्माण गरेको पर्खाल कमजोर भएको र ठाउँ-ठाउँमा भत्किएपछि नयाँ पर्खाल बनाउन नगरपालिकाले ठेक्का आह्वान गरेको थियो । निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार नयाँ पर्खाल निर्माण लागि नगरपालिकाले साइट क्लीयर गरि दिएपछि काम शुरू गरिएकाे छ ।

नयाँ पर्खाल निर्माण जिम्मा नमस्ते निर्माण सेवाले पाएको छ । निर्माण व्यवसायीसँग नगरपालिकाले गएकाे जेठ २५ गते सम्झौता गरेको थियो । पिल्लरसहितको आकर्षक पर्खाल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणको पर्खाल निर्माणका लागत ४६ लाख रुपैयाँ रहेको छ ।

नगरपालिकाले पहिलाे चरणमा बिग्रिएको झन्डै १२ वर्षपछि सुर्खेतको घण्टाघरमा नयाँ घडी जडान गरेकाे थियाे । नगरपालिकाले यो वर्ष घण्टाघर संरक्षण गर्न भन्दै २५ लाख रुपैयाँ छुट्याएको थियो । उक्त बजेटबाट साढे ११ लाख रुपैयाँ खर्च गरी घडी फेरिएको हाे ।
खुलामञ्चमा रहेको घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो । निर्माणमा त्यतिबेलै ७० लाख ७९ हजार ५ सय ४० रुपैयाँमा खर्च भएको थियो ।
घडी फेरिएपछि दाेस्राे चरणमा बाँकी रहेको बजेटबाट घण्टाघर वरपरको क्षेत्र संरक्षण गर्न पर्खालकाे काम शुरू गरिएकाे नगर प्रमुख माेहनमाया ढकालले बताइन् । उनले पर्खालकाे काम सकिएपछि पार्क भित्रका संरचना व्यवस्थित गर्ने र आकर्षक पार्कका लागि आवश्यक संरचना तयार गरेर नगरपालिकाले नै सञ्चालन गर्ने योजना रहेको जानकारी दिइन् ।

नेपाल कर्म । २५ असार २०८०, सोमबार ०६:५८