सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडक खण्डमा पाँच वर्षीय बालकलाई ठक्कर दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना लगत्तै वीरेन्द्रनगर उपत्यका छाडेका ति व्यक्तिलाई प्रहरीको विशेष अनुसन्धान टोलीले पूर्वी सुर्खेतबाट पक्राउ गरेको हो ।
याे पनि पढ्नुहाेस् : बालक मृत्यु प्रकरण : ठक्कर दिने मोटरसाईकलको पहिचान नजिक पुग्याे प्रहरी

याे पनि पढ्नुहाेस् : दुर्घटनामा बालकको मृत्यु भएपछि आफन्तद्वारा यरिचोकमा प्रदर्शन

प्रहरीको उच्च स्रोतले नेपालकर्मलाई दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्ति ३० वर्षीय युवा हुन् । उनी गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका अर्जुन पुन रहेको प्रहरीको भनाई छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले पुनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

उनले चलाएको प्रदेश ३०२००२ प ९२०३ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । गोकुल कटेज नजिकै दैलेखका पाँच वर्षीय बालक टेकदर्शन पुरीलाई शनिवार विहान ८ बजे मोटरसाइकलले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना लगत्तै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्माको कमाण्डमा बिशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले फोरलेन सडक खण्डमा रहेका विभिन्न व्यक्तिहरुले पसलहरुमा जडान गरेका सीसीटीभी क्यामराको सहायताले मोटरसाइकल नम्बर पहिचान गरेको हो ।
सीसी टिभी क्यामराले फरार रहेका व्यक्तिको पहिचानमा सहयोग पुगेको प्रहरी स्रोतले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालयले पनि फोरलेन सडकमा बालकलाई ठक्कर दिएर फरार रहेका मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । कार्यालयकाअनुसार नियन्त्रणमा लिएका चालकलाई वीरेन्द्रनगर ल्याउन लागिएको छ ।

सुशील खड्का । १४ आश्विन २०८०, आईतवार १७:५५