बालक मृत्यु प्रकरण : ठक्कर दिने मोटरसाईकलको पहिचान नजिक पुग्याे प्रहरी

सुर्खेत । वीरेन्द्रनगरस्थित फोरलेन सडकमा बालकलाई ठक्कर दिएर फरार भएको मोटरसाइकल र चालकको पहिचान नजिक प्रहरी पुगेको छ । शनिवार विहान फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै दैलेखका पाँच वर्षीय बालकलाई ठक्कर दिने मोटरसाइकलको पहिचान नजिक प्रहरी पुगेको हो ।



याे पनि पढ्नुहाेस् : मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, फोरलेन सडक अवरुद्ध

घटना लगत्तै सादा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएका सादा पोशाकका प्रहरीहरुले मंगलगढीदेखि बाँगेशीमलसम्मको सीसीटीभी क्यामराबाट सबै विवरण संकलन गरेका छन् । यरिचोकदेखि मुलपानीसम्मको संकलन गरिएको सीसीटीभी क्यामरामा कैद भएको भिडियोमा मुलपानीसम्म उनी गएको देखिएको छ ।

‘मोटरसाईकलमा दुई जना सवार देखिन्छ,’ प्रहरी स्रोतले नेपालकर्मसँग भन्यो, ‘ठक्कर दिने मोटरसाईकलको पछाडी बच्चा पनि सवार देखिन्छ । बच्चाले लगाएको ड्रेसका आधारमा विद्यालयको पहिचानसँगै मोटरसाईलको पनि खोजीमा हामी जुटेका छौं ।’

यरिचोकबाट पश्चिमतर्फ गएका सबै भिडियोहरु प्रहरीले संकलन गरेर मोटरसाईकलको नम्बर पत्ता लगाउने प्रयासमा छ । ‘शनिवार अप्रत्याशीत घटनाहरु धेरै भएकाले आन्दोलनमा प्रहरीको ध्यान केन्द्रित रह्यो । तर पनि हामीले मोटरसाइकलको पहिचान गर्नमा छुट्टै प्रहरी पनि खटाइएका थियौं,’ प्रहरी स्रोतले भन्यो, ‘लगभग हामी पहिचानको नजिकको छौं । चाडैँ नै ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्छौं ।’

वीरेन्द्रनगर–३ भैरवस्थानमा बस्दै आएका दैलेख आठविस नगरपालिका खिड्कीज्यूलाका पाँच वर्षिय टुकदर्शन पुरीलाई गोकुल कटेज नजिकै मोटरसाईकलले ठक्कर दिएर फरार भएको हो ।

मोटरसाईकलको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका पुरीको उपचारको क्रममा कर्णाली केयर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । आफन्तहरुले ठक्कर दिने मोटरसाईकल र चालकलाई खोजेर कारवाही गर्नुपर्ने माग गर्दै शनिवार दिनभर यरिचोक र मुलपानी क्षेत्रमा आन्दोलन गरेका थिए । चालकको पहिचान नगर्दासम्म आन्दोलन नरोक्ने भन्दै आफन्तहरुले आइतबार पनि यरिचोकमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया