सुर्खेत । कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले आफ्नै प्रहरी खटाउने तयारी गरेको छ । छनोट गरेर तालिमपछि वीरेन्द्रनगर फर्किएका नगर प्रहरीलाई खटाउने अन्तिम तयारी गरिएको हो ।

२०८० मंसिरमा वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी राख्न नयाँ भर्ना प्रक्रिया अघि बढाएको थियो । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक (असई) एक पुरुष र एक महिला तथा प्रहरी नायब निरीक्षक (सई) एक जना, हवल्दार दुई पुरुष र एक महिला तथा सवारी चालक दुई जनासहित २० जना जवानका लागि आवेदन खुला गरेको थियो । यीमध्य नगर प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक र हवल्दार महिला पदमा आवेदन नै परेन् ।
यो पनि पढ्नुहोस् : अब वीरेन्द्रनगरको आफ्नै प्रहरी
तर तल्लो पदमा आवेदन परेका नगर प्रहरीलाई नेपाल प्रहरीको नेपालगञ्जमा रहेको तालिम केन्द्रमा पठाएर तालिम लिइसकेका छन् । तालिम सकेर फर्किएका नगर प्रहरीलाई यहीँ बैशाख १६ गतेबाट बजारमा खटाउने तयारी भइरहेको वीरेन्द्रनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख टंक लामिछानेले नेपालकर्मलाई जानकारी दिए ।

‘आवश्यक स्रोत साधनको व्यवस्थापन गर्न केही ढिलाइ भएको हो, अब तत्कालै खटाउने गरी लागिरहेका छौं,’ लामिछाने भन्छन्, ‘तालिम सकेर आएका उनीहरुलाई अहिले बजारको वस्तुस्थिति बुझ्न सादा पोशाकमा सबै वडाहरुमा पठाइसकेका छौं ।’
नगरपालिकाले तोकेको चोकमा अटो पार्किङ गर्न सक्ने अवस्था, फुटपाथको दीर्घकालिन समाधान र ठेला ब्यापारहरुको व्यवस्थापनका लागि कसरी राख्ने विषयमा बुझ्ने काम भइरहेको उनी बताउँछन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगर र गाउँपालिकालाई नगर प्रहरी गठन गर्ने अधिकार दिएको छ । ऐनको दफा ११ को उपदफा (२) क (१) ले दिएको अधिकार वीरेन्द्रनगरनले कार्यान्वनय गर्न लागेको हो ।
यो पनि पढ्नुहोस् : कहाँ पुग्यो वीरेन्द्रनगरले खटाउन लागेका नगर प्रहरीको प्रक्रिया ?

नगरपालिकाले नगर प्रहरी सञ्चालनसम्बन्धी छुट्टै कार्यविधि बनाएर नयाँ प्रहरी छनोट गरेको हो । ‘एक्काशी नगर प्रहरी खटाएर बजारमा अहिले जहाँ पायो त्यहीँ भएको पार्किङ हटाउँदा समस्या हुनसक्छ,’ लामिछाने भन्छन्, ‘कम्तिमा सन्देश दिनेगरी शुरुमा सार्वजनिक सूचना जारी गर्ने र विस्तारै अटेरी गरे हटाउदै लैजाने नीतिअनुसार प्रहरी खटाउनेछौं ।’
प्रहरी निरीक्षकको कमाण्डमा नगर प्रहरी सञ्चालन गर्ने कार्यविधिमा उल्लेख छ । तर नगर प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायब निरीक्षकमा आवेदन नपरेपछि बरिष्ठ हवल्दारको कमाण्डमा खटाउन लागिएको हो । आवेदन नपरेका पदहरुमा पुनः विज्ञापन गर्न लागिएको लामिछाने बताउँछन् ।
नगर प्रहरी परिचालनपछि नगरपालिकाले निर्माण गरेको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, सम्पतीको सुरक्षा र संरक्षण गर्ने, पार्क, नगर क्षेत्रमा हुने सभा, समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थान गर्नमा सहज हुने अपेक्षा नगर प्रमुख मोहनमाया ढकालको छ ।
बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन, सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने अधिकार नगर प्रहरीलाई हुनेछ ।
विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्दार, राहत तथा पुनस्र्थापना, अनधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड तथा छाडा पशु चौपाय र अनधिकृत निर्माण तथा सार्वजनिक सम्पति अतिक्रमण रोकथाम र नियन्त्रणमा नगर प्रहरी खटिनेछ ।
स्थानीय प्रशासनसँग समन्वय पनि गर्ने र नगर क्षेत्रमा हुने अन्य गतिविधिहरूलाइ रोक्न नगर प्रहरीको भूमिका महत्वपूर्ण हुने विश्वास नगर प्रमुख ढकालको छ । नगर प्रहरीको पारिश्रमिक र अन्य सुविधा नगरपालिकाले बनाएको कार्यविधि बमोजिम हुनेछन् ।
आन्तरिक साधन स्रोतको अधिकतम परिचालन गरेर आम्दानी बढेपछि प्रहरीको संख्या नगरपालिका थप्न सक्नेछ । शुरुमा अहिले २७ जना नगर प्रहरी राख्ने कार्यविधि बनाइएकाले आवश्यकताको आधारमा विस्तारै यो संख्या बढाउँदै लैजाने कार्यविधिमा उल्लेख छ ।

सुशील खड्का । १२ बैशाख २०८२, शुक्रबार १७:४१