सुर्खेत । कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले अब आफ्नै नगर प्रहरी राख्ने तयारी गरेको छ । नौ ओटा स्थानीय तह रहेको सुर्खेतमा पहिलो पटक वीरेन्द्रनगरले नगर प्रहरी राख्न लागेको हो ।
नगरपालिकाका दैनिक कामहरुलाई प्रभावकारी बनाउन र नगर क्षेत्रको रेखदेखका लागि संविधानले दिएको अधिकारअनुसार वीरेन्द्रनगरले नगर प्रहरी राख्न लागेको छ । नगर प्रहरी राख्न सकिने गरी कानून गत वर्षको पुस महिनामा बसेको १२ औं नगर सभाले पास गरेको थियो । बैठकले नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐन निर्माण गरेको छ ।


ऐनअनुसार नै नगरपालिकाले आफ्नै नगर प्रहरी राख्न लागेको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । ‘वीरेन्द्रनगरमा बढ्दो जनघनत्वले अव्यस्थित रुपमा पार्किङ गर्ने, फुटपाथ व्यवसाय गर्ने र बजार क्षेत्रमा अनुगमन गर्दा नगरपालिकाको टोलीले मात्रै सक्ने अवस्था देखिएन्,’ ढकालले भनिन्, ‘ऐन पास भइसकेकाले दरवन्दी स्वीकृत, भर्ना प्रक्रिया, सेवा अवधि र कहाँ कहाँ प्रयोग गर्ने भन्ने केही विषयमा टुंगो लगाउने अन्तिम चरणमा छौं । सबै सकेर साउनदेखि नै नगर प्रहरीका लागि भर्ना आह्वान गर्न लागेका छौं ।’
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पालिकालाई नगर प्रहरी गठन गर्ने अधिकार दिएको छ । ऐनको दफा ११ को उपदफा (२) क (१) ले दिएको अधिकार वीरेन्द्रनगरनले कार्यान्वनय गर्न लागेको छ ।
नगर प्रहरी राखेपछि नगरपालिकाले निर्माण गरेको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, सम्पतीको सुरक्षा र संरक्षण गर्ने, पार्क, नगर क्षेत्रमा हुने सभा, समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थान गर्नमा सहज हुने अपेक्षा नगर प्रमुख ढकालको छ ।

यस्तै, बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन, सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने अधिकार नगर प्रहरीलाई हुनेछ ।
विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्दार, राहत तथा पुनस्र्थापना, अनधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड तथा छाडा पशु चौपाय र अनधिकृत निर्माण तथा सार्वजनिक सम्पति अतिक्रमण रोकथाम र नियन्त्रणमा नगर प्रहरी खटाउने तयारी नगरपालिकको छ ।
स्थानीय प्रशासनसँग समन्वय पनि गर्ने र नगर क्षेत्रमा हुने अन्य गतिविधिहरूलाइ राेक्न नगर प्रहरीकाे भूमिका महत्वपूर्ण हुने विश्वास नगर प्रमुख ढकालकाे छ । नगर प्रहरीको पारिश्रमिक र अन्य सुविधा ऐन बमोजिम नै हुनेछन् ।
आन्तरिक साधन स्रोतको अधिकतम परिचालन गरेर आम्दानी बढेपछि प्रहरीको संख्या थप्ने तयारी नगरपालिकाको छ । शुरुमा अहिले २५ जना नगर प्रहरी राखिने नगरपालिकाको भनाई छ । आवश्यकताको आधारमा विस्तारै यो संख्या बढाउँदै लैजाने ऐनमा उल्लेख छ ।

सुशील खड्का । २५ असार २०८०, सोमबार १८:४७