सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आफ्नै प्रहरी राख्न भर्ना नै खुला गरेर अन्तिम प्रक्रियामा पुगेको छ । बढ्दो जनघनत्व, अव्यस्थित पार्किङ र अस्तव्यस्त फुटपाथका कारण बजारको सौन्दर्यता क्रुप बन्दै गएपछि नगरपालिकाले नगर प्रहरी राख्ने प्रक्रिया थालेको हो ।
चालु आर्थिक वर्षको साउनमै छनौट गरेर प्रहरी राख्ने तयारी गरिएको थियो । कार्यविधि निर्माणमा विलम्ब भएपछि मंसिरबाट मात्रै नगर प्रहरीको प्रक्रिया अघि बढाइएको हो । नगरपालिकाले सबै प्रक्रिया पूरा गरेर गत मंसिर २९ गते परीक्षा नै लगिसकेको छ ।


वीरेन्द्रनगरले राख्न लागेका नगर प्रहरीमा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षक (सई) एक-एक, प्रहरी सहायक निरीक्षक (असई) एक पुरुष र एक महिला, हवल्दार दुई पुरुष र एक महिला तथा सवारी चालक दुई जनासहित २० जना जवानका लागि आवेदन खुला गरेको थियो ।
यीमध्य नगर प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक र हवल्दार महिला पदमा आवेदन नै नपरेको वीरेन्द्रनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख टंक लामिछाने बताउँछन् ।
माथिल्ला र महिला हवल्दार पदमा उमेर हद ५० वर्ष राखेका कारण आवेदन नआएकाले कार्यविधि संशोधन गरेर उमेर हद ५५ वर्ष राख्ने तयारी गरिएको लामिछानेले जानकारी दिए ।
‘बाँकी हवल्दार पुरुष दुइ पदमा २६ र चालकसहित २० जना जवानमा ५० जना छनौट गरेर परीक्षा लगिसकेका छौं,’ लामिछाने भन्छन्, ‘पुस १५ गतेसम्म अन्तिम नतिजा प्रकाशन गरेर तालिममा पठाउँछौं ।’
नगर प्रहरी गठन कार्यविधिमा ३५ देखि ९० दिनसम्म तालिम लिनुपर्ने उल्लेख छ । कार्यविधि अनुसार कम्तिमा ३५ सम्म तालिम सञ्चालन गरेर नियुक्ती दिएर काममा खटाउने तयारीमा नगरपालिका रहेको लामिछानको भनाई छ ।

कम्तिमा फागुन अन्तिमसम्म लिखित परीक्षामा पास भएका बरिष्ठ हवल्दारको अंकका आधारमा उनैको नेतृत्वमा नगर प्रहरी परिचालन गरिने लामिछाने बताउँछन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगरपालिकालाई नगर प्रहरी गठन गर्ने अधिकार दिएको छ । ऐनको दफा ११ को उपदफा (२) क (१) ले दिएको अधिकार वीरेन्द्रनगरनले कार्यान्वनय गर्न लागेको छ ।
नगर प्रहरी राखेपछि नगरपालिकाले निर्माण गरेको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, सम्पतीको सुरक्षा र संरक्षण गर्ने, पार्क, नगर क्षेत्रमा हुने सभा, समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थान गर्नमा सहज हुने अपेक्षा नगर प्रमुख माेहनमाया ढकालको छ ।
बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन, सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने अधिकार नगर प्रहरीलाई हुनेछ ।
विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्दार, राहत तथा पुनस्र्थापना, अनधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड तथा छाडा पशु चौपाय र अनधिकृत निर्माण तथा सार्वजनिक सम्पति अतिक्रमण रोकथाम र नियन्त्रणमा नगर प्रहरी खटाइने छ ।
स्थानीय प्रशासनसँग समन्वय पनि गर्ने र नगर क्षेत्रमा हुने अन्य गतिविधिहरूलाइ राेक्न नगर प्रहरीकाे भूमिका महत्वपूर्ण हुने विश्वास नगर प्रमुख ढकालकाे छ । नगर प्रहरीको पारिश्रमिक र अन्य सुविधा नगरपालिकाले बनाएकाे कार्यविधि बमोजिम हुनेछन् ।
आन्तरिक साधन स्रोतको अधिकतम परिचालन गरेर आम्दानी बढेपछि प्रहरीको संख्या नगरपालिका थप्न सक्नेछ । शुरुमा अहिले २७ जना नगर प्रहरी राख्ने कार्यविधि बनाइएकाले आवश्यकताको आधारमा विस्तारै यो संख्या बढाउँदै लैजाने कार्यविधिमा उल्लेख छ ।

सुशील खड्का । ७ पुष २०८१, आईतवार १७:३८