
सुर्खेत । सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने सबैभन्दा छोटो सडक मार्ग चिसापानी–कुईने खण्डमा रुख कटानका लागि छपान भइरहेको छ । कैलालीको चिसापानीबाट सुर्खेतको सीमाना कुइने जोड्ने सडकको दायाँबायाँ पर्ने रुख कटान अघिको छपान द्रुतगतिमा भइरहेको हो ।


सडक डिभिजन महेन्द्रनगरले चिसापानी–कुइने सडक निर्माण गर्न २०७९ मै ठेक्का लगाएको सडक हो । तर सडक किनाराका रुख र पोलका कारण सडकले गति नलिएपछि बेलाबेला विरोध भएपछि बैशाख २ गते रुख कटानका लागि सम्झौता गरिएको थियो ।
याे पनि पढ्नुहाेस् : कैलाली–सुर्खेत–अछाम जोड्ने सडक : रुख कटानहुँदै एक वर्षमा कालाेपत्रे गर्ने लक्ष्य

‘रुख कटान अघि रुख छपान गर्नुपर्नेहुन्छ,’ वन निर्देशनालय धनगढीका निर्देशक हेमराज विष्टले भने, ‘रुख छपानलाई छिटो सक्न अहिले कर्मचारीहरुले धमाधम कटान गर्ने रुखमा नम्बरीङ्ग गरिराख्नु भएको छ ।’
वन पैदावर संकलन तथा विक्री वितरण निर्देशिका, २०७३ परिच्छेद ३ मा रुख कटान, मुछान, ढुवानी तथा घाटगद्दी सम्बन्धी व्यवस्था छ । प्रक्रियाअनुसार कटानका लागि सम्झौता भएका रुखलाई छपान गर्नुपर्ने भएकाले अहिले काट्नु पर्ने रुखहरुमा टाँचा लगाउने काम भइरहेको निर्देशक विष्टले नेपालकर्मलाई जानकारी दिए ।
चिसापानी–कुईने सडकको दुरी झण्डै १२ किलोमिटर छ । सडकमा पर्ने ४७२ रुख तथा पोलहरु हटाउन वन तथा भू–संरक्षण विभाग र सडक विभागको भू–वातावरण तथा सामाजिक शाखासँग सम्झौता गरिएको छ ।

सम्झौतामा १६ किलोमिटर भित्रका रुख तथा पोल हटाउने उल्लेख छ । मोहन्याल गाउँपालिकाको केन्द्र जोड्ने बाँकी सडक कुइनेदेखि सोल्टासम्मका रुख कटानका लागि सम्झौता भएको हो ।
याे पनि पढ्नुहाेस् : चिसापानी-बावियाचाैर-अछाम सडक : हिमालबाट तराइ जाेड्ने द्रुतमार्ग निर्माणमै बिलम्ब
‘सडक र किनारामा परेका ४७२ रुख तथा पोल हटाउने सम्झौतामा उल्लेख छ,’ विष्टले भने, ‘बिहीबारसम्म तीनसय रुख कटानका लागि टाँचा लगाउने काम सकिएको छ । बैशाख भित्रै रुख कटान सक्नेगरी डिभिजन वन कार्यालय पहलमानपुर कैलालीलाई निर्देशन दिएको छु ।’
कैलालीकै मोहन्याल गाउँपालिका र कर्णाली भित्रने सबैभन्दा छोटो दुरीको सडक चिसापानी–कुइने सडक हो । चिसापानी बजार क्षेत्रको दुई किलोमिटर सडक यसअघि नै कालोपत्रे गरिसकिएको छ ।
बाँकी सात किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले ठेक्का व्यवस्थापन गरिसकेको छ । कालोपत्रेका लागि १३ करोडको लागतमा दिव्य ज्योति शाही लम्कीले जिम्मा लिएको छ ।
बैशाख महिनाभित्र रुख कटानको काम सकेर बाँकी रहेको काम तिव्र गतिमा अगाडी बढाउने तयारी गरिरहेको दिव्य ज्योति शाही लम्कीका सञ्चालक देवेन्द्र शाही बताउँछन् । ‘रुखका कारण काम खासै गर्न सकेका थिएनौं,’ शाहीले भने, ‘रुख कटानपछि कामको रफ्तार बढ्छौं ।’

सुदूरपश्चिम प्रदेशबाट कर्णाली भित्रने र बाहिरिने सबैभन्दा छोटो सडक हो चिसापानी–बावियाचौर सडक । कैलाली र सुर्खेत जोड्न कुईनस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल निर्माणपछि सञ्चालनमा आइसकेका छन् ।
कर्णाली सरकारले कुइने–गल्फा, गल्फा–बावियाचौर सडक कालोपत्रे गर्नेगरी ठेक्का व्यवस्थापन गरिसकेको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले बावियाचौरदेखि कुईनेसम्म झण्डै १८ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ मै अनक जयदेवी सनलाइट जेभी र जलजला जेभीसँग दुई प्याकेजमा निर्माण सम्झौता गरेको हो ।
यो सडकका लागि झण्डै २५ करोड बजेट विनियोजन गरेको छ । बावियाचौर–भक्तडी–जंगलाघाटसडक वर्षौं पहिले ट्रर्याक खोलिएको हो । पञ्चपुरी नगरपालिकाले छाप्रेका नागरिकहरुलाई सहज आवजावतका लागि सडक अवरुद्ध भएको बेला खुलाएर सञ्चालनमा ल्याउने गरेको छ । यो सडक निर्माणमा प्रदेश र संघ सरकारले चासो दिएका छैनन् ।
सुदूरपश्चिम सरकारले कैलाली–सुर्खेत–अछामहुँदै बाजुराको बडिमालिका जोड्ने उदेश्यले अछाममा गौरवको आयोजनाको रुपमा काम गरिरहेको छ ।
सुदूरपश्चिम सरकारले अछाम खण्डको ५० किलोमिटर सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरेको छ । अछामको गैरीटार–कमलजबार, तुर्माखाँद–जंगलाघाट सडक निर्माण भइरहेको छ ।
गैरीटारदेखि कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाको सिमाना बासकाँडासम्म सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७९-०८० मै ठेक्का लगाएर हो ।
गैरीटार–बासकाँडासम्मको दुरी २३ किलोमिटर सडक ग्राभेल अन्तिम चरणमा छ । अछामकै बासकाँडा–तुर्माखाँद–जंगलाघाट २७ किलोमिटर सडक डवल कटिङ र ग्राभेल गर्ने भइरहेको छ ।
जंगलाघाटमा पक्की पुल निर्माणसँगै सुर्खेत खण्डमा छिटो काम हुने हो भने सिंगो अछामका नागरिक १२ घण्टा लगाएर धनगढी पुग्नुपर्ने अहिलेको बाध्यता अन्त्य हुनेछ । बावियाचौरबाट अछामका तुर्माखाँद, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका नागरिकहरु जोखिम मोलेर यात्रा गरिरहेका छन् ।
चिसापानी–कुइने बावियाचौर ३०, बावियाचौर–भक्तडी–जंगलाघाट १८, जंगलाघाट–तुर्माखाँद–कमलबजार–गैरीटार ५० र गैरीटार–मंगलसैन २१ किलोमिटर गरी चिसापानी–बावियाचौर–मंगलसैनसम्मको दुरी ११९ किलोमिटर छ ।
सडक निर्माणपछि कैलालीको अत्तरियाबाट डडेल्धुरा–डोटी–साफेबगर–मंगलसैन र अत्तरियार–कोहलपुर, सुर्खेत–दैलेख–मंगलसैन पुग्न झण्डै तीन सय किलोमिटर छोटो पर्छ ।
सुशील खड्का । ११ बैशाख २०८२, बिहीबार १५:०९