कैलाली–सुर्खेत–अछाम जोड्ने सडक : रुख कटानहुँदै एक वर्षमा कालाेपत्रे गर्ने लक्ष्य

सुर्खेत । कैलालीको चिसापानी–कुईने जोड्ने सडक अलपत्र पारेको भन्दै विभिन्न समयमा निर्माणको माग राख्दै आन्दोलनबाट दवाव दिने गरिन्छ । पछिल्लो पटक स्थानीय नेत्र भण्डारीले तत्काल रुख कटान दिन माग राख्दै कर्णाली नदीस्थित चिसापानी पुलमा अनसन बसेर आन्दोलन थालेका थिए ।



वर्षौं पहिले ट्र्याक खोलिएको चिसापानी–कुईन सडक निर्माणमा अपेक्षाकृत चासो नभएपछि स्थानीयहरु पटक–पटक आन्दोलनबाट निकाश निकाल्ने गरेका छन् ।

याे पनि पढ्नुहाेस् : चिसापानी-बावियाचाैर-अछाम सडक : हिमालबाट तराइ जाेड्ने द्रुतमार्ग निर्माणमै बिलम्ब

भण्डारीले पुलमा अनसन बसेको केही दिनमा रुख कटानको सम्झौता गरिएको हो । यो सडकमा पर्ने ४७२ रुख तथा पोलहरु हटाउन वन तथा भू–संरक्षण विभाग र सडक विभागको भू–वातावरण तथा सामाजिक शाखासँग सम्झौता गरिएको छ ।

सम्झौतामा १६ किलोमिटर भित्रका रुख तथा पोल हटाउने उल्लेख छ । तर चिसापानी–कुइने सडकको लम्बाई १२ किलोमिटर हो । चिसापानी बजार क्षेत्रको दुई किलोमिटर सडक यसअघि नै कालोपत्रे गरिएको थियो ।

बाँकी सात किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले २०७९ सालमा ठेक्का लगाइसकेको हो । सडक किनारामा रुख परेकाले अपेक्षाकृत निर्माणको काम गर्न नसकेको सडक डिभिजन कञ्चनपुरका प्रमुख सिनियर डिभिजनल ईन्जिनियर राजेशकुमार यादव बताउँछन् ।

‘रुख कटानका लागि सम्झौता भएको छ, अब निर्माणमा कुनै विलम्ब हुँदैन् । निर्माण व्यवसायीलाई साइटमा परिचालन गरिसकेका छौं,’ यादवले भने, ‘असारसम्म निर्माणका लागि म्याद थप गरिएको छ । यो वर्षात् अगाडी सम्पन्न नभए माघसम्म काम सक्नेगरी हामी लागेका छौं ।’

कालोपत्रेका लागि १३ करोडको लागतमा दिव्य ज्योति शाही लम्कीले जिम्मा पाएको सडक हो । बैशाख महिनाभित्र रुख कटानको काम सकेर बाँकी रहेको काम तिव्र गतिमा अगाडी बढाउने तयारी गरिरहेको दिव्य ज्योति शाही लम्कीका सञ्चालक देवेन्द्र शाही बताउँछन् ।

‘रुखका कारण काम खासै गर्न सकेका थिएनौं,’ शाहीले भने, ‘अहिले रुख नभएको क्षेत्रमा नाली निर्माण र कटानको काम गरिरहेका छौं । वर्षात् अगाडी सकेसम्म कटिङको काम सक्ने तयारी छ ।’

सात किलाेमिटर सडक ८ देखि १० किलाेमिटर डवल कटिङ र पाँच मिटर कालाेपत्रे गरिनेछ । सुदूरपश्चिम प्रदेशबाट कर्णाली भित्रने र बाहिरिने सबैभन्दा छोटो सडक हो चिसापानी–बावियाचौर सडक ।

कैलाली र सुर्खेत जोड्न कुईनस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल निर्माणपछि सञ्चालनमा आइसकेका छन् । कर्णाली सरकारले कुइने–गल्फा, गल्फा–बावियाचौर सडक कालोपत्रे गर्नेगरी ठेक्का व्यवस्थापन गरिसकेको छ ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतले बावियाचौरदेखि कुईनेसम्म झण्डै १८ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ मै अनक जयदेवी सनलाइट जेभी र जलजला जेभीसँग दुई प्याकेजमा निर्माण सम्झौता गरेको हो ।

यो सडकका लागि झण्डै २५ करोड बजेट विनियोजन गरेको छ । बावियाचौर–भक्तडी–जंगलाघाटसडक वर्षौं पहिले ट्र्याक खोलिएको हो । पञ्चपुरी नगरपालिकाले छाप्रेका नागरिकहरुलाई सहज आवजावतका लागि सडक अवरुद्ध भएको बेला खुलाएर सञ्चालनमा ल्याउने गरेको छ । यो सडक निर्माणमा प्रदेश र संघ सरकारले चासो दिएका छैनन् ।

सुदूरपश्चिम सरकारले कैलाली–सुर्खेत–अछामहुँदै बाजुराको बडिमालिका जोड्ने उदेश्यले अछाममा गौरवको आयोजनाको रुपमा काम गरिरहेको छ ।

सुदूरपश्चिम सरकारले अछाम खण्डको ५० किलोमिटर सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरेको छ । अछामको गैरीटार–कमलजबार, तुर्माखाँद–जंगलाघाट सडक निर्माण भइरहेको छ ।

गैरीटारदेखि कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाको सिमाना बासकाँडासम्म सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७९÷०८० मै ठेक्का लगाएर हो । गैरीटार–बासकाँडासम्मको दुरी २३ किलोमिटर सडक ग्राभेल अन्तिम चरणमा छ । अछामकै बासकाँडा–तुर्माखाँद–जंगलाघाट २७ किलोमिटर सडक डवल कटिङ र ग्राभेल गर्ने भइरहेको छ ।

जंगलाघाटमा पक्की पुल निर्माणसँगै सुर्खेत खण्डमा छिटो काम हुने हो भने सिंगो अछामका नागरिक १२ घण्टा लगाएर धनगढी पुग्नुपर्ने अहिलेको बाध्यता अन्त्य हुनेछ । बावियाचौरबाट अछामका तुर्माखाँद, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका नागरिकहरु जोखिम मोलेर यात्रा गरिरहेका छन् ।

चिसापानी–कुइने बावियाचौर ३०, बावियाचौर–भक्तडी–जंगलाघाट १८, जंगलाघाट–तुर्माखाँद–कमलबजार–गैरीटार ५० र गैरीटार–मंगलसैन २१ किलोमिटर गरी चिसापानी–बावियाचौर–मंगलसैनसम्मको दुरी ११९ किलोमिटर छ ।

सडक निर्माणपछि कैलालीको अत्तरियाबाट डडेल्धुरा–डोटी–साफेबगर–मंगलसैन र अत्तरियार–कोहलपुर, सुर्खेत–दैलेख–मंगलसैन पुग्न झण्डै तीन सय किलोमिटर छोटो पर्छ ।

जंगलाघाटस्थित कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि पुल सेक्टर सुर्खेतले ठेक्का व्यवस्थापन गरेर काम जारी राखेको छ । १६ करोड ५८ लाख ६४ हजार लागत रहेको पुल निर्माणको जिम्मा लामा कन्ट्रक्शन प्रा.लि. काठमाडौंले जिम्मा लिएको छ । यो पुल २०८३ कार्तिकसम्ममा सक्ने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया