चिसापानी-बावियाचाैर-अछाम सडक : हिमालबाट तराइ जाेड्ने द्रुतमार्ग निर्माणमै बिलम्ब

सुर्खेत । कैलालीमा पर्ने चिसापानी कुनै बेला सुनदेखि नुनसम्म किन्न जाने बजार हो । ६० को दशकसम्म साविक कर्णाली र भेरी तथा सेती अञ्चलका अधिकाँश नागरिकहरु गाउँमा उत्पादित वस्तुको विक्रीदेखि आवश्यक सामान खरिद गर्न पैदलै हिडेर त्यहीँ चिसापानी पुग्थे ।



सडक निर्माणको गति पहाड र हिमालसम्मै पुगेपछि कुनै बेलाको चर्चित चिसापानी बजारको अस्तित्व धरापमा छ । पैदल मार्च गर्ने गोरेटो बाटोमा अचेल गाडी गुड्ने सडक बनेको छ । चिसापानी भएरै राजापुरसम्म आवश्यक सामग्री लिन जानेहरुलाई घर आँगनमै सामान गाडीले पु¥याइदिने सुविधा दिइरहेका छन् ।

सुदूरपश्चिमबाट कर्णाली र कर्णालीबाट सुदूरपश्चिम जाने छोटो मार्ग हो बड्डीचौर–बावियाचौर–कुइने–चिसापानी सडक । सुदूपश्चिमकै अछाम, बाजुराबाट तराई पुग्न होस् वा पहाड पुग्ने छोटो मार्गपनि यहीँ हो ।

चिसापानी–जंगलघाट–मंगलसेन सडकको शुरुवात अछामका पञ्चायतकालीन नेता स्व. हरीप्रसाद भण्डारीले गरेका हुन् । उनले २०२४ सालमै यहीँ सडकबाट जीप अछाम सदरमुकाम मंगलसेन पु¥याएको आलेखहरु भेटिन्छन् ।

चिसापानीबाट कैलालीकै कुइनेसम्म १२ किलोमिटर सडक हो । चिसापानी क्षेत्रको दुई किलोमिटर सडक कालोपत्रे छ । बाँकी पाँच किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले ठेक्का लगाइसकेको हो । तर सडक किनारामा रुख परेकाले अपेक्षाकृत निर्माणको काम गर्न नसकेको सडक डिभिजन कञ्चनपुरका प्रमुख सिनियर डिभिजनल ईन्जिनियर राजेशकुमार यादव बताउँछन् ।

‘कालोपत्रेका लागि झण्डै १२ करोडको ठेक्का लागेको सडक हो,’ यादव भन्छन्, ‘रुख कटानका लागि गर्नुपर्ने प्रक्रिया पूरा गरेर क्षतीपूर्ती वापतको रकम अर्थ मन्त्रालयले निकाशा नगरेपछि ढिलाई भइरहेको छ ।’

संघ, प्रदेश र स्थानीय सरकारले चिसापानी–बावियाचौर, जंगलाघाट–बडिमालिका जोड्ने छोटो मार्ग निर्माणमा विलम्ब गर्दा स्थानीयहरुले बेला बेला सडक मर्मत जस्ता अभियान चलाएर दवाव दिने गरेका छन् ।

आगामी चैतसम्म ठेक्का अवधि रहेकाले पुस महिनामा रुख काटे वापतको क्षतीपूर्ती रकम अर्थले निकाशा गरिदिए वन मन्त्रालयलाई बुझाएर निर्माणलाई गति दिनेगरी पहल भइरहेको डिभिजन प्रमुख यादवले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशबाट कर्णाली भित्रने र बाहिरिने सबैभन्दा छोटो सडक हो चिसापानी–बावियाचौर सडक । कुईनस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल निर्माणपछि सञ्चालनमा आएपछि त्रिदेशीय जोड्ने सडक छिटो निर्माण गर्न सरकारलाई दवाव बढेको हो ।

यहीँ सडक भएर कर्णालीका सुर्खेतसहित दैलेख, कालिकोट, जुम्ला, हुम्लाका नागरिकलाई सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जान र फर्किन छोटो हुन्छ । कर्णाली राजमार्गको जमुनाह–हिल्सा त्रिदेशीय सडक जोडिएसँगै बड्डीचौर–खम्बगाडे वावियाचौर सडक निर्माणाधिन अवस्थामा छ ।

बावियाचौर–जंगलघाट सडक अझै स्तरोन्नति नभए तत्कालका लागि बड्डीचौरबाट कर्णाली राजमार्ग भएर यात्रा गर्न सहज हुनेछ । चिसापानीबाट बड्डीचौरसम्मको दुरी ४८ किलोमिटर छ । हिउँदको समयमा कैलालीबाट अछाम जाने सवारीहरु चिसापानीबाट सुर्खेत–दैलेख भएर अछामको कमलबजार र मंगलसैन पुग्ने गरेका छन् ।

अन्य समयमा चिसापानी–कोहलपुर सुर्खेत भएर बाहिरिने गर्छन् । वर्षात्मा निकै सास्ती दिने चिसापानी बावियाचौर सडक बाह्रैमास सञ्चालनका लागि चुनौती छ । अहिले कैलालीबाट दैलेख, कालिकोट, जुम्ला, बाजुरा, हुम्ला मुगु लगायतका जिल्लामा पुग्न झण्डै दुई सय किलोमिटर दुरी तय गर्नुपर्ने बाध्यता छ ।

हाल नागरिकहरु कैलालीको चिसापानीबाट कोहलपुर–सुर्खेतहुँदै बाहिरिनु र भित्रनु पर्छ । कैलालीबाट अछाम पुग्न मात्रै चिसापानी–कोहलपुर ७७, कोहलपुर–वीरेन्द्रनगर ९०र वीरेन्द्रनगर–बेलखेतहुँदै मंगलसेन अछाम १५९ किलोमिटर गरी ३२६ किलोमिटर दुरी तय गर्नुपर्ने अवस्थामा छ ।

अछाममा धमाधम काम, सुर्खेतमा सुस्त
सुदूरपश्चिम सरकारले अछाम खण्डको ५० किलोमिटर सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरेको छ । अछामको गैरीटार–कमलजबार, तुर्माखाँद–जंगलाघाट सडक निर्माण तिव्र गतिमा भइरहेको छ ।

गैरीटारदेखि कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाको सिमाना बासकाँडासम्म सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७९÷०८० मै ठेक्का लगाएर काम जारी रहेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्रबहादुर बोगटीले जानकारी दिए ।

‘गैरीटार–बासकाँडासम्मको दुरी २३ किलोमिटर सडक ग्राभेल अन्तिम चरणमा रहेकाले फागुनबाट कालोपत्रे गरेरसक्ने लक्ष्य छ,’ प्रमुख बोगटीले भने, ‘बासकाँडा–तुर्माखाँद–जंगलाघाट २७ किलोमिटर सडक डवल कटिङ र ग्राभेल गर्ने काम भइरहेको छ ।’

अछाम खण्डमा सडक निर्माणका लागि कुनै विलम्ब नभएको र सन्तोषजन काम भइरहेको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विसी बताउँछन् ।

जंगलाघाटमा पक्की पुल निर्माणसँगै सुर्खेत खण्डमा छिटो काम हुने हो भने सिंगो अछामका नागरिक १२ घण्टा लगाएर धनगढी पुग्नुपर्ने अहिलेको बाध्यता यो सडकले अन्त्य गर्ने विसीको भनाई छ । बावियाचौरबाट अछामका तुर्माखाँद, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका नागरिकहरु जोखिम मोलेर यात्रा गरिरहेका छन् ।

बावियाचौरबाट अछामको तुर्माखाँद भएर सदरमुकाम मंगलसैन पुग्ने सडक सञ्चालनमा छ । कच्ची सडक भएर बावियाचौरबाट कर्णाली नदीको किनाराको बजार जंगलाघाट पुग्न सकिन्छ ।

जंगलाघाटमा कर्णाली नदीमाथि पक्की पुल नहुँदा झोलुंगे पुल तरेर अर्को सवारीबाट अछामको तुर्माखाँद, कमलबजार भएर मध्यपहाडी राजमार्गको गैरीटार पुग्नुपर्छ । गैरीटारदेखि अछाम सदरमुकाम पुग्न मध्यपहाडी राजमार्ग यसअघि नै कालोपत्रे गरिसकिएको छ ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतले बावियाचौरदेखि कुईनेसम्म झण्डै १८ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ मै अनक जयदेवी सनलाइट जेभी र बाँकी जलजला जेभीसँग निर्माण सम्झौता गरेको हो ।

झण्डै २५ करोड लागतमा निर्माण भइरहेका सडक ठेकेदारले सन्तोषजनक काम नगरेको निर्देशनालयले जनाएको छ । बावियाचौर–भक्तडी–जंगलाघाटसडक वर्षौं पहिले ट्«्याक खोलिएको हो ।

पञ्चपुरी नगरपालिकाले छाप्रेका नागरिकहरुलाई सहज आवजावतका लागि सडक अवरुद्ध भएको बेला खुलाएर सञ्चालनमा ल्याउने गरेको छ । यो सडक निर्माणमा प्रदेश र संघ सरकारले चासो दिएका छैनन् ।

चिसापानी–कुइने बावियाचौर ३०, बावियाचौर–भक्तडी–जंगलाघाट १८, जंगलाघाट–तुर्माखाँद–कमलबजार–गैरीटार ५० र गैरीटार–मंगलसैन २१ किलोमिटर गरी चिसापानी–बावियाचौर, जंगलाघाट–मंगलसैनसम्मको दुरी ११९ किलोमिटर छ ।

यो सडक निर्माण भएमा कैलालीको अत्तरियाबाट डडेल्धुरा–डोटी–साफेबगर–मंगलसैन र अत्तरियार–कोहलपुर, सुर्खेत–दैलेख–मंगलसैन पुग्न झण्डै तीन सय किलोमिटर छोटो पर्छ ।

जंगलाघाटमा बन्दैछ पक्की पुल
सुर्खेत र अछामलाई जोडन जंगलाघाटमा पक्की पुल निर्माण गर्न लागिएको छ । पञ्चपुरी नगरपालिका सुर्खेत र तुर्माखाँद गाउँपालिकाको सीमानामा पर्ने जंगलाघाटको कर्णाली नदीमा पक्की पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माणका लागि ८ साउन २०७८ मै सम्झौता गरिएको हो । तर पुलको डिजाइन र निर्माण दुवै निर्माण व्यवसायीले गर्नेगरी सम्झौता गरेकाले निर्माण थालनीमा थोरै विलम्ब भएको पुल सेक्टर कार्यालय सुर्खेतका ईन्जिनियर देवेन्द्र भट्टराईले जानकारी दिए ।

‘३६ महिनामा पुल निर्माण गरिसक्नुपर्ने हो,’ भट्टराई भन्छन्, ‘पुल निर्माणका लागि आवश्यक ठूला मेशीनरी सामग्री ढुवानी गर्न सुर्खेततर्फको सडक साँघुरो भएकाले म्याद थपिएको छ ।’ १० कार्तिक २०८३ सम्ममा कर्णाली नदीमा पुक्की पुल निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ ।

१६ करोड ५८ लाख ६४ हजार लागत रहेको पुल निर्माणको जिम्मा लामा कन्ट्रक्शन प्रा.लि. काठमाडौंले जिम्मा लिएको छ । निर्माण व्यवसायीले पञ्चपुरी नगरपालिकालाई मेशीन ढुवानी गर्दा मोड साँघुरो भएकाले फराकिलो बनाइदिन अनुरोध गरेको छ ।

दोबाटोबाट छाप्रेहुँदै जंगलाघाट पुक्ने अधिकाँश मोड साँघुरा रहेको र कटिङ गर्न बजेटको खोजी गरिरहेको पञ्चपुरी नगरपालिकाका प्रमुख लालबहादुर भण्डारी बताउँछन् ।

‘निर्माण व्यवसायीले भनेपछि स्थलगत अनुगमन गरेर फर्किएको छु । कम्तिमा ६० लाख बजेट भयो भने मोडहरु सुधार्न सकिने अवस्था छ,’ भण्डारी भन्छन्, ‘प्रदेश सरकारसँग आवश्यक बजेटका लागि पहल गरिरहेको छु ।’

‘संघलाई नै दवाव दिनुपर्ने अवस्था आयो’

कमलबहादुर शाह, मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश

चिसापानीबाट कैलालीकै मोहन्याल गाउँपालिकाका नागरिकहरु यहीँ सडकसँग आश्रित छ । त्यति मात्रै हैन्, कैलालीबाट सुर्खेतहुँदै जंगलाघाटबाट अछाम र बाजुरा पुग्ने छोटो सडक मार्ग पनि हो ।

सुदूरपश्चिममै पर्ने बडिमालिका पुग्ने तिर्थाटन मार्ग बनाउने योजना हो । अछाम खण्डमा सरकारले उच्च प्राथमिकतामा राखेर प्रदेश गौरवको आयोजनाको रुपमा काम गरिरहेका छौं । सडकलाई दिगो र भरपर्दो बनाउन प्रदेश सरकार चुकेको छैन् ।

संघ सरकार मातहत रहेको सडक डिभिजनले चिसापानी कुइने सडक कालोपत्रे गर्ने भनेर ठेक्का आह्वान भइसकेको सडक हो । रुख कटानको अनुमति पाइसक्यो । तर क्षतीपूर्ती वापतको रकम अर्थ मन्त्रालयले निकाशा नगरिदिँदा समस्या भएको हो ।

कुइनेदेखि माथि मोहन्याल गाउँपालिका केन्द्रसम्म पुग्ने सडकलाई सुधार गर्न प्रदेशले पुल निर्माणसहित थप काम गर्न यो वर्ष बजेट विनियोजन गरेर कार्यान्वयनमा गएको छ ।

मुख्य प्रवेश विन्दु चिसापानी कुइनेको समस्या समाधान गर्न प्रदेश सरकारले गम्भीरताका साथ केन्द्र सरकारलाई दवाव दिइरहेको छ । पटक–पटक यो त्रिदेशीय जोड्ने सडक निर्माणमा चासो दिनुप¥यो भनेर पहल गरिरहेको छु ।

समस्या जहाँको त्यहीँ रहेपछि अब एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीसम्मै कुरा राख्ने तयारीमा छु । वन र भौतिक मन्त्री समक्ष एक पटक सडक निर्माणको क्रममा देखिएको समस्या टुंग्याउन दवाव दिनेगरी लागिरहेको छु ।

तपाईको प्रतिक्रिया