विनोद गिरीमाथि गोली प्रहार गर्ने मुख्य सुटरसहित चारै जना कारागार चलान

सुर्खेत । नेपाली काँग्रेस निकट तरूण दल सुर्खेतका सदस्य एवम् निर्माण व्यवसायी विनाेद गिरीमाथि गाेली प्रहार गर्ने सुटरसहित चार जना कारागार चलान भएका छन् । थुनछेक बहसपछि अदालतले पुर्पक्षको लागि थुनामा राख्न न्यायाधीस मनाेज श्रेष्ठले आदेश दिनुभएकाे सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले नेपालकर्मलाइ जानकारी दिए ।



पूर्पक्षका लागि कारागार चलान हुनेमा भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी छन् । रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् ।

वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ गोली हानिएको थियो । भे ५ प ६०६१ नम्बरको मोटरसाइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए ।  प्रहरीले सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र हातहतियार खरखजानाकाे मुद्दा अदालतमा दर्ता गरेकाे थियाे ।

गिरीसहित उनका आफन्तहरुले सुर्खेत जिल्ला अदालत अगाडी मुख्य योजनाकार पक्राउ गर्नुपर्ने र न्यायको माग गर्दै प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया