वीरेन्द्रनगरमा गोली काण्ड : मुख्य योजनाकार पक्राउको माग राख्दै प्रदर्शन

सुर्खेत । वीरेन्द्रनगरको गैरीगाउँ टोल नजिकै तरुण दल सुर्खेतका जिल्ला सदस्य विनोद गिरीलाई गोली प्रहारका मुख्य योजनाकार पक्राउ गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ । गिरीसहित उनका आफन्तहरुले सुर्खेत जिल्ला अदालत अगाडी मुख्य योजनाकार पक्राउ गर्नुपर्ने र न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् ।

निर्दोष नफसोस् दोषी नउम्कियोस्, गोली हानी ज्यानै लिने संगठित अपराधीहरुको जालोसम्म कहिले पुग्छ प्रहरी र पीडितले सुरक्षित महसुस हुन अझै कति कुर्नु पर्ने जस्ता प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् । अदातलमा गिरीमाथि गोली हान्न प्रयास गर्नेहरुको थुनछेक बहस जारी रहेको बेला आफन्तहरुले दवावमुलक प्रदर्शन गरेका हुन्।

गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको थियो । प्रहरीले पत्रकार सम्मेलनमा घटनाका मुख्य योजनाकारबारे जानकारी रहेको तर तत्काल परिचय खुलाउँदा गोपनीयता भङ्ग हुने भन्दै उनलाई मुख्य शङ्कित व्यक्ति मात्र भनेका थियो । तर, घटना घटेको दुई महिना पुग्न लाग्दासमेत प्रहरीले मुख्य योजनाकार भनिएका व्यक्तिलाई पक्राउ गरेको छैन ।

वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ गोली हानिएको थियो । भे ५ प ६०६१ नम्बरको मोटरसाइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए । प्रहरीले फागुन १३ गते हत्या प्रयासको घटनामा जोडिएको दाबी गर्दै एक जना भारतीय सुटरसहित चार जनालाई सार्वजनिक गरेको थियो ।

प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् ।

तपाईको प्रतिक्रिया