सुर्खेत । हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा सडकमा सञ्चालन गर्नेगरी लगिएको बसलाई भव्य स्वागत गरिएको छ । हुम्लाका व्यवसायी विजय लामाले पहिलो पटक सिमकोटका लागि लगेका बसलाई नेपाल–चीन सीमाना हिल्सामा स्थानीयले स्वागत गरेका हुन् ।


राष्ट्रिय सडक सञ्जाल नजोडिँदा व्यवसायी लामाले रसुवाको केरुङबाट तिब्बतको बाटोहुँदै बस सोमबार नेपाल–चीन सीमा नाका हिल्सा पु¥याएका छन् । चीनको बाटोमा नेपाली नम्बर प्लेटका गाडीहरु गुडाउन नमिल्ने भएकाले चिनियाँ ट्रकमा लोड गरेर पठाएका दुबै बस एक दिन ढिलागरी नेपालीभूमी हिल्सामा पुगेको सञ्चालक लामाले नेपालकर्मलाई जानकारी दिए ।
पहिलो पटक बस हिल्सा पुगेपछि स्थानीयले लामा संस्कारअनुसार मदिरा र खादाले भव्य स्वागत गरेका छन् । कुनै नयाँ कार्य गर्दा लामा समुदायमा यसरी स्वागत गरेर उत्साह मनाउने प्रचलन छ ।
‘एउटा बस त आइतरबार नै हिल्सा पुगेको थियो तर अर्को बस लोड गरिएको ट्रक चीनको ताक्लाकोटमा साँझ परेपछि त्यहीँ रोकिँदा भोलिपल्ट अर्थात् सोमबार मात्रै हिल्सा पुगेको हो,’ लामाले भने, ‘हुम्ली नागरिकहरुलाई सहज रुपमा बस सेवा प्रदान गर्नेगरी पु¥याएकाले एक-दुई दिनमा सेवा आरम्भ गर्ने तयारीमा छु ।’

व्यवसायी लामाकाअनुसार आफू काठमाडौं रहेकाले बुधबार हुम्ला जाने र हिल्सा पुगेपछि बस सेवा सञ्चालन गर्ने तयारी छ । बस चलाउने एक जना चालक हिल्सा पुगिसकेका छन् भने अर्का चालक नेपालगञ्जमै रहेकाले आफैसँग लिएर रक्षाबन्धन लगत्तै सिमकोट–हिल्सा–सिमकोट सडकमा बस सञ्चालन गरिने लामाको भनाई छ ।
सिमकोट–हिल्सा सडक यसअघि नै सञ्चालनमा आइसकेको सडकको हो । यो सडकमा हाल बोलेरो जीपहरु सञ्चालनमा छन् । जीपहरुले सिमकोट–हिल्सा जाने प्रति यात्रुहरुबाट पाँच हजार भाडा लिने गरेका छन् । हुम्लामा डिजेल अहिले पनि हवाई जहाजबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेकाले भाडा समायोजनमा सबै पक्षसँग छलफल गरेर कायम गर्ने योजना रहेको लामा बताउँछन् ।
सिमकोट–हिल्सा सडकको दुरी करिव ९० किलोमिटर रहेको छ । बस सञ्चालन भएपछि सिमकोटबाट हिल्सा तथा नाम्खा गाउँपालिकाका वडा नम्बर १ देखि ५ नम्बर वडाका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।
हिल्सा नाका सञ्चालनमा आएसँगै बस सेवा शुरुहुँदा ठूलो संख्यामा रोजगारीका लागि चीनको ताक्लाकोट जाने नेपालीहरुको संख्या अधिक रहेकाले आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल कर्म । १२ भाद्र २०८०, मंगलवार १८:३४