चिनियाँ ट्रक चढेर हुम्ला सदरमुकाम सिमकोट पुग्दै बस

सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोट अझै पनि राष्ट्रिय राजमार्गले छोएको छैन् । कर्णाली करिडोरको कालिकोटको खुलालु–सिमकोट खण्डको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सिमानामा पर्ने थारे क्षेत्रमा कडा चट्टानका कारण समयमै काम नहुँदा सिमकोट राष्ट्रिय राजमार्गसँग जोडिन सकेको छैन् । तर सिमकोटमा भने सार्वजनिक सवारीहरु सञ्चालनरत छन् ।



रसुवाकाे केरूङमा हिल्सा नाकासम्म लैजान चिनियाँ ट्रकमा लाेड गरिएका बस ।

ट्याक्टर र जीपहरु सिमकोट–हिल्सा खण्डमा यसअघिदेखि नै चलिरहेका छन् । तर यहाँका नागरिकहरुले महंगो भाडा तिरेर गन्तव्य पुग्नुपर्ने बाध्यता छ । नागरिकहरुको मागको आधारमा हुम्लाका व्यवसायी विजय लामाले पहिलो पटक सदुरमुकाम सिमकोटमा सार्वजनिक बस पु¥याउन लागेका छन् ।

मुख्यगरी सिमकोट–हिल्सा सडक बसहरु सञ्चालन गर्ने उदेश्यले लामाले बस हुम्ला पु¥याउन लागेका छन् । ‘स्थानीय जीपहरुले प्रतिव्यक्ति यो रुटमा पाँच हजार भाडा लिन्छन्, यात्रा नि धेरै महंगो छ,’ लामाले नेपालकर्मसँग भने, ‘नागरिकहरुले बस सेवा सञ्चालन गर्न सुझाव दिएका कारण अहिले दुई ओटा बस हुम्ला पुग्दैछन् ।’

कर्णाली करिडोर निर्माणकै चरणमा रहेकाले लामाले दुई ओटा बस रसुवाको केरुङ नाकाबाट चीनको बाटोहुँदै हिल्सा प¥याउन लागेका हुन् । ‘भन्सार र ढुवानीका सबै प्रक्रिया सकेर शुक्रबार बस चीनको बाटोबाट हुम्लाका लागि गइसकेका छन्,’ लामाले भने, ‘आइतबार साँझसम्म बस चीन र नेपालको सीमाना हिल्सा नाकामा पुग्नेछन् ।’ बस हिल्सा पुग्न तीन दिन र हिल्साबाट सदरमुकाम सिमकोट पुग्न ६ घण्टा लाग्छ ।

२५ सिट क्षमताका दुई बसको लागत करिव एक करोड रहेको सञ्चालक लामा बताउँछन् । बसको बडी सुर्खेतमा तयार गरिएको हो । हुम्ला लगिएका बस सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रा.लि.मा आवद्ध गराइएको छ ।

सिमकाेट बस लैजाने व्यवसायी विजय लामा ।

केरुङबाट चीनको सडकहुँदै हिल्सासम्म बस पु¥याउन चिनियाँ ट्रकले सात लाख रुपैयाँ भाडा लगेको लामाले बताए । ‘चीनको सडकमा बस गुडाएर लैजान नमिल्ने भएकाले ट्रकमा लोड गरेर बस पठाएको हो,’ लामाले भने, ‘चिनियाँ सडकमा नेपाली नम्बर प्लेटका गाडी गुडाउने अनुमति नहुँदा केरूङदेखि हिल्सासम्म ट्रकमा पठाइएको हो ।’

दुवै बस सिमकोटमा पुगेपछि सोमबारदेखि सिमकोट हिल्सा सडकमा गाडी सञ्चालन ल्याउने तयारीमा लामा छन् । सिमकोटदेखि हिल्सासम्मको सडक दुरी करिव ९० किलोमिटर छ । बसमार्फत सेवा दिँदा भाडादर सस्तो बनाउने लामाले बताए । हिल्सा नाकामा बस लिन सवारी चालक त्यसतर्फ गइसकेका छन् ।

हाल हुम्लामा हिल्सा–सिमकोट, सिमकोट भित्र, सर्केगाड–चँखेली–गमगढी र सलिसल्ला–अदानचुँली–कोल्टी–खुलालु खण्डमा गाडीहरु सञ्चालनरत छन् । कर्णाली करिडोरको खुलालु–सिमकोट सडकको दुरी १९६ किलोमिटर छ ।

०५६ सालमा शिलान्यास गरिएको कर्णाली करिडोरको ०७१ चैत ९ गते नेपाली सेनालाई जिम्मा दिइएको हो । यो सडक ४० किलोमिटर कालिकोट, ४४ किलोमिटर बाजुरा खण्ड र एक सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ ।

थारे भिरको आठ किलोमिटर सडक मध्य ४.५ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य निकै जटिल मानिएको छ । अब बाँकी रहेको करिब तीन किलोमिटर सडक निर्माण नेपाली सेनाले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया