वीरेन्द्रनगरमा मृत भेटिएका भण्डारी दैलेख छुवालाका

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुल नजिकै मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । रत्न राजमार्गको फोरलेन सडक खण्डमा पर्ने ढोडेखाली खोलाको पुलमुनी घोप्टो परेको अवस्थामा शव फेला परेको उनी दैलेखका रहेको प्रहरीले जनाएको हो ।




उनी दैलेखको दुल्लु नगरपालिका–१० छुवालका करिव ४१ वर्षीय लालबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । वीरेन्द्रनगर नगरपालिका १ मा कोठा भाडामा बस्दै आएका उनी गएरातीदेखि वेपत्ता भएको पारिवारले जनाएको छ ।

कपडा व्यवसाय गर्ने भण्डारी गएराती कोठा जाने क्रममा ढोडेखाली खोलामा आएको बाढीले बगाएको हुनसक्ने जानकारी परिवारले प्रहरीलाई दिएका छन् । परिवारले विहानैबाट खोजे उनको कुनै पत्तो लागेको थिएन् ।

शव भेटिएको जानकारी पछि परिवारले उनको पहिचान गरेपछि प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

उनको शव वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने ढोडेखाली खोलाको पुलमुनी भेटिएको हो । बाढीले बगाएर ल्याएकाे हुनसक्ने अनुमान प्रहरीकाे छ । पुलमुनी बालुवामा घोप्टो परेको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मृत भेटिएका भण्डारीको खुट्टामा जुत्ता लगाएपनि शरिर नाङ्गै अवस्थामा रहेको थियो ।

तपाईको प्रतिक्रिया