सुर्खेत । आन्तरिक विवादका कारण अलग भएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.लाई सुर्खेत संयुक्त यातायात सेवामा आवद्ध गराइएको छ । काँक्रेविहार यातायात प्रा.लि.बाट एउटा रात्रीकालिन बस सुर्खेत काँक्रेविहारमा आवद्ध भएर क्यू लिएपछि देखिएको विवाद बुधबारबाट समाधान भएको हो ।
याे पनि पढ्नुहाेस् : सुर्खेतमा नौ यातायात व्यवसायी एकहुँदा, कर्नरमा किन परे रमेश सापकोटा ?

संयुक्त यातायात व्यवसायीहरुविच भएको छलफलमा सुर्खेत काँक्रेविहारमा आवद्ध भएका काँक्रेविहार यातायात प्रा.लि.का १४ सार्वजनिक यातायातलाई यथावत राख्न सबै प्रा.लि. सहमत देखिएपछि विवाद साम्य भएको छ । साथै, रात्रीकालिन एउटा बस सुर्खेत काँक्रेविहारमा आवद्ध भएको विषयमा बिहीबार पुनः १० वटै प्रा.लि.का अध्यक्ष र सचिव स्तरिय बैठकबाट टुंग्याउने सहमति भएको छ ।

यसअघि संयुक्तको छाताबाट जसरी गाडीहरु छुटाउने गरिएको थियो सोहीअनुसार नै सवारी छुटाउने निर्णय भएको देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले नेपालकर्मलाई जानकारी दिए । ‘बाहिर आएसरी ठूलो विवाद त हैन्, केही त्रुटीगत समस्या छलफलबाटै टुंग्याउने यसअघि पनि नौ ओटा प्रा.लि.विच कुरा भएको थियो,’ सुर्खेत–काठमाडौं रुट इन्चार्ज रहेका खड्काले भने, ‘अस्वस्थ प्रतिस्पर्धामा व्यवसायी धरासायी बनिरहेको बेला ढिलै भएपनि सहमतिबाट सुर्खेत काँक्रेविहारलाई संयुक्तकै छातामूनी ल्याउन सफल भएका छौं ।’

यता, सुर्खेत काँक्रेविहार प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले केही दिन यता देखिएको विवाद समाधान भएको बताए । बिहीबारदेखि समानुपाति क्यूअनुसार नै सवारीहरु छुटाइने सापकोटा बताउँछन् । ‘एउटा बस मेरो समितिमा आवद्ध भएर काठमाडौं क्यू लिएपछि विवाद देखिएको थियो, जुन विषयमा अध्यक्ष र सचिव स्तरिय बैठकबाट सहमतिमा पु¥याउने गरी छलफल भएको छ,’ सापकोटाले भने, ‘व्यवसायी हितका लागि आफू कहिल्यै बाधक नबनेकाले विचमा थोरै त्रुटी देखिएको थियो । अन्ततः ति विवादहरु साम्य भएका छन् ।’
कोरोना महामारीका कारण यातायात क्षेत्र धरासायी बनेको भन्दै २०७७ भदौ १० गते सुर्खेतमा रहेका १० प्रा.लि.को छाता समूह सुर्खेत संयुक्त यातायात सेवा बनाइएकाे हाे । तर संयुक्त यातायात र सुर्खेत काँक्रेविहारले गएकाे शनिवारदेखि विवाद भएपछि कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरबाट छुट्टाछुट्टै विभिन्न रूटमा बसहरू सञ्चालन गर्दै आएका थिए ।

नेपाल कर्म । २४ श्रावण २०८०, बुधबार १७:३३