सुर्खेतमा नौ यातायात व्यवसायी एकहुँदा, कर्नरमा किन परे रमेश सापकोटा ?

सहमतिको ढोका बन्द भएको छैन् : अध्यक्ष सापकोटा

सुर्खेत । सुर्खेत बसपार्कमा यात्रु तान्नेदेखि व्यवसायीविच नै जहिले झगडा भइरहन्थ्यो । आफ्ना गाडीमा बढी यात्रु कसले बसाउने र कमजोर व्यवसायीसँग दिनहुँ झगडा गर्ने दृष्य बसपार्कमा भइरहन्थे । तर कोरोना महामारीका कारण यातायात क्षेत्र धरासायी बनेको भन्दै २०७७ भदौ १० गते सुर्खेतमा रहेका १० प्रा.लि.को छाता समूह सुर्खेत संयुक्त यातायात सेवा बनाइयो ।



बसपार्कमा प्रायः झगडा गरिरहने व्यवसायीहरु एक्काशी कार्यगत एकतागर्दा सबै अचम्मित बने । हुनपनि त्यो एकता आगामी भदौ १० गते तेस्रो बार्षिकीमा रुपान्तरणहुँदै थियो । यद्यपी, १० प्रा.लि.मध्य नौ प्रा.लि. एकहुँदा सुर्खेत काँक्रेविहारलाई कर्नरमा पु¥याइएको छ । अर्थात् संयुक्तको छातामा नौ प्रा.लि. गोलवद्ध भएर सुर्खेत काँक्रेविहारलाई अलग्याइएको छ ।

कारण के हो ?
केही दिन अघि मात्रै काँक्रेविहार यातायात प्रा.लि.ले नयाँ जेट एयर बस सुर्खेत भित्र्यायो । सुर्खेत भित्रिएका चार नयाँ बसमध्य एउटा बस सुर्खेत काँक्रेविहारमा आवद्ध भएर सुर्खेत–काठमाडौं–सुर्खेत रुटका लागि जान क्यू लियो । तर अन्य यातायात प्रा.लि.ले सुर्खेत काँक्रेविहारले सहजै क्यू दिने भएपछि आक्रोशित बने ।

‘भोली एउटा प्रा.लि.ले बस ल्याउला, पछि अर्को प्रा.लि.मा जाँदा अरुमा पनि समस्या निम्त्याउछ । यो कदम राम्रो हैन् भनेर सुर्खेत काँक्रेविहार अध्यक्ष रमेश सापकोटालाई भनियो । उहाँले नमानेपछि नौं प्रा.लि. एक ठाउँमा उभिएर उहाँलाई एक्लाइएको हो,’ संयुक्तका एक पदाधिकारीले नेपालकर्मसँग भने, ‘एकलौटी आफूखुसी सापकोटा जी हिड्न थालेपछि उहाँलाई संयुक्तमा राखिराख्नु उपयुक्त नठानेर बहुमत निर्णयबाट हटाएका हौं ।’

संयुक्त यातायात सेवाका संयोजक नारायण चपाइँले केही समस्या देखिएको सत्य भएको बताए । ‘केही कुराहरु मिल्न बाँकी छन् ति नमिलेका विषयहरुमा समाधानको खोजी भइरहेको छ,’ सुर्खेत बाहिर रहेका चपाईले भने, ‘बहुमत प्रा.लि.लेहरु र सापकोटा जिको सुर्खेत काँक्रेविहारले छुट्टाछुट्टै गाडी आइतबारबाट छुटाइरहेका छन् । केही दिनमा यो समस्या समाधान हुन्छ ।’

के भन्छन् सापकोटा ?
तपाइँ त कर्नरमै पुग्नु भएछ कारण के हो भन्ने नेपालकर्मको प्रश्नमा सापकोटाले भने, ‘यो ठूलो विषय हैन् आफू जिल्ला बाहिर भएकाले न्यायोचित ढंगबाट छलफल गरेमा समस्या समाधान गर्नमा तयार छु ।’

काँक्रेविहार र सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.मर्ज हुने तयारी गरिरहेको बेला एउटा व्यवसायी साथी आफ्नो प्रा.लि.मा आएपछि काठमाडौं रुटका लागि क्यू दिएको सापकोटा बताउँछन् ।

‘अहिले पनि दिपेन्द्र खड्काले १४ ओटा गाडीसहित सुर्खेत काँक्रेविहारबाट गाडीहरु छुटाइराख्नु भएको छ,’ सापकोटा भन्छन्, ‘भित्रभित्रै कार्यगत एकताको प्रयास भइरहँदा नयाँ बस ल्याउनु भएको व्यवसायी साथीले हाम्रो प्रा.लि.बाट गाडी हाल्दा केही खटपट भएको छ । यो समाधान हुन्छ ।’

व्यवसायीहरुले करोडौं लगानी गरेर बस किनिसकेपछि कुन प्रा.लिमा जाने भन्ने व्यक्तिगत विषय भएको र त्यहीँ विषयलाई लिएर बखेडा झिक्नु राम्रो नभएको तर्क सापकोटाको छ ।

संयुक्त यातायात र सुर्खेत काँक्रेविहारले आइतबारदेखि कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरबाट छुट्टाछुट्टै विभिन्न रूटमा बसहरू सञ्चालन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया