ब्रेकिङ : वीरेन्द्रनगरका ३ नम्बर वडाध्यक्ष विष्टसहित तीन जना कारागार चलान

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ३ नम्बर वडा कार्यालयका वडाध्यक्ष विनोद सिंह विष्टसहित तीन जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीस मनोज श्रेष्ठको एकल इजलासले विष्टसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी उज्वल रावलले नेपालकर्मलाई जानकारी दिएका हुन् ।



उनकाअनुसार कारागार चलान हुनेमा सुशील गुरुङ भनिने प्रेम गुरुङ र बलिराज शाही छन् । डाँका चोरी अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा तानिएका यामराज शाही र सन्तोष थापाबाट अदालतले जनही दुई-दुई लाख धरौटी लिएर रिहा गर्न आदेश जारी भएको सूचना अधिकारी रावलले बताए ।

याे पनि पढ्नुहाेस् : चोरी तथा डाँकाको आरोपमा वडाध्यक्ष विष्ट प्रकाउ

गत असार २४ मा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

मुलुकि अपराध संहिता २०७४ को परिच्छेद २० मा चोरी तथा डाँका सम्बन्धि कसुरको दफा २४४ मा डाँका गर्न नहुने, उपदफा २ (घ) मा तीन जना वा तीन जनाभन्दा बढी जम्माभइ चोरी गरेमा चाेरी तथा डाँका सम्बन्धि सजाय हुने व्यवस्था रहेकाे छ। यस्तै, दफा ३ को उपदफा १ बमोजिम कसुर ठहरेमा ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया