सुर्खेत । कर्णाली प्रदेशमा बढ्दो जनसंख्या, आर्थिक गतिविधि, सहरीकरण, विकास निर्माण, आधुनिकीकरण, बसाईसराई जस्ता कारणले समाजमा आपराधिक घटनाहरू बढ्दोक्रममा छन् ।
यतिमात्रै हैन्, प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगले युवापुस्तालाई अपराधको जालोतर्फ धकेलिरहेको कयौं घटनाहरु पनि छन् । समाजमा हुने हरेक खालका अशान्तिको अवस्थालाई नियन्त्रण गरी नागरिकहरूलाई अपेक्षा गरे अनुसारको सुरक्षा अनुभूति प्रदान गर्न प्रहरीलाई चुनौतीसमेत थपिरहेको छ ।
सुरक्षित कर्णाली बनाउने उदेश्य लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले पहिलो पटक प्रहरीको विवरणसहितको स्टिकर टाँस अभियान थालेको छ । सुरक्षासँग सम्बन्धित नियमित कामहरूलाई थप प्रभावकारी र सुधार गर्दै सिर्जनात्मक कार्यहरू समेत गरी व्यवसायिक, जिम्मेवारपूर्ण र सहज प्रहरी सेवाबाट आम नागरिकहरूलाई सुरक्षित बनाउने लक्ष्यका साथ कर्णाली प्रहरीले महोत्वकांक्षी योजना अघि सारेको हो ।


प्रहरीले थालेको यो योजनामा समावेश गरेका मुख्य मुद्दाहरुमा प्रहरी आफै समस्याको कारण नहुने, प्रहरीमा आन्तरिक शुद्धिकरण गर्ने, प्रहरी सेवालाई नागरीकमैत्री बनाउने, अपराध पीडितलाई विशेष संरक्षण गर्ने, भरसक अपराध हुनै नदिनेतर्फ सक्रियता देखाउने, अपराध रोकथाम र अनुसन्धानमा प्रविधिको प्रयोगमा जोड दिने हुन् ।
याे पनि पढ्नुहाेस् : कर्णालीमा प्रहरीले थाल्याे “घरघरमा स्टिकर टाँस अभियान”
यसो त कर्णालीमा समस्याको रूपमा बढ्दै गएको लागूऔषध, साईबर अपराध, आत्महत्या, सवारी दुर्घटना, विपद्, घरेलु हिंसा जस्ता विषयहरूमा व्यापक सचेतना दिने विषयलाई प्रहरीले प्राथमिकतामा राख्दै आएको छ । तर अझै प्रहरीको उपस्थिति नागरिकहरुको घर दैलोसम्म पुर्याउने ध्यका साथ आम नागरिकहरुका घर–घरमा स्टिकर टाँस अभियान अख्तियार गरेको छ ।
सबै नागरिकहरुलाई प्रहरी सेवामा सहज पहुँच पुर्याउन प्रत्येक घरधुरीमा नजिकका प्रहरी कार्यालयको विवरणसहितको स्टिकर टाँस्ने अभियान वीरेन्द्रनगरबाट शुरु गरेको हो । यो अभियान कर्णालीका ७९ वटै पालिकामा लागु भएको छ । प्रदेश कार्यालय मातहत रहेका ३७४ वटै युनिटहरुबाट तीन जनाको प्रहरी टोलीले सम्पूर्ण विवरणसहितको स्टिकर नागरिकहरुका घर–घरमा टाँस गर्नेछन् ।

स्टिकर मुल ढाेकाकाे माथि, कार्यालय वा स्कुल र कलेजकाे प्रवेशद्वार तथा हाेटल र पसलहरूकाेमा काउन्टरकाे सामुन्ने अनिवार्य स्टिकर टाँस गर्नुपर्नेछ । ति प्रहरीले स्टिकर टाँस मात्रै हैन, प्रत्येक घरधनीलाई स्टिकरबारे जानकारी दिने र कुनै घटना भएमा तत्काल खवर गर्न आवश्यक जानकारी दिएर फर्कन कार्यालयले निर्देशन दिएको छ ।
स्टिकर टाँसपछि नागरिकहरुले कुनै शंकास्पद चिजवस्तुहरु पाएमा, देखेमा वा आफु असुरक्षित भएको महशुस गरेमा तत्काल प्रहरीलाई खवर गर्न सक्नेछन् । प्रहरीले स्टिकरमा नजिकैको प्रहरी युनिट, जिल्ला प्रहरी कार्यालय, दमकल, एम्बुलेन्स र बाल हेल्पलाइनको सम्पर्क नम्बर राखेको छ ।
यो अभियानबाट नागरिकको सूचनाकै आधारमा नजिकको प्रहरी घटनास्थलमा पुगेर आवश्यक सुरक्षा प्रदान गर्ने र अपराधिक गतिविधि निरुत्साहित गर्ने लक्ष्य लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिमप्रसाद ढकाल बताउँछन् ।
कतिपय नागरिकहरुले प्रहरीको फोन नम्बर थाहा नहुँदा तत्काल जानकारी दिन नसक्ने र ढिलो खबर गर्दा अपराधी भागिसक्ने भएकाले अपराध र त्यससँग सम्बन्धीत वा अन्य घटनाहरु न्यूनिकरणमा टेवा पुग्ने अपेक्षा उनको छ । अभियानले जिल्ला भित्र वा प्रहरीको मातहतमा रहेका घरधुरीको संख्या एकिन हुने तथा नागरिकले सूचना दिने र सहयोग लिने विषयमा वृद्धि हुने कार्यालयले जनाएको छ ।
स्टिकर टाँस अभियान स्थानिय तह र प्रदेश सरकारसँग समन्वयबाट सञ्चालन गरिएको छ । अभियान अन्तरगत प्रहरीले कर्णालीका तीन लाख ७१ हजार घरधुरीमा आफ्नो विवरण खुल्ने स्टिकर टाँस गर्नेछ ।
प्रदेशका १० वटै जिल्लामा रहेका ७९ वटै स्थानीय तहमा रहेका प्रहरी युनिटहरुले नागरिकहरुका घर–घरमा प्रहरीको फोन नम्बर भएको स्टिकर तीन महिनाभित्र टाँसी सक्नेछन् ।
अभियानमा तीनहजार प्रहरी खटिनेछन् । नागरिक, प्रहरी र स्थानीय सरकारविचमा विश्वासको वातावरण सृजना निर्माण गर्ने तथा शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा कर्णाली प्रहरीको छ ।

सुशील खड्का । ३१ असार २०८०, आईतवार १६:५७