सुर्खेत । एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा मृत भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको मृत्यु प्रकरणमा जोडिएका नायब सुब्बा कविलाल बी.सी.लाई जिल्ला अदालत सुर्खेतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा बी.सी.लाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।
प्रहरीले बी.सी. विरुद्ध साउन ८ गते अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो। जाजरकोटको भेरी नगरपालिका–१ घर भई विगत दुई वर्षदेखि प्रयोगशालामा नायब प्राविधिक सहायक पदमा कार्यरत चन्द्रा सिंह वीरेन्द्रनगर–७, इत्रामस्थित कार्यालयकै आवास गृहको शौचालयमा बेहोस अवस्थामा भेटिएकी थिइन्।
सिंहलाई उद्धार गरी तत्काल देउती अस्पताल हुँदै प्रदेश अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। घटनालाई अस्वाभाविक मान्दै मृतकका श्रीमान् महेश बस्नेतले बी.सी. विरुद्ध किटानी जाहेरी दिएका थिए।
याे पनि पढ्नुहाेुस् : कृषि प्रयोगशालाकी कर्मचारी मृत्यु प्रकरण : प्रशासनका नायब सुब्बा पक्राउ
सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १६ गते वीरेन्द्रनगर–८, खजुराबाट उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक चन्द्रा र नायब सुब्बा बी.सी. बीच सामाजिक सञ्जाल फेसबुकमा भएका कुराकानी तथा केही शंकास्पद च्याट संवादहरू फेला परेकाे भन्दै प्रहरी नियन्त्रणमा लिएकाे हाे ।
अदालतको यो आदेशसँगै अब बी.सी.ले थुनामै रहेर मुद्दाको सामना गर्नुपर्नेछ।

नेपाल कर्म । ९ भाद्र २०८३, मंगलवार १९:२१