कृषि प्रयोगशालाकी कर्मचारी मृत्यु प्रकरण : प्रशासनका नायब सुब्बा पक्राउ

सुर्खेत । एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा बेहाेस अवस्थामा भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल बी.सी.लाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। जाजरकोटको भेरी नगरपालिका–१ स्थायी घर भई विगत दुई वर्षदेखि प्रयोगशालामा नायब प्राविधिक सहायक पदमा सेवारत सिंह वीरेन्द्रनगर–७, इत्रामस्थित कार्यालयकै आवास गृहको शौचालयमा बेहोस अवस्थामा भेटिएकी थिइन्।

उनलाई उद्धार गरी तत्काल देउती अस्पताल हुँदै प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले बचाउन सकेनन्। चन्द्राको अस्वाभाविक मृत्युपछि उनका श्रीमान महेश बस्नेतले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १६ गते वीरेन्द्रनगर–८, खजुराबाट बी.सी.लाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा चन्द्रा र बी.सी.बीच सामाजिक सञ्जाल फेसबुकमा भएका कुराकानी तथा केही शंकास्पद च्याट संवादहरू फेला परेको प्रहरीले जनाएको छ।

‘प्रारम्भिक अनुसन्धानमा उहाँहरूबीच फेसबुक च्याटमा कुराकानी हुने गरेको र केही शंकास्पद विषयहरू समावेश भएको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले भने, ‘अहिले हामी गम्भीरताका साथ अनुसन्धानमै छौं। अदालतबाट म्याद थप गरी घटनाका सम्पूर्ण पाटाहरू केलाउने काम भइरहेको छ।’

उज्यालो भविष्य बोकेर सेवामा खटिएकी युवा कर्मचारीको यसरी अप्रत्याशित अन्त्य हुनुले एकीकृत कृषि प्रयोगशाला र परिवार शोकमा डुबेको छ । कानुनी दायरामा ल्याइएका बी.सी.माथिको अनुसन्धानले नै चन्द्राको मृत्युपछाडिको वास्तविक सत्य बाहिर ल्याउने अपेक्षा परिवारकाे छ ।

सिंहकाे आइतबार अन्त्यष्टी गरिएकाे छ ।

तपाईको प्रतिक्रिया