पाथिभरा माता भनेर चिनाउने समीरलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

सुर्खेत । आफूलाई पाथिभरा माता भनेर चिनाउने सुर्खेतका समीर थापालाई जिल्ला अदालत सुर्खेतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई कारागार चलान गर्न र घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।

झारफुक तथा हेराई–मनाई गर्ने बहानामा थापाले महिलामाथि अमानवीय दुर्व्यवहार र कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुर्खेत प्रहरीले साउन १३ गते वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २४ वर्षीय समीरलाई पक्राउ गरेको थियो।

याे पनि पढ्नुहाेस् : झारफुकका नाममा महिलामाथि दुर्व्यवहार गर्ने पाथीभरा माता भनेर चिनिने पुरूष पक्राउ

थापासहित भिडियो खिच्ने व्यक्तिविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुरमा साउन ८ गते सुर्खेत अदालतमा मुद्दा दर्ता गरिएको थियो। थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्त थापालाई पुर्पक्षका लागि थुनामा राख्न र सहयोगीलाई धरौटीमा छाड्न आदेश दिएको हो।

नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार धामी झाँक्री वा झारफुकको नाममा कसैमाथि अमानवीय, अपमानजनक वा हिंसात्मक व्यवहार गर्नु गम्भीर कानुनी अपराध हो।

अमानवीय वा अपमानजनक व्यवहार (दफा १६८) मा झाँक्री वा झारफुकको बहानामा कसैलाई अमानवीय वा अपमानजनक व्यवहार गरेमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। साथै, पीडितलाई कसूरदारबाट मनासिब क्षतिपूर्ति समेत भराउनुपर्ने प्रावधान छ।

कुटपिट तथा अभद्र व्यवहार (दफा १९१ र ११८) मा झारफुकका नाममा हातपात तथा अश्लील/अपशब्द प्रयोग गरी कुटपिट गरेमा कुटपिट तथा सार्वजनिक शान्ति विरुद्धको कसूर (अभद्र व्यवहार) अन्तर्गत थप सजाय र जरिवाना हुन सक्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया