झारफुकका नाममा महिलामाथि दुर्व्यवहार गर्ने पाथीभरा माता भनेर चिनिने पुरूष पक्राउ

सुर्खेत । झारफुक तथा हेराई–मनाई गर्ने बहानामा महिलामाथि दुर्व्यवहार र कुटपिट गरेको आरोपमा सुर्खेत प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३, एरिचोक घर भएका अन्दाजी २४ वर्षीय समीर थापा हुन्।

आफूलाई पाथीभरा माता भनेर चिनाउने थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बुधबार राति करिब ८:३० बजे नियन्त्रणमा लिएको हो।

थापाले एक महिलालाई झारफुक गर्ने क्रममा अपशब्द प्रयोग गर्दै कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओ भाइरल भएपछि प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार धामी झाँक्री वा झारफुकको नाममा कसैमाथि अमानवीय, अपमानजनक वा हिंसात्मक व्यवहार गर्नु गम्भीर कानुनी अपराध हो।

अमानवीय वा अपमानजनक व्यवहार (दफा १६८) मा झाँक्री वा झारफुकको बहानामा कसैलाई अमानवीय वा अपमानजनक व्यवहार गरेमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। साथै, पीडितलाई कसूरदारबाट मनासिब क्षतिपूर्ति समेत भराउनुपर्ने प्रावधान छ।

कुटपिट तथा अभद्र व्यवहार (दफा १९१ र ११८) मा झारफुकका नाममा हातपात तथा अश्लील/अपशब्द प्रयोग गरी कुटपिट गरेमा कुटपिट तथा सार्वजनिक शान्ति विरुद्धको कसूर (अभद्र व्यवहार) अन्तर्गत थप सजाय र जरिवाना हुन सक्ने प्रावधान छ।

पक्राउ परेका थापामाथि यिनै कानुनी आधारमा टेकेर अनुसन्धान अघि बढाइएको र थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया