सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जको घना जंगलमा हराएका टोपबहादुर खत्री अन्ततः १७ दिनपछि मृत अवस्थामा भेटिएका छन्। तर शव फेला परेसँगै एउटा परिवारको पर्खाइ अन्त्य भए पनि, घटनाको रहस्य र पीडा अझै जीवित छ।
याे पनि पढ्नुहाेस् : शिकार खेल्न गएका साथी फर्किएर फरार तर १७ दिनदेखि टोपबहादुरकाे अवस्था अज्ञात
फागुन २३ गते बराहताल गाउँपालिका-२ रानीघाटमा रहेका टोपबहादुरलाइ काम छ भन्दै ज्यामेरेबाट बाेलाएका थिए । सँगैका साथीसहित ६ जना साथीहरू निकुञ्ज पुगेकाे पछि मात्रै रहस्य खुलेकाे हाे ।

फागनु २४ गते नै निकुञ्जबाट पाँच जना फर्किए । तर टाेपबहादुर भने फर्किएनन्। फर्किएका ती साथीहरू नै सम्पर्कविहीन भएपछि घटनाले सुरुबाटै शंका जन्माएको थियो।
टाेपबहादुरकाे शव निकुञ्जकाे सुरक्षार्थ रहेकाे रातामाटा पाेष्टदेखि २ किलाेमिटर पश्चिम खाेलामा शव भेटिएकाे पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहीले गरेका छन् ।

शवकाे सबै प्रक्रिया पूरा गरेर पाेष्टमार्टका लागि जिल्ला अस्पताल गुलरिया पठाउने तयारी भइरहेकाे उनले जानकारी दिए । बराहताल गाउँपालिका-१ ज्यामिरे सुर्खेतका २५ वर्षीय रेशम समसेली, ३४ वर्षीय रामबहादुर घर्ति र ३० वर्षीय सुनिल समसेली, सुगरखालका ४१ वर्षीय रबिलाल दमाई र लेकवेशी नगरपालिका–८ गंगटे घर हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजालीले टाेपबहादुरलाइ शिकार खेल्न भन्दै निकुञ्ज लगेका थिए ।
श्रीमती दिलमाया थापा मगरले श्रीमानको खोजीमा हरेक ढोका ढक्ढक्याइन्। ९ दिनपछि मात्रै जंगलमा उनकाे मृत्यु भएको सूचना पाइन तर त्यो सूचना पुष्टि गर्ने कुनै आधार थिएन। त्यसपछि मात्रै टाेपबहादुरकाे शव खोज्ने संघर्ष शुरू गरिएकाे थियाे।

निकुञ्जकाे रातामाटा क्षेत्रतिर शिकार खेल्ने क्रममा समूह दुई भागमा बाडिएकाे र खोल्सा पार गर्ने क्रममा टोपबहादुर लड्दा बन्दुक पड्किएर मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी परिवारले चैत १ गते पाएकाे थियाे।
निकुञ्जबाट फर्किएकाले फागनु २४ गते राती आफ्नो परिवारका सदस्यसँग केही नभन्नू भन्दै सोही दिन उनीहरू भारततर्फ भागेका थिए । तर, घटनाका बारेमा सिकार खेल्न सँगै गएका सुनील समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतरालाई घटनाका बारेमा सुनाएपछि पीडित परिवारले चैत २ गते प्रहरी चाैकी रानीघाट सुर्खेतमा खाेजीका लागि निवदेन दिएका थिए ।
चैत ३ गतेदेखि बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले दिनहुँजसो जंगलमा टाेपबहादुरकाे शव खाेजेकाे थियाे । कठिन भौगोलिक अवस्था, जंगली जनावरको जोखिम र अस्पष्ट सूचनाबीच खोजी कार्य सहज थिएन।
टाेपबहादुरकाे शव खाेजी दिन साेमबार आफन्तसँग बर्दिया पुगेकी दिलमायाले षडयन्त्र गरेर श्रीमानकाे हत्या गरेकाे भन्दै न्याय दिन माग गरेकी छन् । ‘अब उहाँ जीवित फर्किनुहुन्न तर मेराे खुसी उजाड बनाउनमा संलग्नहरूलाइ तत्काल पक्राउ गरेर कानूनी कारवाही गर्न अनुराेध छ,’ भक्कानिँदै श्रीमती दिलमाया भन्छिन्, ‘जवरजस्ती बाेलाएर निकुञ्ज भित्र लिएर म र मेरा छाेराहरूकाे जीवन उजाड बनाउनेलाइ हदैसम्मकाे कारवाही हाेस् ।’
स्थानीयवासी र आफन्तहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरू भन्छन्, ‘यदि समयमै जानकारी दिइएको भए, सायद अवस्था फरक हुन सक्थ्यो।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजी जारी छ। फरार व्यक्तिहरूलाई नियन्त्रणमा लिएर घटनाको वास्तविकता बाहिर ल्याइने प्रहरीले जनाएको छ।
रानीघाटमा श्रीमती र दुई छोरासहित बस्दै आएका टोपबहादुरको मृत्युले परिवारलाई स्तब्ध बनाएको छ। उनीहरूले सत्य बाहिर आओस्, दोषी उम्किन नपाओस् भन्ने माग गरेका छन् ।

सुशील खड्का । ९ चैत्र २०८२, सोमबार १८:३४