सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जको घना जंगल, जहाँ प्रकृतिको सुन्दरता जति मोहक छ, त्यत्तिकै कठोर पनि। यही जंगलभित्र हराएका छन् सुर्खेतका टोपबहादुर खत्री। शिकार खेल्न भनेर साथीकाे लहलहैमा लागेर निकुञ्ज भित्र छिरेकाे उनकाे यात्रा अहिले एक परिवारका लागि असह्य पीडा, अन्योल र अन्त्यहीन पर्खाइको कथामा बदलिएको छ।
फागुन २३ गते बिहान, टोपबहादुर घरबाट निस्किँदा सामान्य दिनझैँ देखिन्थ्यो। श्रीमती दिलमाया थापा मगरलाई उनले ‘ज्यामिरेमा बोलाएका छन्’ भन्दै घरबाट निस्किएका थिए।


घरमा कुनै स्पष्ट कामकाे उदेश्यविना जानकारी नगराएर टाेपबहादुर साथीहरूकाे सामान्य विश्वासका आधारमा रानिघाटबाट बराहताल गाउँपालिका-१ ज्यामिरे भन्ने ठाउँमा पुगेका थिए । तर त्याे यात्रा नै परिवारले कहिल्यै नसोचेको दुर्घटनामा बदलिएकाे छ ।
भोलिपल्ट, अर्थात् फागुन २४ गते राति, उनीसँगै निकुञ्ज छिरेका पाँच जना साथीहरू फर्किए। तर टोपबहादुर भने फर्किएनन्। झन् अचम्म के भने, फर्किएका ती सबै साथीहरू त्यही रातदेखि सम्पर्कविहीन बने र, यहींबाट सुरु भयो शंका गर्दै टाेपबहादुरकाे खाजी ।
बराहताल गाउँपालिका–१ ज्यामिरेका रेशम समसेली, रामबहादुर घर्ति, सुनिल समसेली, सुगरखालका रबिलाल दमाई र लेकबेँसी नगरपालिका–८ का दुर्गाबहादुर सिजालीकाे समूहसँगै टोपबहादुर निकुञ्ज छिरेका थिए।
तर पाँच जना फर्किएपछि उनीहरू फरार हुनु र घटनालाई अझै रहस्यमय बनाउने प्रमुख कारण बनेको छ। ‘दिनहरू बित्दै गए । चिन्ता, आशंका डर र त्यसपछि प्रत्येक दिन पीडाको भार थपिँदै गएपछि खाेजी थालेकाे हुँ,’ श्रीमती दिलमाया थापा मगर भन्छिन्, ‘आफन्त, चिनेजाने सबै ठाउँमा खोजे। तर हरेक प्रयास असफल हुँदै गयो। तीन, चार दिनसम्म सम्पर्क भएन। धेरै ठाउँमा खोजेँ, तर केही पत्तो लागेन ।’
अन्ततः चैत १ गते, दिउँसाे घटनाको ९ दिनपछि जंगलमै टोपबहादुरको मृत्यु भएको र उनीसँगै गएका साथीहरू फरार भएको जानकारी बाहिर आएकाे हाे । तर यो जानकारी पनि आधिकारिक पुष्टि नभइ सुनिएको खवर दिलमायाले पाएकी हुन् ।
दिलमायाका अनुसार आफ्नाे श्रीमानसहित निकुञ्जको कोर क्षेत्रमा भरुवा बन्दुक र घरेलु हतियारसहित प्रवेश गरेका र त्यहीँ उनकाे गाेली लागेर मृत्यु भएको अपुष्ट जानकारी पाएकी थिईन्।
रातामाटा क्षेत्रतिर शिकार खेल्ने क्रममा समूह दुई–तीन भागमा छुट्टिएको र खोल्सा तर्ने क्रममा टोपबहादुर लड्दा बन्दुक पड्किएर मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी छ।

निकुञ्जबाट फर्किएकाले आफ्नो परिवारका सदस्यसँग केही नभन्नू भन्दै सोही दिन उनीहरू भारततर्फ भागे ।
यो घटना ९ दिनपछि अर्थात् १ चैतमा मात्र सार्वजनिक भएको थियाे । पीडकहरूले परिवारका सदस्यलाई टोपबहादुरको मृत्यु भएको खबर कसैलाई नभन्नू भनेका थिए ।
तर, घटनाका बारेमा सिकार खेल्न सँगै गएका सुनील समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतरालाई घटनाका बारेमा सुनाएकी थिइन् ।
टाेपबहादुर शव अझै नभेटिएकाले दिलमायाको पीडालाई बल्झिएकाे छ । ‘उहाँ जीवित हुनुहुन्छ भन्ने आशा छैन,’ दिलमाया भन्छिन्, ‘तर कम्तीमा शव भए पनि भेटियोस्। अन्तिमपटक अनुहार हेर्न पाए हुन्थ्यो ।’
रानीघाटमा बस्दै आएका टोपबहादुरका दुई साना छोराहरू छन्। बाबुको प्रतिक्षामा रहेका छाेराकाे आँखामा अझै आशा बाँकी छ । पवारको आर्थिक र मानसिक अवस्था दुवै कमजोर बनेकाे छ ।
शव खोजिदिन आग्रह गर्दै दिलमाया आफन्तसहित निकुञ्ज कार्यालय ठाकुरद्वारासम्म पुगेका छन्। तर घना जंगल र स्पष्ट घटना बारे जानकारी नहुँदा खोजी कार्य सहज बनेको छैन।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाका अनुसार, घटनाबारे जानकारी पाएलगत्तै निकुञ्ज, नेपाल प्रहरी र नेपाली सेनाको करिब ८० जनाको टोली खोजीमा खटिएको थियो।
ड्रोन क्यामेरा, जंगलको कठिन भूगोल सबै क्षेत्रमा खाेजी थाल्दा पनि टाेपबहादुर नभेटिएकाे उनी बताउँछन् । ‘फरार भएका व्यक्तिहरूको खोजी गर्दै उनीहरूबाट सूचना संकलन गरेर अनुसन्धान अघि बढाइरहेका छौं,’ प्रवक्ता बुढथापाले भने । अहिले पनि बासपानी क्षेत्र आसपास सुरक्षाकर्मीहरूको टोली दैनिक रूपमा खोजीमा जुटिरहेको छ।

सुशील खड्का । ९ चैत्र २०८२, सोमबार १३:२८