राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका व्यक्ति दैलेखमा पक्राउ

सुर्खेत । राउटे समुदायका युवतीहरुको सोझोपनाको फाइदा उठाउँदै दुर्व्यवहार गरिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गुडीरहेको ट्रकमा चार जना युवतीलाई राखेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएपछि प्रहरीले उनको खोजी थालेको थियो ।



राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक


भिडियोमा देखिएका व्यक्तिलाई आठविस नगरपालिकाको टुनिवगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार पक्राउ गरिएका व्यक्तिका विवरण खुल्न बाँकी छ ।

ईलाका प्रहरी कार्यालय राकम कर्णालीको टोलीले ति व्यक्तिलाई नियन्त्रणमा लिएको र थप विवरण खुल्न बाँकी रहेको प्रमुख बरालले बताए । व्यक्तिको विवरण लिने काम भइरहेकाले आवश्यक कारवाहीका लागि सुर्खेत पठाइने उनी बताउछन् ।

राउटे समुदायका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सोसक नेपालले उजूरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । घर्ती जगत नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेण्डको भिडियो केही दिन अघि सार्वजनिक गरेका थिए ।

भिडियो सार्वजनिक गर्दै ‘समाजमा के सन्देश जान्छ, पक्कै राम्रो हैन् ?’ भन्दै भिडियो सार्वजनिक गरेका छन् । प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिकाेसमेत खोजी थालेको छ ।

भिडियो कुन ठाउँको हो भन्ने स्पष्ट छैन् तर पक्राउ गरिएका व्यक्तिसँग सोधपुछ हुनै बाँकी रहेको प्रहरीले जनाएको छ । चार जना राउटे युवतीको विचमा बसेका एक युवाले गलत हर्कत गरिरहेको भिडियो क्लीपमा देख्न सकिन्छ ।

अंगालोमा हालेर ताजा ताजा भनेपछि राउटे युवतीहरुले असहज मानिरहेको देखिन्छ । भिडियो भाइरले गराउने बहानामा अनावश्यक दुःख दिने र अश्लिल हर्कतले राउटे युवतीहरु असुरक्षित बनेका छन् । पक्राउ गरिएका व्यक्ति विरुद्ध साइवर अपराध, हिंसा लगायतका मुद्दा आकर्षित हुने सोसेक नेपाल दैलेखका कार्यकारी प्रमुख हिरासिंह थापाले जानकारी दिए ।

२१ जेठ २०७८ मा सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौर नजिकै राउटे समुदायका दुई युवती सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरुले यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक गरिएको थियो ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात÷सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

तपाईको प्रतिक्रिया