राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक

सुर्खेत । राउटे समुदाय पिछडीएको नेपालको लोपोन्मुख आदिवासी जाती हो । यो समुदाय पश्चिम नेपालका सुर्खेत, दाङ, सल्यान, जाजरकोट, दैलेख र अछाम जिल्लामा फिरन्ते जीवनशैली जिउने भएकाले विभिन्न जंगलहरुमा बस्दै आएका छन् ।



राउटे समुदायका युवतीहरुको सोझोपनाको फाइदा उठाउँदै पटक पटक दुर्व्यवहार गरेका भिडियोहरु सार्वजनिक हुने क्रम बढेको छ । पछिल्लो पटक एउटा ट्रकमा चार जना युवतीलाई राखेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको छ ।


घर्ती जगत नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेण्डको भिडियो केही दिन अघि सार्वजनिक गरेका हुन् । भिडियो सार्वजनिक गर्दै उनले प्रश्न गरेका छन्, ‘समाजमा के सन्देश जान्छ, पक्कै राम्रो हैन् ?’

भिडियो कुन ठाउँ र कहिलेको हो भन्ने स्पष्ट छैन् । चार जना राउटे युवतीको विचमा बसेका एक युवाले गलत हर्कत गरिरहेको भिडियो क्लीपमा देख्न सकिन्छ । अंगालोमा हालेर ताजा ताजा भनेपछि राउटे युवतीहरुले असहज मानिरहेको देखिन्छ । भिडियो भाइरले गराउने बहानामा अनावश्यक दुःख दिने र अश्लिल हर्कतले राउटे युवतीहरु असुरक्षित बनेका छन् ।

अहिले राउटे समुदायहरु बस्ती विभाजन गरेर दुई ठाउँमा बसिरहेका छन् । वीरेन्द्रनगरको झुप्रा खोला आसपासको जंगलमा भेट्नेगरी यो समुदाय बराहताल गाउँपालिकाको गिरीघाटबाट छुट्टीएको हो । एउटा बस्ती सोत खोला किनाराहुँदै वीरेन्द्रनगर–१४ गढी आसपास पुगेको छ । अर्को टोली वीरेन्द्रनगर–१३ करेखोला नजिकैको जंगलमा बसिरहेको छ ।

पछिल्लो पटक सार्वजनिक गरिएको भिडियोमा राउटे समुदायका युवतीमाथि गरिएको व्यवहार हिंसा नै भएको सोसेक नेपालका कार्यकारी प्रमुख हिरासिंह थापा बताउँछन् । राउटे युवतीको सोझोपनाको फाइदा उठाउँदै गरिने यस्ता हर्कत गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन उनको माग छ ।

राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा राउटे समुदायका महिलाहरुमाथि हुने सबै खालको हिंसा र दुर्व्यवहार रोक्न सरकारलाई गम्भीर बन्न भनिरहेको बेला यी खालका घटना दोहोरिनु राम्रो पक्ष नभएको थापा बताउँछन् ।

घुमन्ते–फिरन्ते राउटे समुदायमा ७४ जना महिला छन् । पितृसतात्मक सामाजिक व्यवस्था भएको यो समुदायका महिलाहरू बाहिरी समाजसँग घुलमिल हुन चाहदैनन् ।

बाह्य समुदायको हस्तक्षेप तथा राउटे समुदाय बाह्य समुदायको सम्पर्कमा आउन थालेका कारण केहि युवतीहरू यौनजन्य हिंसाको घटना भइरहेको राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको राउटेको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन–२०८१ मा समावेश छ ।

२१ जेठ २०७८ मा राउटे समुदायका दुई युवती सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरुले यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक गरिएको थियो ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात-सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

तपाईको प्रतिक्रिया