घरै नपुगि छिन्चुमा झगडा, जंगल पुर्याएर गरे प्रेमाको हत्या

सुर्खेत । शनिवार साँझ भेरीगंगा नगरपालिका–१२ छिन्चुमा प्रेमा ओली श्रीमानले पठाएका सामान लिन जान्छिन् । २६ वर्षीय  प्रेमा घरबाट छिन्चु जाने भन्दै छोरीलाई माइतीमा छाडेर हिडेकी थिइन् ।



सुर्खेतमा भेटियो युवतीको शव, हत्या गरेको आंशका

‘छोरीलाई घरमा छोड्दा श्रीमानले सामान साथीसँग पठाएको र लिन जान लागेको माइतीलाई जानकारी गराएकी थिइन्’ प्रेमाका मामा ईश्वर खड्काले भने, ‘सामान लिन हिडेकी भान्जीको शव देख्न पाइएला भन्ने कल्पनासम्म गर्न नसकेको घटना भयो ।’

छिन्चुमा शव भेटिएकी युवती गुर्भाकोटकी, कुकुरसहितको टोली पुग्यो घटनास्थल

नेपाली सेनाको वीरदल गण पाँचथरमा कार्यरत २८ वर्षीय दर्शन खत्री विदा लिएर शनिवार साँझ मात्रै छिन्चु पुगेका थिए । तर प्रेमालाइ खत्रीले आफू केही दिनपछि आउने तर सामान साथीसँग पठाएकाले तिमी बाहेक अरु कसैलाई नपठाउनु भन्दै छिन्चु बाेलाएकाे माइती पक्ष बताउँछन् ।

प्रेमा घरबाट सरार सामान लिन छिन्चुमा पुग्छिन् । साथीसँग सामान थिएन् बरु खत्री नै शनिवार साँझ ६ः३० बजेतिर छिन्चुमा भेटिन्छन् । दुवै जनाको भेट हुन्छ । शुरुमा सौहार्दता देखाएका खत्री र प्रेमाविच एकैछिनमा झगडा शुरु हुन्छ ।

यो झगडा नौलो थिएन् । दुवै जनाको सम्बन्धमा खटपट चलेको झण्डै पाँच वर्ष वितिसकेको थियो । साथीसँग सामान पठाएको र लिएर जानु भनेका श्रीमान खत्री स्वंयम देखिएपछि प्रेमा रिसाएको ठम्याइँ परिवारको छ ।

सामान लिन गएकी प्रेमाले ज्यानै दिनुपर्ला भन्ने कल्पना गरेकी थिइनन् । तर घटना नसोचेकै भयो । भेट भएको केही बेरमा खटपट भएका यस्ता कयौं क्षण प्रेमाले ब्यहोरेकी सकेकी थिइन् ।

‘दुवै जनाले एक अर्का माथि गर्ने शंकाले नै शनिवारको घटना हुन पुग्यो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्का भन्छन्, ‘प्रेमाले श्रीमानलाई अर्कै केटीसँग लाग्ने भनिरहने र श्रीमान खत्रीले पनि प्रेमामाथि शंका गर्दा जंगल पुर्याएर हत्या जस्तो गम्भीर अपराध भयो ।’

दुवै जनाको छिन्चुमा भेटपछि प्रेमा वीरेन्द्रनगरतर्फ आउने बाटोतर्फ लाग्छिन् । शनिवार साँझ ७ बजेतिर उनीहरु दुवै जना झिगेनारा खोलाको पुल तरेर उत्तर पूर्वको रामजानकी सामुदायिक वनतर्फ लाग्छन् ।

‘आधा घण्टासम्म दुवै जनाको झगडा भयो । सम्झाउने अनेक प्रयत्न गर्दा प्रेमाले नमानेपछि कुटे,’ प्रारम्भीक अनुसन्धानमा खत्रीले भनेको बताउँदै प्रहरी प्रमुख खड्का भन्छन्, ‘झण्डै आधा घण्टा (७ः३०) सम्म जंगलमै बसेको र पछि प्रेमाको टाउकोमा ढुंगाले हानेपछि लडाए छन् ।’

रिसको आवेगमा हानेका खत्रीले प्रेमा उठ्दै नउठेपछि आफै मरेको हो भन्ने बनाउन घाँटीमा प्रेमाकै सलले कसेर खोला किनाराको पानीमा फालेर घर गएको बयान प्रहरीलाई दिएका छन् ।

खत्री शनिवार राती ८ बजे घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ । ‘प्रेमाको हत्या आफू एक्लैले गरेको र आशंका नै मुख्य कारण भएको बयान खत्रीले दिएका छन्,’ खड्का भन्छन्, ‘प्रेमासँग विवाह भएको शुरुका केही वर्ष सम्बन्ध राम्रो भएकाे र विस्तारै बढी शंका गर्दा पाँच वषैदेखि सम्बन्ध राम्रो नभएको बयानमा भनेका छन् ।’

गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ६ वर्षीय छोरीसहित प्रेमा एक्लै बस्थिन् । उनको माईती गुर्भाकोट नगरपालिका–५ तोरीबारी हो । उनकाे विवाह भएकाे सात वर्ष भयाे ।

२०८१ भदौ असोजतिर खत्री विदामा घर आएका थिए । घर आएको बेला प्रेमाले स्थानीय एक महिलासँग कुरा गरेको फेला पार्छिन् । ‘छोरी हुर्किदै छन्, जिम्मेवार भएर परस्त्रीसँग कुरा गर्ने भनेर भएको विवाद माइतीसम्म पुगेको थियो,’ मामा खड्काले नेपालकर्मसँग भने, ‘माइती पक्षले सम्झाएर घटना मत्थर पारेका थिए । त्यसैको रिसले आज भान्जी गुमायौं ।’

आइतबार दिउँसो थाकल खान जंगल गएकाहरुले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले शव उठाउन हतार नगरी कुकुरसहितको टोली मगाएर थप अनुसन्धान गरेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख खड्का, डिएसपी मोहनजंग बुढथापा, ईलाका प्रहरी कार्यालय छिन्चु र केनाई शाखा नेपालगञ्जबाट कुकुरसहितको प्राविधिक टोली छिन्चु पुगेको थियो ।

साँझ मात्रै आफन्त घटनास्थल पुगेर शवको पहिचान गरेका थिए । प्रहरीकाे अनुसन्धान सिँधै प्रेमाका श्रीमानतिर जाेडियाे । प्रहरीले उनकाे खाेजी गरेर तत्कालै घरबाटै पक्राउ गर्याे ।

प्रहरीकाे टाेली पक्राउ गर्न घरमै पुगेपछि निकै हताेत्साहित बनेका खत्रीले शुरूमा इन्कारी बयान दिएकाे प्रहरी बताउँछ । विचलित हुने, आत्तिने, फरक-फरक जवाफ दिने गरेपछि उनलाइ नियन्त्रणमा लिएकाे हाे ।

इलाका प्रहरी कार्यालय छिन्चुमा ल्याएपछि उनले हत्या स्वीकार गरेपछि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेकाे छ । प्रेमाको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया