छिन्चुमा शव भेटिएकी युवती गुर्भाकोटकी, कुकुरसहितको टोली पुग्यो घटनास्थल

सुर्खेत । भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा शव भेटिएकी महिलाको पहिचान खुलेको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीको शव रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले नेपालकर्मलाई जानकारी दिए ।



याे पनि पढ्नुहाेस् : सुर्खेतमा भेटियो युवतीको शव, हत्या गरेको आंशका

उनकाअनुसार घटनास्थलमा पुगेका आफन्तले ओलीको शव पहिचान गरेका हुन् । रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झण्डै एक किलोमिटरको दुरीमा ओलीको शव आइतबार भेटिएको हो । पानीमा घोप्टो परेको अवस्थामा उनको शव रहेको प्रवक्ता बुढाथापाको भनाई छ ।

घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्का, डिएसपी बुढा, ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ ।

‘शुरुमा पहिचान हुन नसकेपछि आफन्त सम्पर्कमा आउनुहुन्छ होला भनेर शव उठाएनौं,’ डिएसपी बुढाथापाले भने, ‘गुर्भाकोट नगरपालिका–६ बाट आफन्तहरु आएपछि शवको पहिचान भएको छ । अव थप प्रक्रिया अघि बढाइरहेका छौं ।’

ओली शनिवारदेखि हराएको आफन्तले बताएका छन् । घटना रहस्यमय देखिएपछि अनुसन्धानका लागि प्रहरीको केनाई शाखा नेपालगञ्जबाट कुकुरसहितको टोलीसमेत घटनास्थलमा पुगेको छ ।

शवको प्रकृति हेर्दा शंका गर्ने ठाउँ देखिएकाले गम्भीर भएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ‘अनुसन्धान थालिसकेका छौं,’ डिएसपी बुढाथापाले भने, ‘घटनास्थलको मुचुल्का तयार गरे पोष्टमार्टका लागि शव मेहलकुना वा प्रदेश अस्पताल कहाँ पठाउने भन्ने विषयमा छलफल भइरहेको छ ।’

तपाईको प्रतिक्रिया