किन राेकियाे कालाेपत्रे गर्न लागिएका वीरेन्द्रनगरका ४७ सडककाे काम ?

सुर्खेत उद्याेग बाणिज्य संघ भन्छ : 'विकास विराेधी हैनाैं, बुझ्नेले भ्रम छरिदिए'

सुर्खेत । वीरेन्द्रनगर उपत्यका भित्रका सडक कालोपत्रेका लागि खड्का केएस जेभी बाँकेले २०७९ फागुनमा निर्माण जिम्मा पाएको हो । संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतसँग सम्झौता गरेको जेभीले गत भदौ ११ गते निर्माण सम्पन्न गरेर अहिलेसम्म सडक हस्तान्तरण गरिसक्नु पर्ने थियो । तर सडक कालोपत्रेका लागि मंगलगढीस्थित पुरानो बसपार्कमा राखिएको अस्फाल्ट प्लान्ट विभिन्न व्यक्तिले सञ्चालन गर्न नदिएपछि काम ठप्प छ ।




वीरेन्द्रनगरको मुख्य बजार मंलगढी–वीरेन्द्रचोक–गणेश चोक पुल, हुलाक–पिपल चौतारा, वीरेन्द्रचौक–भानुपार्क (भाइरल डाँडा) र वीरेन्द्रनचौक–खोर्के खोला पुलसम्मको सडक कालोपत्रे गर्ने जिम्मा पाएको जेभीले त्यहीँ प्लान्टबाट कच्चा पदार्थ प्रयोग गरेर सडक कालोपत्रे गरेको हो ।

मुख्य बजार क्षेत्रकै काम गरिरहेका बेला संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका थप ठेक्का हात पारेको जेभीले बजार क्षेत्रको काम सकेपछि थपिएको काम अगाडी बढाएको थियो । मुख्य बजार क्षेत्रको कालोपत्रे गर्दासम्म कसैले विरोध नगरेर चुपचाप काम गर्न दिएका अभियान्ता र सुर्खेत उद्योग बाणिज्य संघले त्यसपछि खुलेरै विरोध गरे ।

यो पनि पढ्नुहोस् : जसले आलोचना हुनै नदिएर वीरेन्द्रनगर बजारका सडक निर्माण गरे

मुख्य बजारमै राखिएको प्लान्टबाट निस्किएको धुवाँले त्यहीँ सडक भएर हिड्ने नागरिक र आसपास रहेको बस्तीमा असर पारेको भन्दै प्लान्टमै धर्ना र ताला लगाउने सम्मको प्रयास भएपछि निर्माण व्यवसायीले काम रोकेको हो । यो विषय नगरपालिकाहुँदै जिल्ला प्रशासनसम्म पुगेको छ ।

थप काम गर्ने वा नगर्ने भन्ने विषयमा पक्ष र विपक्ष दुवैका आ–आफ्नै तर्क छन् । निर्माण व्यवसायीलाई काम गर्ने वातावरण नभएपछि प्लान्ट सार्नका लागि वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष दिनेश खत्रीले तारेभीर जाने सडक किनारामा जग्गा खोजिदिएका छन् ।

निर्माण व्यवसायीले एक महिनामा काम सकिने भएकाले थप व्ययभार बढ्ने भन्दै प्लान्ट सार्न नसकिने बताउँदै आएको छ । निर्माण व्यवसायीले प्लान्ट चलाएर कालोपत्रे गर्ने कच्चा पदार्थ अन्तै विक्री गरेकोसम्म आरोप लागेको छ ।

विकास विराेधी हैनाैं, बुझ्नेले भ्रम छरिदिए : अध्यक्ष कँडेल
शुरुमा विभिन्न अभियान्ताका नाममा प्लान्ट बन्द गराउन मंगलगढी नै पुगेपछि निर्माण व्यवसायीले काम रोक्यो । विषय नगरपालिकाहुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेपछि छलफलका क्रममा काम धेरै नभएको तर एक महिनामा सक्ने वचन निर्माण व्यवसायी खड्का केएस जेभी बाँकेका सञ्चालक टेकबहादुर खड्काले दिए । नगरपालिका यथास्थानबाटै काम गर्नु पर्ने अडानमा उभियो ।

वीरेन्द्रनगर उपत्यका भित्रका ४७ सडक ग्राभेलको सबै काम लगभग सकिएकाले प्लान्ट सार्दा झन ढिलाइ हुने भएकाले कार्तिक महिना भित्रै सडक कालोपत्रे सक्नु पर्ने भनाई नगरपालिकाको छ ।

नागारिकको स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै प्लान्टमै गएर आवाज उठाएका सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले आफू विकास विरोधी नभएको बताउँछन् ।

‘बजारको परिस्थिति फरक थियो, छोटो समयका लागि प्लान्ट राख्ने र काम सक्ने वित्तिकै हटाइहाल्ने भन्ने सहमतिमै प्लान्ट राखेर काम गर्न दिइएको हो,’ कँडेल भन्छन्, ‘ठेक्का थपिदै जाने होलान सदैव त्यहीँ प्लान्ट राखेर थप सडक कालोपत्रे गर्दा समस्या भयो भनेर आवाज उठाएको हो । अहिले विकास विरोधी भयो भनेर बुझ्नेले भ्रम छरिदिँदा बुझाइ नै गलत हुन गयाे ।’

संघले बरु कति सडक हुन कालोपत्रे गर्नुपर्ने, कति सयममा सकिन्छ र कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सहजिकरण गर्नमा सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष कँडेलको छ । उनले निर्माण व्यवसायीसँग कुरा गरिसकिएकाले नागरिकहरुको भीडभाड हुने समयमा भन्दा विहान उज्यालो नहुँदै वा साँझमा १० बजेसम्म काम गरेमा कसैलाई असर नपुग्ने बताए ।

एक महिनामै काम सकेर प्लान्ट बाँके लैजान्छु : निर्माण व्यवसायी
खड्का केएस जेभी बाँकेका सञ्चालक खड्काले वीरेन्द्रनगरमा आफ्नो काम धेरै नभएको बताए । ‘४७ सडकमध्य केही सडक कालोपत्रे गरिसकिएको छ, बाँकी अधिकाँश सडक कालोपत्रेका लागि तयारी अवस्थामा राखिएका छन्,’ खड्काले भने, ‘मंगलगढी प्लान्ट राखिएको स्थानबाटै काम गर्न दिएमा कार्तिक भित्रै काम सकेर प्लान्ट बाँके लैजान्छु ।’

प्रदेश सरकारले ठेक्का आह्वान गरेको मुख्य बजार क्षेत्रको काम भइरहेको बेला थप वीरेन्द्रनगर भित्रका सडकको काम पाएपछि त्यहीँ प्लान्टबाट सक्दा सहज हुने भएकाले प्लान्ट सार्न नसकिएको सञ्चालक खड्का बताउँछन् ।

। ‘ प्लान्टबाट सामान ल्याएर बाँकेमा काम पनि त गरेको छैन, आखिर वीरेन्द्रनगरबासी हिड्ने सडक कालोपत्रे गरिरहेको छु,’ खड्काले भने, ‘शुरुमै प्लान्ट मुख्य चोकमा राख्न दिनहुन्थेन्, बढीमा २० दिनको काम छ । त्यत्तिको लागि १० लाख खर्च गरेर प्लान्ट कसरी अन्त सारौं ।’

उनले नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर नपार्ने गरि विहान र साँझ प्लान्ट चलाएर काम गर्ने वातावरण मिलाइदिन आग्रह गरे । यता वीरेन्द्रनगर नगरपालिकाले समेत अहिलेकै स्थानबाट काम गराउनेगरी सहजिकरण गरिरहेकाे छ ।

चिसाे समय शुरू हुन लागेकाे र जसरी पनि कार्तिकसम्ममा काम सकाउने तयारीमा नगरपालिका रहेकाे नगर प्रमुख माेहनमाया ढकालले बताइन् । ‘बरू नागरिकहरूकाे स्वास्थ्यमा प्रतिकुल नहुनेगरी तयारीमा लागेकाे छु,’ ढकालले भनिन्, ‘केही दिनमा समस्याकाे समाधान निकालेर निर्माण व्यवसायीलाइ काम गर्ने वातावरणका लागि नगरपालिका प्रतिवद्ध छ ।’

संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले उपत्यकामा झण्डै १४ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का आह्वान गरेको हो । यी सडकको दुरी विभिन्न प्याकेजमा चार सय मिटरदेखि एक किलोमिटर पाँच सय मिटरका छन् । सबै सडकको कुल लागत ३० करोड छ ।

तपाईको प्रतिक्रिया