सुर्खेत । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । स्वभावैले १० जिल्लाको तुलनामा प्रशासनिक, राजनीतिक, आर्थिक, सांस्कृति रुपमा वीरेन्द्रनगर अगाडी छ । सहजताका लागि मात्रै हैन छोराछोरीका लागि उच्च शिक्षा तथा रोजगारीको गन्तव्य डो¥याउने शहरको रुपमा परिचित छ वीरेन्द्रनगर । सेवा सुविधा र बसाइँका लागि उपयुक्त ठानिएको वीरेन्द्रनगर तिव्र गतिमा शहरीकरणमा रुपान्तरण भइरहेको छ ।

नागरिकहरुको चाप बढेपछि वीरेन्द्रनगरबाट प्रदान गरिने सेवाहरुदेखि सुरक्षित र व्यवस्थित शहर निर्माण गर्नमा चुनौती छ । संघ, प्रदेश र वीरेन्द्रनगर नगरपालिकालाई आकर्षक शहरको रुपमा विकास गर्ने जिम्मेवारी पनि उत्तिकै बढेको छ । तीन तहकै सरकारहरुले वीरेन्द्रनगरको विकास लागि समन्वयात्मक रुपमा कम गरिरहेका छन् ।
भइरहेका कामहरुमध्य एक हो वीरेन्द्रनगर बजार क्षेत्रका सडकलाई चौडा र व्यवस्थित बनाउने । वीरेन्द्रनगर बजार क्षेत्रको सडक झण्डै दुई दशक अघि निर्माण गरिएको हो । विभिन्न समयमा खाल्डा पुर्दै काम चलाउ अवस्थामा चलिरहेको सडकको अवस्था फेर्नु उत्तिकै चुनौती थियो ।

तर सिङ्गाे प्रदेश सरकार, सांसद, व्यवसायी, नागरिक लगायतकाे २४ सैं घण्टा सबैको निगरानीमा रहने बजार क्षेत्रको काम कुनै विवाद र आलोचनाविनै सम्पन्न हुनै लाग्दा निर्माण व्यवसायी बारे चासो र चर्चा गर्न थालिएको छ । कतिपयले उनले गरेकाे कामसरी गर्दिएकाे भए विकास निर्माणले ठूलै फड्काे मार्थ्याे तर वर्षाैसम्म ठेक्का लिएर काम अलपत्र पार्नेले अब त पाठ सिकुन भन्दै चिया चर्चा गरिरहेका छन् ।
‘अन्य निर्माण व्यवसायीको तुलनामा उहाँको काम गराउने तरिका भिन्न थियो । कामप्रति आलोचना गर्ने ठाउँ नै छैन,’ व्यवसायी रामबहादुर शाही भन्छन्, ‘व्यस्त बजारमा आफ्नै रफ्तारमा काम गराउने शैली र जत्ति काम गर्ने त्यति मात्रै खन्ने अनि काम सम्पन्न गर्ने उहाँको शैली चर्चा गर्न लायक छ।’
साँघुरो सडक र सडकमै पार्किङ गर्दा अस्तव्यस्त बनेपछि सडक चौडासहित स्तरोन्नतिका लागि प्रदेशको पूर्वाधार विकास निर्देशनालयले करिव १४ करोड लागतमा सडक निर्माण गर्न ठेक्का आह्वान गरेको थियो । समयमै सडक क्षेत्राधिकार भित्र पर्ने स्थायी र अस्थायी भौतिक संरचना नहटाउँदा एकवर्ष काम लम्बिएको हो । सडक किनारामा रहेका विद्युत र नेपाल टेलिकमका पोल, खानेपानी संरचना समयमै नहटाउँदा निर्माण व्यवसायले सम्झौता भएको मितिदेखि काम गर्न सकेको थिएन् ।
तर नगरपालिकाले सडकका दुवैतर्फका अवैध संरचनाहरु हटाएपछि चालु आर्थिक वर्षको दशैंतिहार लगत्तैबाट खड्का निर्माण सेवा बाँकेका निर्माण व्यवसायी टेकबहादुर खड्काले सडक निर्माण शुरु गरेका हुन् । मंगलगढी–गणेशचोक, वीरेन्द्रचोक–भानुचोक, हुलाकचोक–पिपलचौतारा, वीरेन्द्रचोक–खोर्के पुलसम्मको सडक निर्माण गर्ने जिम्मा उनले पाएका थिए ।

योमध्य मंगलगढी–गणेशचोकमध्य काठको पुलसम्म मात्रै सडक कालोपत्रे गर्न लागिएको छ । गणेशचोक क्षेत्रका सडक विस्तारकाे क्रममा व्यक्तिगत घरहरु पर्ने र भत्काउन नमानेपछि काठको पुलसम्म मात्रै सडक कालोपत्रे गरिँदैछ । गणेशचोक क्षेत्रमा पिच नहुँदा त्यहाँको सट्टा भगवती टोलमा डाइभर्ट गरिएको छ ।
चार खण्ड रहेको सडकको कुल लम्बाई एक किलोमिटर सात सय मिटर रहेको छ । बजार क्षेत्रको सडक कम्तिमा दुई लेनको बनाउन लागिएको सडकको चौडाई १५ मिटर रहेको छ । नाली बाहिर ब्लकसहितको फुटपाथ रहनेछ । आगामी असार १५ गतेसम्म काम सक्नेगरी निर्माण व्यवसायी लागेको पूर्वाधार विकास निर्देशनालयका निर्देशक रामशरण आचार्य बताउँछन् ।


‘निर्देशनालयले हालसम्म निर्माण गरिरहेको काममध्य वीरेन्द्रनगर बजार क्षेत्रको निर्माणलाई राम्रो ठानेका छौं,’ निर्देशक आचार्य भन्छन्, ‘सबैको नजर पर्ने बजार क्षेत्रमा कुनै आलोचनारहित उहाँले काम गर्नुभयो । त्यसमा कार्यालयले गर्व गरेको छ ।’ प्राविधिक रुपमा बरु सरकारी निकायकै भूमिका कमजोर बन्यो तर निर्माण व्यवसायीबाट कुनै त्रुटी नभएको आचार्यको भनाई छ।
को हुन निर्माण व्यवसायी खड्का ?
२०३१ सालमा सुर्खेतको साविक रानिवास गाविसको रकुलमा जन्मिएका हुन् टेकबहादुर खड्का । तीन वर्षसम्म रकुलमै विताएका उनी त्यसपछि बाँके झरेका हुन् । बाँकेमै बाल्यकाल विताएका उनले स्नातकसम्म अध्ययन गरेका छन् । २०५८ सालमा खड्का निर्माण सेवा दर्ता गरेर निर्माणको काम आरम्भ गरेका हुन् । खड्काले सन् १९९८ मा विश्व बैंकको लगानीमा हेल्थपोष्टका भवनहरु निर्माण गरेका थिए ।

त्यसयता उनले दजनौं भवन र सडकहरु निर्माण गरिसकेका छन् । पछिल्लो पटक उनले निर्धारित समयमै सम्पन्न गरेका कामहरुमा कोहलपुर बसपार्क, जमुनाह–राँझा चोकसम्म फोरलेन सडकको ओभरल्याप हुन् । ओभरल्याप कामको अवधि एक वर्षको थियो तर उनले ६ महिना अगावै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेका छन् ।
बाँकेमै बाइपास फोरलेन सडकको समेत काम सम्पन्न गरिसकेका छन् । ‘जहाँ–जहाँ निर्माणको काम जिम्मा लिए त्यहाँ विवादरहित काम गर्नुपर्छ भन्ने मान्यता राख्थे,’ खड्का निर्माण सेवाका सञ्चालक खड्काले भने, ‘जथाभावी खनेर सबैलाई अप्ठेरो पार्नुभन्दा एक दिनमा जति सक्ने हो त्यति योजना बनाएर काम गर्दा वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको काममा साहेद आलोचना नभएको होला ।’
कहिले सकिन्छ बजार क्षेत्रको काम ?
वीरेन्द्रनगर मुख्य बजार क्षेत्रको सडक निर्माणको काम अन्तिम चरणमा छ । अबको चार पाँच दिनमा कालोपत्रेको काम सक्ने लक्ष्य निर्माण व्यवसायी खड्काको छ । कालोपत्रे सकिएपछि फुटपाथ व्यवस्थापनको काम असार पहिलो हप्तासम्म सक्नेगरी आवश्यक निर्माण सामग्रीको जोहो गरिसकेका छन् ।
‘स्थानीय नागरिक र व्यवसायीहरुको साथ पाएकै कारण निर्धारित समयभित्र काम सक्दैछु,’ नेपालकर्मसँग खड्काले भने, ‘व्यवसायीहरुलाई असर नगर्नेगरी काम गरेकाले पनि होला, सबैको सकरात्मक हौसलाले विरोध हुनै नदिएर काम सम्पन्न गर्नमा सफल बनेको भान भएको छ ।’
यीनै खड्काले वीरेन्द्रनगर क्षेत्र भित्रका करिव ४० सडक आगामी आर्थिक वर्ष २०८०-०८१ काे भदौसम्म निर्माण सक्ने गरी जिम्मा पाएका छन् । ति सडकहरूकाे कुल लागत ३० कराेड दुइ लाख छ भने करिव १६ किलाेमिटर थप सडक कालाेपत्रे गरिनेछ ।

सुशील खड्का । २८ जेष्ठ २०८०, आईतवार १७:५५