धरापमा वारपार, पुल अलपत्रहुँदा सुरक्षाकर्मीले बनाए साँघु

सुर्खेत । आइतबार छायाँनाथ दर्शन गरेर फर्किदै गर्दा आमा छोरी पुलबाट खसेको मुगुको गमगाढ खोलामा निर्माणाधिन पुल अलपत्र छ । बेलिव्रिज निर्माण गर्न लागिएको खोलामा निर्माण जिम्मा पाएको हिम सगरमाथा प्रालिले सन्तोषजन काम नगरेपछि स्थानीय खोलामाथि राखिएको साँघुकै भरमा जोखिको यात्रा गरिरहेका हुन् ।




गत आर्थिक वर्ष छायाँनाथ रारा नगरपालिकाले १० लाख रुपैयाँ खर्च गरेर गमगाड खोलामाथि दुई ठाउँमा काठको साँघु हालेको थियो । शनिवार राति आएको बाढीले आसपासको जमिन कमजोर बनाएकाले साँघु हल्लिँदा तीर्थयात्री खसेका थिए ।

मुगुम कार्मारोङका सबै वडा र छायानाथ नगरपालिकाका १०, ११, १२ वडाका बासिन्दाले सदरमुकाम गमगढी आउजाउ गर्ने मुख्य बाटो त्यही हो । गमगढी–नाग्चेनाग्ला सडकअन्तर्गत पर्ने उक्त बाटोबाट हिउँदमा यातायातका साधन सञ्चालन हुन्छन् तर बर्खाका ४ महिना भने साँघुकै भर पर्नुपर्ने बाध्यता छ । गमगाड खोलामाथि सोही स्थानमा रहेको झोलुंगे पुल २०७९ असोजमा आएको बाढीले बगाएपछि स्थानीयले सास्ती खेप्नुपरेको हो ।

मंगलबार साँघुको निरीक्षण गरी आवतजावत सहज बनाउन पुलमा फल्याक फेरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जना परिचालन गरी पुलमा फल्याक फेरिएको थापा बताउँछन् ।

‘तत्कालका लागि फल्याक लगाएर नागरिकलाई वारपारमा सहजा होस भनेर राखेका हौं,’ थापाले भने, ‘तर ठूलो बाढी आएमा त्योपनि बगाइ हाल्छ । यसको विकल्प भनेकै पक्की पुल छिटो निर्माण गर्नु हो ।’

अहिले गमगढीदेखि मुगुम कार्मारोङको छाइल बजारसम्म १८ किलोमिटरमा सडक पुगेको छ । छायलबाट आउने सवारी गमगाढ खाेला पारी र गमगढीबाट जाने सवारी वारी राेकिने गरेका छन् । पुल नबन्दा गमगढीमा अध्ययन गर्ने विद्यार्थी, दैनिक उपभोग्य सामान किनमेल गर्नेहरू र जिल्ला अस्पतालमा उपचारका लागि धाउने बिरामीले सास्ती भोग्नु परेकाे छ ।

तपाईको प्रतिक्रिया