उर्लिएकाे खाेलामा खस्दा पनि भाग्यले बाँचेका आमा–छोरी

सुर्खेत । एक महिला र बालिका खोला तर्न राखिएको लाप्कोबाट खसेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो घटना मुगुको हो । कर्णालीकै प्रमुख शक्तिपिठ छायाँनाथ पुगेर फर्किदै गर्दा आमा र छोरी खोलामा खसेका हुन् । छायाँनाथमा जनैपूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ ।



त्यहीँ मेलामा पुगेर फर्किदै गर्दा छायाँनाथ रारा नगरपालिकाका नन्दलक्ष्मी मल्ल शाही र उनकी छोरी सपना मल्ल खोला तर्न राखिएको लाप्काबाट खसेका हुन् । आइतबार छायाँनाथको दर्शन सकेर अन्य तिर्थालुहरुसँगै घरफर्कीदै गर्दा गमगाढ खोलाको अल्का साँघुबाट उनीहरु खसेका थिए । तर संयोगबस नगर प्रहरी घटनास्थलमै रहेकाले उनीहरु बग्ने वित्तिकै केही तलबाट उद्दार गरिएको थियो ।

३५ वर्षीय नन्दलक्ष्मी र उनकी १३ वर्षीय छोरी सपनालाई तत्काल रेस्क्यू गर्दा ज्यान जोगाउन सफल भएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नेपालकर्मलाई जानकारी दिए । ‘तिर्थालुहरु छायाँनाथ जाने बेला त्यहीँ खोलामा हामीले अस्थायी प्रकृतिको जाली सहितको कल्र्भट बनाएका थियौं,’ भामले भने, ‘शनिवार राती आएको बाढीले सबै बगाइदिएको हो । तिर्थालुहरुको सहजताका लागि काठको लाप्का राखेको थियो । तर्ने क्रममा आमा छोरी खस्नु भएछ, धन्न नगरको प्रहरी त्यहीँ भएकाले ज्यान जोगाउन सक्यौं ।’

प्रहरीले दुवै जनाको उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो । समयमै उद्दार गरेर अस्पताल पठाएकाले खासै चोट नभएकाले सोमबार आफ्नो घर फर्कीएको नगर प्रमुख भामले बताए । यो सिजनमा मात्रै छायाँनाथ दर्शन गर्न दुई हजार बढी तिर्थालु पुगेका छन् ।

खोला तर्दा जोखिम नहोस् भनेर पालिकाले १५ जना नगर प्रहरी खटाएकाले मानविय क्षती हुनबाट जोगाएको छ । आमा छोरी खसेको खोला नै बहुुप्रतिक्षित गमगढीदेखि चीनको तिब्बती सीमा नाक्चेनाङ्गला जोड्ने सडक हो ।

८५ किलोमिटर दुरी रहेको गमगाढ खोलाले वर्षेनी दुःख दिन थालेपछि बेलिव्रिज बन्दैछ । आठ करोड लगानी रहेको बेलिव्रिजको ४० प्रतिशत काम सकिएको छ । खोलाको वारीपारी पिल्लर खडा गरिसकिएकाले आगामी मंसिरबाट काम शुरु गरिने नगर प्रमुख भामले बताए । गमगाड खोलाले निकै सास्ती दिने गरेको बताउँदै भामले भने, ‘झोलङ्गे पुल, अस्थायी कलभर्ट बनाउँदा पनि वर्खामा बाढीले बगाइदिने गरेको छ । अब पुल बनेमा सहज हुनेछ ।’

यहीँ खोलामा जोखिम मोलेर सदमुकाम गमगढी आउन छायल, माग्री, किम्री, डोल्फु, मुगु, पुलु, डोल्फु लगायतका नागरिकहरु आवतजावत गरिरहेका छन् । तत्कालका लागि गमगाढ खोलाको यात्रा सहज बनाउन पालिका, प्रहरी र स्थानीयको सहयोगमा थप तीन ओटा काठको लाप्का राख्न शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया