निजामति कर्मचारी संगठनले बनायो भेरीमा विश्रामस्थल

सुर्खेत । नेपाल निजामति कर्मचारी संगठन सुर्खेतले भेरी पुल नजिकै रहेको समौजीघाटमा विश्रामस्थल निर्माण गरेको छ । वीरेन्द्रनगर–११ मा पर्ने समौजी घाटमा सहिद मनोज, झपेन्द्र र सुरेन्द्रको सम्झनामा विश्रामस्थल निर्माण गरेको हो ।



यो पनि पढ्नुहोस् : निजामती कर्मचारी संगठनले भेरीमा क्रियापुत्री हलसहितको प्रतिक्षालय निर्माण गर्दै

गत वैशाखमा संगठनको ३४औँ स्थापना दिवसका अवसरमा शिलान्यास गरिएको विश्रामस्थलको आईतबार संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले उद्घाटन गरेका छन् । भेरी नदीको किनाराको पवित्रस्थलमा निर्माण गरिएको विश्रामस्थल बहुउपयोगी हुने विश्वास कोइरालाको छ ।

 

संगठनले सामाजिक कार्यका कामहरु गर्दै आएको जानकारी दिँदै उनले देशका विभिन्न ठाउँहरुमा सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको स्मृतिमा विभिन्न कामहरु गरिरहेको बताए । क्रियापुत्री हलसहितको प्रतिक्षालय निर्माणले प्रदेश राजधानीमा बस्दै आएका र घर नभएका व्यक्तिका परिवारलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रशान्ति धार्मिक वन क्षेत्रमा पर्ने सझौजीघाटमा संगठनले करिव आठ लाखको लागतमा विश्रामस्थल निर्माण गरेको संगठनका सुर्खेत अध्यक्ष हेमन्त चुनाराले जानकारी दिए । विश्रामस्थल निर्माणमा संगठनमा आवद्ध कर्मचारीहरुबाट रकमसमेत संकलन गरिएको थियो । निर्माण गरिएको विश्रामस्थल धार्मिक वन एवम् प्रशान्ति विद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा पेशागत महासंघ कर्णाली ईन्जार्च शिवप्रसाद सापकोटा, केन्द्रीय सल्लाहकार मोहन गिरी, संगठनका कर्णाली इन्चार्ज तुलाराम गिरी, केन्द्रीय सदस्य शंकर भट्टराई, सुरेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष खिमलाल देवकोटा लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया