सुर्खेत । प्रकृतिको सौन्दर्य हेर्न हरेक वर्ष मुगुको रारा तालसम्म हजारौँ पुग्छन्। तर उनीहरुको उही गुनासो हुन्छ– ‘आरामसँग बस्ने सुविधा छैन।’ नेपालको विकट भूगोलमा पर्ने कर्णालीमा सडक पूर्वाधारकै अवस्था सहज छैन। यस्तोमा रारामा पर्यटकीय पूर्वाधारको अभाव खट्किने नै भयो।

सुविधायुक्त होटल छैनन्। नजिकै ससाना होटल र होमस्टे त छन्। तिनले त्यहाँ जानेलाई धान्न सक्ने अवस्था छैन। समूहमा पुग्नेहरु यसले समस्या परेको बताउँछन्। रारा होल्डिङ्सका अभिषेक विक्रम शाह पनि यसलाई स्वीकार्छन्।
‘अहिले रारा पुग्ने पर्यटकले राम्रो रिसोर्टमा बस्ने सुविधा पाएका छैनन्’, शाह भन्छन्, ‘काठमाडौंका डाँडाकाँडामा राम्रा होटलमा बस्ने धेरै छन्। रारामा एउटा मात्रै सुविधासम्पन्न रिसोर्ट भइदिए पनि राम्रोसँग चल्छ।’

रारा राष्ट्रिय निकुञ्जमा गत वर्ष (२०२३ भरमा) २७४ विदेशी पर्यटक मात्रै पुगेको तथ्यांक छ। तर आन्तरिक पर्यटकको संख्या भने बढ्दो छ। गत साउनयता चैतसम्म नै यो संख्या साढे ८ हजार नाघेको छ।
रारामा चैतदेखि असारसम्म धेरै पर्यटक घुम्न जाने गरेका छन्। रारा वरपरका गाउँमा स्थानीयले घोडाबाट घुमाउने गरेका छन्। ‘अहिले रारा घुम्न जान्छु भन्ने धेरै छन् तर यातायात र बस्ने सुविधा नभएर पुगेका छैनन्’, शाह भन्छन्, ‘केही वर्षमा लाखौँ पर्यटक पुग्ने अवस्था हुनसक्छ।’
रारा होल्डिंग्सले रारामा सुविधासम्पन्न रिसोर्ट बनाउँदै छ। रारा रिसोर्टको काम जेठ महिनाभित्रै सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए। उनका अनुसार रिसोर्टको डिजाइन पास भइसकेको छ। हाल नक्सापासको चरणमा छ।
रारा पुग्न अहिले हवाइ यात्रा नै सबैभन्दा सहज छ। काठमाडौंबाट नेपालगन्ज पुगेर त्यहाँबाट मुगुको ताल्चा विमानस्थलमा पुग्न सकिन्छ। विमानस्थलबाट स्थानीय गाडी वा पैदलै पनि करिब ३ घण्टामा पुग्न सकिन्छ।
यहाँ पुग्ने दोस्रो रुट पनि छ। काठमाडौंबाट सिधा उडानबाट सुर्खेत वा सार्वजनिक यातायातको प्रयोग गरेर पनि जान सकिन्छ। सडक यात्रा करिब ६०५ किलोमिटर छ।यसको लागि सुर्खेतबाट कालिकोट जानुपर्छ। १५० किमि दूरी करिब ८ घण्टामा पार हुन्छ। कालिकोटबाट करिब ५० किमिको दूरीमा रारा ताल छ।
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य पर्ने रारामा सम्भावना देखेर नै अहिले अस्ट्रेलियाका गैरआवासीय नेपालीले लगानी भित्र्याएका छन्। पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने सम्झौता गरिसकेको छ। ८० रोपनी क्षेत्रफलमा बन्ने रिसोर्ट पहिलो चरणमा ४० रोपनीमा तयार हुनेछ। होटल पूर्वाधार निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकन अन्तिम चरणमा छ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्। यसअनुसार मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा लक्जरी रिसोर्ट बन्नेछ। पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ।
आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुनेछ। अस्ट्रेलिया र नेपालमा एक्सपर्ट ग्रुपको शिक्षा र जलविद्युत् क्षेत्रमा लगानी छ। रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने रारा होल्डिङ्स प्रालिका शाहले बताए।
समुद्री सतहदेखि ३७ सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको मनमोहक दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ।
उनले भने, ‘यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो। परियोजना निर्माण सुरु गर्न सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्। यस सम्झौतासँगै हामी चाँडै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौँ र आगामी १८ महिनाभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य लिएका छौँ।’
अहिले रारा पुग्ने सडक पूर्वाधार तयार भइसकेका छैनन्। लगानीको सम्झौतासँगै प्रधानमन्त्री पुष्पकमल दाहालसँग शाहले भेट गरेका थिए। प्रधानमन्त्रीले छिट्टै रारामा सडक पूर्वाधार र विद्युतको पहुँच पुर्याउने आश्वासन दिएको उनले बताए।
‘धेरै पर्यटक पुर्याउन सडक नै चाहिन्छ। प्रधानमन्त्रीले छिट्टै सडक पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने, ‘हाम्रा संरचना निर्माण भइसक्दा सडक पूर्वाधार पनि तयार हुनेमा विश्वस्त छौँ।’
रारा राष्ट्रिय निकुञ्जमा रहेको ताल करिब ३ हजार मिटरको उचाइमा छ। सन् १९७६ मा निकुञ्ज स्थापना गरिएको थियो। निकुञ्जभित्र रहेको ताल १६७ मिटर गहिरो, ५.१ किमि लम्बाइ र २.७ किमि चौडाइको छ।

नेपाल कर्म । २५ बैशाख २०८१, मंगलवार ०९:४८