सुर्खेत । नेकपा माओवादी केन्द्रबाट कर्णाली सरकारमा सहभागी चार मन्त्रीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । मन्त्रीको सपथ लिएसँगै माआवादीका मन्त्रीहरु केन्द्रीय तहका नेताहरुलाई भेट्न संघीय राजधानी काठमाडाैं पुगेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री दुर्गबहादुर रावत र जलस्रोत तथा उर्जा विकास मन्त्री रनसिंह परियारले प्रधानमन्त्री प्रचण्ड, उप-महासचिव एवम् प्रतिनिधि सभा सांसद जनार्दन शर्मा र सांसद महेन्द्रबहादुर शाही लगायतका नेताहरुसँग भेटघाट गरेका छन् ।

मन्त्रीहरुसँगै निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा पनि सहभागि थिए । मुख्यगरी केन्द्रबाटै बाेलावट भएकाले बधाइ लिन काठमाडाैं गएकाे उर्जा मन्त्री रनसिंह परियारले जानकारी दिए ।
अन्य मुख्य कुनै उदेश्य हैन मन्त्रीमा नियुक्त भएपछि चारै जना मन्त्रीहरु काठमाडौं पुगेको परियारले बताए । भेटघाटमा प्रधानमन्त्री प्रचण्ड र अन्य नेताहरुले कर्णाली सरकार सञ्चालनका विषयमा छलफल भएको परियारकाे भनाइ छ ।
‘अध्यक्षज्यू र नेताहरुसँग खास गरी सरकार सञ्चालनका विषयमा छलफल भयो,’ मन्त्री परियारले भने, ‘छलफलमा कर्णालीलाई कसरी राम्रो बनाउने भन्नेतर्फ ध्यान केन्द्रित गर्न उहाँहरुले सुझाव दिनुभयो ।’

काठमाडाैं जानुकाे अरू कुनै उदेश्य नभएकाे र विशुद्ध भेटघाट तथा नयाँ बनेकाे गठबन्धनकाे सरकारकाे काम कारवाही प्रभावकारी बनाउन छलफलका लागि आएकाे परियार बताउँछन् ।
‘आर्थिक वर्ष २०८१-०८२ काे नीति तथा कार्यक्रम र बजेट पनि ल्याउने समय भएकाले केन्द्र सरकारलाइ कर्णालीकाे विकास लागि प्राथमिकतामा राख्न दवाव दिनका लागि काठमाडाैं पुगेका हाैं,’ परियारले थपे, ‘कर्णालीप्रति केन्द्रीय नेतृत्वले हेर्ने दृष्टिकाेण बदल्नु दवाव दिएकाे र सरकारमा सहभागीपछि जनतालाइ कसरी डेलिभरी दिने भन्ने विषयमा केही निर्देशन लियाैं भने सुझाव पनि दिएका छाैं ।’
काठमाडाैं पुगेका मन्त्रीहरूमध्य सामाजिक विकास मन्त्री शाही आइतबार सुर्खेत फर्किसकेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री नेपालगञ्जहुँदै सुर्खेत आउन लागेकाे मन्त्रीका स्वकीय तुल देवकाेटाले जानकारी दिए ।
जलस्रोत तथा उर्जा विकास मन्त्री परियार साेमबार सुर्खेत फर्किदै छन् । उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री रावत भने कहिले फर्किने भन्ने जानकारी सचिवालयलाइ गराएका छैनन् ।

नेपाल कर्म । २३ बैशाख २०८१, आईतवार १६:१०