सुर्खेत बसपार्कमा हत्या गरेर फरार टाईगर १५ वर्षपछि पक्राउ

सुर्खेत । १५ वर्षअघि सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्कमा कालिकोटका युवक रजबहादुर मल्लको हत्या गरेर फरार रहेका टाईगर भनिने ‘पदमबहादुर रावत’ पक्राउ परेका छन् । मल्लको हत्या गरेर भारतमा लुकेर बसेका टाईगरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको हो ।




तर सुर्खेत प्रहरीले टाइगर सुर्खेततर्फ आउँदै गर्दा छिन्चुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र विर विश्वकर्मा बताउँछन् । ‘यो धेरै वर्ष पहिलेको मुद्दा रहेछ, प्रहरीले विशेष निगरानीमा राखेर अनुसन्धान जारी राखेको थियो । अन्तत पक्राउ गर्न सफल भयौं,’ प्रवक्ता विश्वकर्माले भने, ‘भारतमै लुकेर बसेका रहेछन्, नेपाल फर्किरहेको सूचनाको आधारमा पक्राउ गरेका हौं ।’

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर भएको विवादमा जन माविमा अध्ययनरत कालिकोटका १८ वर्षीय मल्ल ६५ फागनु १६ गते बसपार्कमा हत्या भएको थियो ।

उनलाई तत्कालीन माओवादीको जनमुक्ति सेनाको छैठौं डिभिजनमा कार्यरत लडाकु र माओवादी निकटको अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले हत्या गरेको किटानी जाहेरी बुवा नन्दबहादुर मल्लले प्रहरीमा दिएका थिए ।

८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेका राजबहादुरमाथि आक्रमण भएको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको बुद्धपथको देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो ।

हत्या गरिएको झण्डै १५ वर्षपछि बैशाख ९ गते पक्राउ परेका टाइगरलाई मुद्दाको सम्पर्ण अनुसन्धान पश्चात प्रहरीले सुर्खेत जिल्ला अदालतमा पेश गरेको थियो । यहीँ बैशाख २१ गते शुक्रबार अदालतको फैसलाले टाइगरलाई पूर्पक्षका लागि कारागार सुर्खेत चलान गरेको छ ।

हत्या गरिएका मल्ल कालिकोटकाे साविक पाखा गा.वि.स. वडा नं. ४ का हुन भने हत्या गर्ने टाइगर पनि साेही ठाउँकै हाल महावै गाँउपालिका वडा नम्बर ४ का हुन् ।

तपाईको प्रतिक्रिया